सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पहिलोपल्ट रोयल्टी शब्द सुन्दा त्यसको अर्थ थाहा नपाएर अकमकिए’

२०७८ असार २४, ०५:०४ खबर संवाददाता

धनगढी: गायक तथा संगीतकार तिलक सिंह पेलासँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाईंको संगीत क्षेत्रमा प्रवेशलाई कसरी सम्झिनु हुन्छ ? 
हाम्रो मानस खण्डतिर संगीतको माहोल त्यति खासै हुँदैन। अहिले पनि छैन र त्यो बेला पनि त्यति थिएन भनौं। कहिलेकाहीं दशैं तिर रामलीलाहरु हुन्थे। मैले प्रत्यक्ष रूपमा संगीतको माहोल देखेको भनेको त्यही रामलीला नै हो। बैतडी, दार्चुला र महेन्द्रनगर तिर रामलीला लाग्थे। त्यसैबाट संगीतको माहोल देखेको र त्यसैबाट संगीत प्रति मेरो मोह जागेको हो। 

कहिलेकाहीँ स्कुलमा कार्यक्रम हुन्थे। जानी नजानी ती कार्यक्रममा गीतहरू गाइन्थ्यो। मेरो संगीतको यात्रा यसरी नै सुरुवात भएको हो बैतडीबाट।

त्यो बेला कस्ता गीतहरू बढी रुचाउनु हुन्थ्यो ? 
त्यतिबेला हामीहरू अल इन्डिया रेडियो, उर्दू सर्भिस बढी सुन्थ्यौ। रेडियो नेपाल खासै टिप्दैन थ्यो। कहिलेकाहीं रेडियो नेपाल पनि सुन्थ्यौ। अहिले जस्तो प्रविधि र धेरै रेडियोहरु थिएनन्। तैपनि दाइहरू बाहिर निस्किनु भाको मौकामा लुकी लुकी रेडियोहरु सुन्थ्यौ। त्यसमा मोहमद रवि, लता जी हरु लगायतका पुराना गीतहरू बढी सुनिन्थ्यो। 

सुदूरपश्चिममा देउडाको बढी माहोल थियो। देउडा गीतहरू गाउने भएपनि शास्त्रीय संगीतमा सुदूरपश्चिमका कलाकार थिएनन्। तपाईंले बिल्कुलै फरक बाटोमा जाने सोच कसरी बनाउनु भयो ? 
पहिलो कुरा त रामलीलका सबै गीतहरू शास्त्रीय संगीतमा आधारित हुन्छन्। त्यो कसरी भयो भने पुराना जवानाका साधकहरूको बारेमा हामीलाई थाहा छैन। नाम सुनेका पनि छैनौं। त्यो बेला अहिले जस्तो प्रविधि पनि थिएन। 

धेरै पहिले भारतका पण्डित बुलाकी राम भन्ने एक जना विद्वान हुनुहुन्थ्यो। बुलाकी राम शास्त्रीय संगीतमा भारतका धेरै ठूला विद्वान ओमकार नाथ ठाकुरका शिष्य हुनुहुन्थ्यो। उहाँ देहरादुन, कुमाउँ, गढवाल हुँदै हुँदै पिथौरागढ हुँदै हाम्रो गोकुलेश्वर, बैतडीको पिपलकोट, नगतडी यस्तै यस्तै ठाउँमा आइपुग्नुभयो। 

पण्डित बुलाकी रामबाट हाम्रो नेपाली धेरै अग्रजहरुले संगीत सिक्नुभयो। र, उहाँले त्यस क्षेत्रमा धेरै वर्ष रामलीला पनि लगाउनुभयो। उहाँ आफैमा ठूलो विद्वान हुनुहुन्थ्यो। गायक पनि हुनुहुन्थ्यो। सितारबाजक पनि हुनुहुन्थ्यो। तबला पनि त्यस्तै राम्रो बजाउनुहुन्थ्यो।

झण्डै एक सय वर्ष अगाडि उहाँले हाम्रा पुर्खाहरुलाई सिकाउनुभयो। त्यसपछि हुँदैहुँदै हामीले सिक्यौ। धेरै पछिको पिढीसम्म पनि प्रभाव छ। एउटा कुरा यो भयो।  दोश्रो कुरा चाहिँ मेरो आफ्नै दाजु किसन सिह पेला हुनुहुन्छ। वहाँमा नेपाली साहित्य, हिन्दी साहित्य, उर्दू साहित्य आदिमा निकै राम्रो दखल छ। गजल, गीत, मुक्तक लेख्नुहुन्छ। 

उहाँले मलाई  नेपाली, उर्दू र हिन्दी भाषाका गीत लेखेर दिनु भयो। तिमीले सधैं अरूको गीत गाएर हुँदैन। तिमी आफ्नो गीत गाउ भन्नु भयो। अनि मैले गाउन कोशिस गरे। गाएको केही मित्रहरू जस्तो प्रेम थापा जी भन्ने लगायतलाई सुनाए। प्रेम जी चाहिँ दाइको साथी। मेरो पनि दाइ। प्रेम दाईलाई सुनाए पछि उहाँले, ‘ओहो ! यो त धेरै राम्रो छ। अब यसको एल्बम निकाल्नु पर्छ’ भन्नु भयो। एल्बम पनि कसरी निकाल्नुपर्छ, एल्बम भनेको के हो भन्ने मलाई थाहा पनि थिएन। 

गीतहरू त्यसरी कम्पोज गरेर, त्यही शिलशिलामा बैतडीका स्कूलहरु र दार्चुलाका केही स्कूलहरूमा सुनाउन थाले। त्यो सबै व्यवस्थापन प्रेम दाई आफैले गर्नुहुन्थ्यो। स्कूलका प्रधानाध्यापकसँग सम्पर्क राखेर मेरो एकल साँझ जस्तो मान्छेहरूलाई जमघट गरेर कार्यक्रम गर्न थाल्यौ। त्यो धेरै मान्छेहरूले मन पराउनु भयो। अनि हामीलाई काठमाण्डौ जानुस् भन्ने सल्लाह अनुसार म यहाँ आए। त्यसरी गीत रेकर्ड भयो। 

सानै उमेरमा काठमाडौं गएर गीत रेकर्ड गर्नुभयो। २०५३ तिरै चर्चामा हुनुहुन्थ्यो। त्यसपछि २३ वर्ष गुमनाम भएर साधना गर्नुभयो। अहिले फेरि नयाँ एल्बम लिएर सार्वजनिक हुनुभएको छ। यो सबै कुराहरूलाई कसरी लिनुभएको छ ? 
यो शुभचिन्तकहरूको एउटा गुनासो पनि छ। मलाई लाग्छ उहाँहरुको मेरो सांगीतिक यात्राप्रतिको प्रेम हो। तर साधना एउटा पाटो हो। संगीतको भौतिक यात्रा अर्को पाटो हो। जस्तो त्यतिबेला मैले जानीनजानी गीतहरू गाए। श्रोताहरुले मन पराइदिनुभयो। प्रेम दाईले मलाई काठमाडौं गएर गीत रेकर्ड गर्न सुझाउनु भयो। त्यो एउटा पाटो भयो।

त्यो बेला पनि संगीतमा लागेर नाम कमाउनुपर्छ, प्रोफेसनल रूपमा अगाडि बढ्नुपर्छ भन्ने जस्तो उदेश्य केही थिएन। गीत रेकर्ड गर्दा कस्तो हुन्छ, रेडियोमा कसरी गाइन्छ, त्यो कसरी बज्छ भन्ने क्युरिसिटी चाहिँ थियो। त्यसपछि रेडियोमा बजेपछि ढुक्क भईयो। 

त्यति नै हो भन्ने लाग्यो। त्यसको मार्केटिङ्ग पनि हुन्छ, त्यसलाई कम्पनीबाट बजारमा ल्याइन्छ भन्ने कुरा केही पनि थाह थिएन। यहाँसम्म कि महेन्द्रनगरमा म्युजिक सेन्टर भएको मेरो एक जना दीपक दाई हुनुहुन्छ। म कामको शिलशिलामा महेन्द्रनगर गएको बेला दाइको म्युजिक सेन्टरमा पनि गए। त्यहाँ जाँदा मेरो गीतको ट्र्याक बजिराथ्यो। 

मेरो हातमा ओर्जिनल ट्र्याकको क्यासेट थियो। उहाँले ओर्जिनल तिमीले कसरी पायौं भनेर सोध्दा मैले यो गीत मेरै हो भने। अनि दीपक दाईले कम्पनीले कति रोयल्टी दियो तिमीलाई भनेर सोध्नुभयो। मैले त्यसअघि रोयल्टी भन्ने शब्द नै सुनेको थिएन। पहिलोपल्ट रोयल्टी शब्द सुन्दा त्यसको अर्थ थाहा नपाएर अकमकिए। 

दुई चोटी सोध्नुभयो। मलाई त्यसको बारेमा केही थाहा नहुनाले चुप लागेर बसिरहे। फेरि उहाँले कम्पनीले कति पैसा दियो तिमीलाई भनेर सोध्नु भयो। मैले ‘पैसा? के–को पैसा दाई ? यसमा पैसा पनि आउँछ र ?’ भनेर प्रतिप्रश्न गरे। 

उहाँले फेरि तिमीले केही सम्झौता गरेको थिएनौं र भनेर सोध्नुभयो। त्यस्तो अवस्थाबाट म अगाडि बढे। सांगीतिक क्षेत्रबाट यसरी भौतिक रूपमा केही पाइन्छ भन्ने थाहा नै थिएन। तर संगीतको यात्रा भनेको एक किसिमको भौतिक यात्रा पनि हो। किनकि त्यहाँ बजार हुन्छ, अडियन्स हुन्छन्, बजारमा आफूलाई टिकाउने लगायतका विभिन्न यात्रा हुन्छ। 

म आफू मानसखण्डको मान्छे। त्यो बेला यातायातको समस्या थियो। बाटो कच्ची थियो। बर्खामा हामी काठमाडौं आएका थियौं। बैतडीदेखि भारतको पिथौरागढहुँदै महेन्द्रनगरबाट काठमाडौं पुगेको थिए। पहिलोपटक मैले आधुनिक गीतमा कदम राखे। स्टुडियोमा पुग्दा कताबाट आएको भाइहरू भनेर सोधियो। 

हामीले सुदूरपश्चिमको बैतडीबाट आएका हौ भनेर जानकारी गरायौ। उहाँहरुले देउडा गाउने हो भनेर सोध्नुभयो। मैले भने 'होइन, म आधुनिक गीत गाउँछु।' उनीहरूले 'कस्तो आधुनिक गीत' भनेर फेरि प्रश्न गरे। जस्तो नारायण गोपाल जी ले गाउनुहुन्छ, भक्तराज जीहरुले गाउनुहुन्छ, त्यस्तै भन्ने आधुनिक गीत भन्ने जवाफ दिए। 

उनीहरूले अचम्मित हुँदै ‘हो र ?’ भन्नुभयो। मैले त्यही गीत गएर सुनाए। सुरुमा त म आधुनिक गीत गाउँछु भन्दा उहाँहरुले विश्वास नै गर्नुभएको थिएन। मैले गएको गीत उहाँहरुले सुनिसके पछि मात्रै पत्याउनुभयो। 

अनि त्यसपछि त कहाँ सिकेको, कसरी सिकेको भनेर प्रश्नहरू गर्नुभयो। मलाई त्यतिबेला संगीत पनि सिकिन्छ भन्नेसम्म थाहा थिएन। टेक्निकल कुराहरू पनि खासै थाहा थिएन। त्यसरी त्यसरी आइयो। 

पछि काठमाडौंमा गीत रेकर्डिङको क्रममा थुप्रै अग्रजहरुसँग भेटघाट भयो। उहाँहरुले संगीत राम्रोसँग सिक्नुपर्छ, जान्नुपर्छ भन्नुभयो। पछि बिस्तारै वाहतालमा हामफाल्नु हुँदैन भन्ने आभास हुँदै गयो।  

यही क्रममा मेरो पहिलो एल्बम ‘आँशु’ रेकर्ड भएर सार्वजनिक भयो। धेरैले मन पराइदिनु भयो। त्यतिबेला पनि केही मिडियाका साथीहरुले बोलाउनुहुन्थ्यो। त्यतिबेला संगीतको बारेमा केही नजानेर अन्तरवार्ता दिँदा मलाई बहुत नरमाइलो लाग्थ्यो। मैले म आफूलाई पनि ठगिरखेको छु र अरूलाई पनि ठगी राखेको छु भन्ने महसुस हुन्थ्यो। 

मैले यस्तो तालले गीत गाउनु हुँदैन भन्ने निर्णय गरे। यद्यपि मेरो गीत धेरैले मन पराउनुभयो। त्यो उहाँहरुको कुरा भयो। अनि मैले संगीतको गरेमा केही सिक्नुपर्छ भन्ने लाग्यो। त्यसपछि गीत गाउने, भौतिक रूपमा बजारमा आउन बन्द गरे। 

त्यसपछि धेरै वर्ष, झण्डै २३ वर्ष संगीत सिके। त्यसो त अहिले पनि म सिकारु नै हुँ। त्यसरी यात्रा गरियो। यति साधना गरेर अहिले फेटी गीत गाउन थाले।  साधना भनेको के चीज रहेछ भने जहाँ कुनै व्यक्ति, कुनै पात्र रहँदैन, त्यो नै वास्तवमा साधना हो। साधना भनेको त्यो व्यक्तिलाई मेटाएर अस्तित्वसँग एकाकार भएर गरिने चीज हो।

उदाहरणका लागि एउटा बाँसुरी छ। बाँसुरी आफैमा धेरै मिठो बज्ने साधन हो। तर मिठो बज्न पनि फुक्ने मान्छे चाहिन्छ। मैले पछि गएर के थाहा पाए भने मेरो गालाबाट जुन आवाज आउँछ, त्यो एउटा बाँसुरी जस्तो मात्रै हो। यही कुराबाट प्रेरित भएर लामो समय साधना गरे।

कमेन्ट लोड गर्नुस