सुदूर नेपाललाई विश्वसँग जोड्दै

कल्भर्ट पुनःनिर्माण नगरे ६ लेन सडक भत्काइदिने धनगढीका मेयरको चेतावनी

२०७८ असार १५, ०६:१० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मोहनापुल–अत्तरिया ६ लेन सडक नै तोडिदिने चेतावनी दिएका छन्। उनले ६ लेन सडकको दायाँ–बायाँ निर्माण गरिएका नाली र कल्भर्टले धनगढी डुबानमा परेको भन्दै कल्भर्टहरुको पुनःनिर्माण नगरिए सडक नै भत्काइदिने चेतावनी दिएका हुन्।

सडक विभाग र खानेपानी मन्त्रालय नै पुगेर २ करोड बजेट छुट्याउन लगाएको बताउँदै नगरप्रमुख वडले उपमहानगरवासीलाई डुबानमा पार्ने गरी बनाइएका कल्भर्टको इस्टिमेट नै गलत भएको आरोप लगाएका छन्। 

उनले  नगरवासीको घर–घरमा पानी जाने गरी कल्भर्ट निर्माण गरिएको भन्दै मन्त्रालय पुगेर ६ लेन सडक भत्काइदिने चेतावनी दिएको बताएका छन्।

‘मोहनापुर–अत्तरिया ६ लेन सडक योजना कार्यालयले गलत इस्टिमेट बनाएर कल्भर्ट निर्माण गर्‍यो। जसले धनगढी डुबानमा पर्यो। गल्ती योजना कार्यालयको तर धनगढीवासीले दोष उपमहानगरलाई लगाए,’ उनले भने, ‘घरमा पानी पस्ने गरि कल्भर्ट निर्माण गरिएको छ। खानेपानीमन्त्री, भौतिकमन्त्री र सहरी विकासमन्त्रीसँग बसेर २ करोड बजेट छुट्याउन लगाएको छु। तपाई गर्ने भए गर्नुस नत्र म ६ लेन तोडिदिन्छु भन्दै झगडा गरेर आएको छु।’

उपमहानगरपालिका वडा नम्बर ३ को पानी आउँछ भनेर वडा नम्बर २ मा पानीको निकास नै रोकिने गरी काम भएको भन्दै नगरप्रमुख वडले आपत्ति जनाए। 

पानीको निकास नहुँदा धनगढी उपमहानगरवासी हरेक वर्ष डुबानको समस्याबाट पीडित हुन्छन्। सामान्य वर्षा हुँदा समेत एक स्थानबाट अर्को स्थानसम्म पुग्नै समस्या हुने गरेको नगरवासीको गुनासो छ। 

नगरभित्र संघ, प्रदेश र उपमहानगरपालिका आफैले निर्माण गरेका सडकको पानी निकास नहुँदा वर्षातमा ठुलै सास्ती खेप्नु परिरहेको छ। त्यसैमा धनगढी–अत्तरिया ६ लेन सडकमा पनि ढल निकासको उचित व्यवस्था नहुँदा झनै समस्या बढेको छ। सामान्य वर्ष हुँदा समेत ढुवानको समस्या झेल्नु परिरहेको चटकपुरका व्यवसायी राजन अधिकारीले गुनासो गरे।

योजना कार्यालयले पनि भन्यो– ‘इस्टिमेटमा केही कमजोरी भएकै हो’
उता मोहनापुल–अत्तरिया सडक योजना कार्यालयले भने धनगढीमा डुबानको समस्या सडकका कारण मात्र नभएर अन्य कारणले पनि भएको बताएको छ। कार्यालयले इस्टिमेटमा केही कमजोरी भएको भने स्वीकार गरेको छ। 

कार्यालयले यसअघि बनेकै नालीहरुको स्तरोन्नती गरिएको र इस्टिमेटमै कमी कमजोरी देखिएको बताएको छ। सोही कारण पुनः इस्टिमेटका लागि सडक विभागमा आग्रह गरिएको योजना कार्यालय धनगढीका प्रमुख युवराज पोखरेलले जानकारी दिए।

 क्षणभरको वर्षाले नै धनगढी डुब्ने गरेको छ। यो समस्या ६ लेन सडक निर्माण नहुँदा पनि थियो। नगर विकासले अवैध रुपमा जग्गा बिक्री गर्दै लालपुर्जा बाँडेपछि बनेका भौतिक संरचना र खोला–नालामाथिको अतिक्रमण नै नगर डुबानका मुख्य कारण भएको स्थानीय बताउँछन्। 


 

कमेन्ट लोड गर्नुस