सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बलात्कार र हत्याका घटना बढ्दै, ८० प्रतिशत अपराधमा आफन्तकै संग्लनता

२०७८ असार २५, ०६:३३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएका छन्। प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार सरकारले निषेधाज्ञा जारी गरेको बैशाख १६ गतेदेखि जेठमसान्तसम्म प्रदेशमा ज्यानसम्बन्धी ६२ वटा मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी कैलालीमा २५ र कञ्चनपुरमा १० वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन्।

दार्चुला र बझाङमा ६÷६, डोटी र बैतडीमा ५÷५, बाजुरामा तीन तथा अछाम र डडेल्धुरामा एक÷एक ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ। निषेधाज्ञा अवधिभर प्रदेशमा विभिन्न अपराधका तीन सय १७ वटा मुद्दा दर्ता भएका छन्। गत वर्ष सरकारले जारी गरेको लकडाउनमा प्रदेशमा एक सय ७५ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका थिए।

२०७६ चैत ११ देखि असारमसान्तसम्म जारी भएको लकडाउनमा सबैभन्दा बढी ज्यानसम्बन्धीका घटना कैलाली र कञ्चनपुरमै भएका थिए। प्रदेश प्रहरीले दिएको जानकारी अनुसार कैलालीमा ६९ र कञ्चनपुरमा ४० वटा मुद्दा दर्ता भएका थिए। गत वर्षको लकडाउनको अवधिमा प्रदेशमा विभिन्न अपराधका सात सय ३६ मुद्दा दर्ता भएका थिए।

प्रदेशमा चालू आर्थिक वर्षको जेठमसान्तसम्म ज्यानसम्बन्धी ५ सय ७७ मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ज्यानसम्बन्धी ५ सय २५ मुद्दा दर्ता भएका थिए। प्रदेशमा विभिन्न अपराधका दुई हजार आठ सय ५६ मुद्दा दर्ता भएका छन भने आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार आठ सय ८० मुद्दा दर्ता भएका थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा अपराधका घटना बढिरहेको र ८० प्रतिशत अपराधका घटना आफन्तले आफन्तमाथि नै घटाइरहेका छन्। प्रदेशमा ६४ प्रतिशत महिला घरपरिवार, आफन्त, नातागोता, छिमेकी र साथीहरुबाट नै बलात्कृत भइरहेको प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुरुषोतम कँडेलले बताए।

प्रहरीका अनुसार हत्याका अधिकांस घटना पारिवारिक रिसिइवी, लेनदेन, मदिरा सेवन गरि बादविवाद, जग्गा विवाद लगायतका कारण रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस