पूर्वमन्त्री शाहविरुद्ध प्रहरीमा ठाडो उजुरी

काठमाडौं: एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ। विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो।
बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ। ‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ लामाले अनलाइनखबरसँग भने, ‘उहाँ नेताज्यूको घरमा पनि जानुभएको रहेछ।’
प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन्। सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ। तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन।
एक प्रहरी अधिकृत भन्छन्, ‘पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं।’

