सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भवतीको हेलिकप्टरबाट उद्धार

२०७८ असार २१, ०५:५० रासस

ओखलढुङ्गा: ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो।

छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो। सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो।

गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए। सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

शनिबार उद्धार गरी काठमाडौँ पठाइएको महिलाको अहिले काठमाडौँको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको छ। 

 

कमेन्ट लोड गर्नुस