सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्न महेश बस्नेतको प्रस्ताव

२०७८ असार १९, ०८:११ खबर संवाददाता

काठमाडौं : संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा उठेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताए।

‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं,’ उनले बैठकमा भनेका थिए।

यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका छन्। तर अब पार्टीकै बैठकमा यसले प्रवेश पाएको हो।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने उनले बताए। पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाउन उनको प्रस्ताव छ।
 

कमेन्ट लोड गर्नुस