रक्सी पसल खोलेपछि मानिसहरूले मनाए खुसियाली, पड्काए पटका

काठमाडौं: भारतको तमिलनाडुमा कोयम्बटुर सहित ११ जिल्लामा कोरोना लकडाउनका कारण रक्सी पसलहरू दुई महिनासम्म बन्द रहेकोमा अहिले खुलेका छन्।
मदिरा पसल खुलेपछि मानिसहरू पसलबाहिर पुगेर खुशियाली मनाउन थालेका छन्। नाच्दै गाउँदै ती मानिसहरूले नरिवल फुटाए अनि पटका पनि पड्काए । कुनै उत्सव झैं गरी उनीहरूले खुशियाली मनाएका हुन्।
रक्सी पसल खोल्ने सरकारको निर्णयलाई विपक्षी दलहरूले कडा विरोध गरेका छन्। तर राज्य सरकारले सामाजिक दूरी नियमलाई कठोरतापूर्वक पालन गरिने भनी स्पष्टीकरण दिएको छ।
मास्क नलगाइकन आउने जोकोहीलाई पनि रक्सी नदिन उर्दी जारी गरिएको छ।
नक्कली रक्सीको कारोबार बढेकाले त्यसलाई निरुत्साहन गर्न मदिरा पसल खोल्न दिएको भनी सरकारले तर्क गरेको छ।


