सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नाकाबाट मुग्लान पस्नेको प्रश्न, ‘खै कहाँ छ सरकार ?’

२०७८ असार २८, ०३:०५ विन्दु चन्द

धनगढीः निधारमा रातो टिका। काखमा दुधे बालक। काँधमा घरबाट पोको पारेर ल्याइएका सामानका भारी। अनुहारबाट खलखल बगिरहेको पसिना। ठूलो जिम्मेवारी। भोको पेट। ऋणको चिन्ता। परिवारको इज्जतको चिन्ता। यहि दुश्य देखिन्छ, त्रिनगर सीमा नाकामा। 

हुलाकी सडकको डोकेबजारदेखि गौरीफन्टा सीमासम्म मुग्लान पस्ने सुदूरपश्चिमेलीहरुको दुई लाइन देख्दा मन झस्किन्छ। कुर्सीका लागि तँछाड–मछाड गरिरहने राजनीतिक दलहरु जस्तै परिवारको भोको पेट जोगाउन सीमामा पनि उस्तै हतार भइरहेको देखिन्छ। 

नाकामा दुधे बालकदेखि वृद्धहरु भोको पेट भर्ने आशामा लाइन लागेको देखिन्थ्यो। बढीजसो २२/२४ वर्षेे युवा भारत जान लामबद्ध भएका देखिन्छन्।

कोरोना महामारीमा उनीहरु घर फर्केको बताउँथे। धेरै जना त कोरोना कहरका बेला भारतमै धेरै दुःख पाएको बताउँदै थिए। ‘कोरोना महामारीमा भारतमै धेरै दुःख पायौँ। बाँचौँला भन्ने आशले घर फकियौँ तर भोकभन्दा ठूलो रोग नरहेछ’ उक्त लाइनमा भेटिएका बझाङका विरभान सार्कीले भने। 

नयाँ वर्षमा उनी घर फर्केका थिए। पहिलो लकडाउनमा पनि बाँच्नु न मर्नु भन्ने दोधारमा घर फर्किएको उनी बताउँछन्। त्यसपछि कोरोना महामारी अलि कम भएपछि घर खर्च चलाउन उनी भारत गएका थिए। तर दोस्रो भेरियन्ट आएपछि बाँच्ने आशले पुनः घर फर्किएको उनी बताउँछन्। 

बाजुराकी कमला सार्की पनि दुधेबालक बोकेर श्रीमानसँगै भारत जाने लाममा थिइन। ‘सानो तिनो जग्गा जमिन छ। तर के गर्नु खडेरी छ। बिउ किनेर लगाएपनि उम्रिदैन्’ उनले आफ्नो दुखेसो पोख्दै भनिन्, ‘मुटुमा गाँठो पारेर खेतमा झाडी उमे्रको हेनूपरिरहेको छ। लकडाउनमा घर फर्कियौँ, भएको सबै पैसा सकियो। के गर्नु भोकभन्दा ठूलो केही होइनरहेछ। अब फेरि भारत जादैछौं।’ 

बर्दीयाबाट ३ बालकसहित भारत जान हिँडेकी सविता तिमिल्सीना पनि लाइनमै थिइन। उनको समस्या पनि कमलाको जस्तै थियो। ‘गाउँ बस्न कसलाई राम्रो लाग्दैन। अर्काको देशमा काम गरेर हेपाई पाइन्छ’ उनले भनिन्, ‘मालिकले गाली पनि गर्छ। त्यतिबेला छोडेर आउने मन लाग्छ। तर यहाँ आएर पनि के खाने ? आखिर पेट त पाल्नैपर्यो। हामी त यसै गुज्रियौं बच्चाको भविष्यका लागि भएपनि मजदुरी गछौँ।’

 आफूहरुले स्थानीय तह तथा संघसस्थाले आयोजना गर्ने विभिन्न सीपमुलक तालिमबारे कुनै जानकारी नपाउने उनले गुनासो गरिन। ‘आफन्त र नातेदारका लागि नै हुन सबै कार्यक्रम आउने। नेताका कुरा गरे मलाई झनक्क रिस उठ्छ’ उनले आक्रोशित हुँदै भनिन्।  

सोही लाइनमा बैतडीको पुचौँडीका विरेन्द्र सार्की लागेका छन्। निधारमा लागेको रातो टिका पसिनाले बगाएर घाटीसम्मै राताम्मे भएको छ। घर खर्च चलाउन र ऋण तिर्नकै लागि भारत गइरहेको उनी बताउँछन्। ‘परिवार र गाउँको मायाले घर आइन्छ। तर यहाँको स्थिति देख्दा आउँनै मन लाग्दैन। बरु गाउँको मुखिया सहि हुन्थे यी जनप्रतिनिधिहरु भन्दा त’ उनले भने। 

‘३ तहको सरकार आयो भन्छन् खै कहाँ छ सरकार हामीले त देखेनौ। गाउँमा सिंहदरबार छ भन्छन् खै मैले त देखेन’ सार्कीले अगाडि भने, ‘बरु गाउँ–गाउँमा सिँह पसेर सबै भताभुंग भएको छ।’

उनले सरकारबाट कुनै आस नराखेको बताए। ‘स्थानीय तहको चुनावमा नेता त भाषण मात्रै गर्ने हुन्, अब गाउँकै जनप्रतिनिधि भए त केही विकास होला, हाम्रो पनि भविष्य होला भनेर खुबै आस गरिएको हो’ उनले भने, ‘नेता भनेका कस्ता हुँदा रहेछन् बल्ल थाहा भयो। गाउँ–गाउँमा स्याल छन्।’

विकास भन्दा पनि गाउँको विनास बढी भइरहेको उनको भनाई छ। तर प्रदेश सरकार वेपरवाह र निरीह भएको सार्कीले बताए।  ‘कम्पनी खोलिदियोस न हामी काम गर्छौ। यत्रो जनता यो नाकामा भौँतारिएका छौँ। आँखा होलान् नी सरकारका’ लाइनमै लागेका अर्का बाजुराका रमेश बोहराले भने। 

अहिले सीमाबाट फर्किनेको संख्या घटेको छ। नाकामा खटिएका प्रहरीका अनुसार अहिले भारतबाट एक डेढ सय जना मात्रै फर्किरहेका छन्। तर दैनिक हजारदेखि ३५ सय जना भारत गइरहेको प्रहरी स्रोतले जनाएको छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस