सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा स्कुल चलाउन जब देउवाले गोरु बेचे...

२०७८ असार २९, १२:०१ खबर संवाददाता

धनगढी : सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेसंगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवाको पक्षमा फैसला सुनाएसँगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

देउवाको पाँचौ इनिङ सुरुवात हुन थालेपछि उनको जन्मथलो डडेल्धुराको आशिग्रामस्थित मटेला, रुवाखोलामा खुसीयाली छ। डडेल्धुरावासीले देउवालाई अहिलेसम्म चुनावमा अपराजित बनाउका छन्। देउवासंगै काम गरेका काँग्रेस नेता–कार्यकर्ताका अनुसार देउवाले बालापनमा गरेका गतिविधिको अहिले पनि रुवाखोलामा चर्चा हुन्छ। 

उनले आशिग्राम प्राविबाट प्राथमिक शिक्षा लिएका थिए। हाइस्कुलबाट गाउँ आउनेक्रममा एकदिन ‘स्कुल कसरी चलाउने ?’ भन्ने छलफल हुँदै गरेको सुनेछन् देउवाले। त्यो स्कुल चलाउन आर्थिक स्रोत नभएकाले गाह्रो भएको छलफल भइरहेको उनको कानमा परेछ । चन्दा संकलन गर्नुपर्ने छलफल निष्कर्ष सुनेपछि उनको दिमागमा एउटा उपाय आएछ, गोरु बेच्ने।

‘एक दिन गोठालो गएको वेला आफ्नो गोरु बेच्नुभएछ। र, गोरु बेचेको पैसा विद्यालयलाई दिनुभएछ। साँझ गोरु घर नआएपछि खोजी हुन थालेछ। त्यतिवेला हरायो भन्ने सोचेछन। पछि उहाँको बुवाले थाहा पाउनुभएछ। छोराले राम्रै काम गरेको सोचेर केही गर्नुभएनछ। यो पछिसम्म पनि गाउँमा चर्चा हुन्थ्यो,’ ०७५ पुसमा प्रकशित काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको लेखमा उल्लेख छ। 

को हुन् देउवा ?
देउवा वि.स. २००३ जेठ महिनामा डडेल्धुरा जिल्लाको तत्कालिन असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन्। उनले प्राथमिक शिक्षा असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट गरे।

एलएसली दिएपछि देउवाले ०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए। यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। ०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए। ०४६ सालमा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ ग¥यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए। ०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किए। 

०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने। गिरिजाप्रसाद कोइरालाले २०५८ असार प्रधानमन्त्रीबाट राजिनामा दिए। यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बने। सुशील कोइरालालाई हराएर नेता बने। संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री भए।

देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम“को आरोप लगाई विघटन गरेका थिए। देउवा दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त भए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए।

वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए। 

२०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराए। संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उनी सफल पनि भए। तर निर्वाचनमा लज्जास्पद रुपमा कांग्रेस हा¥यो।

१७५ सिटको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जित्यो। तर देउवाले भने अत्यधिक मतसहित डडेल्धुराबाट छैटौँ पटक चुनाव जिते। उनी २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका सबै चुनावमा विजयी भएक छन्। पटक–पटक १० वर्ष १० महिना जेलजीवन बिताएका देउवा ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलालीबाट विजयी भएका थिए।

कमेन्ट लोड गर्नुस