कैलालीको ६ लेन सडकभरी छाडा चौपाया, देवरीया गौशालाकाे अवस्था भताभुङ्ग
धनगढी : मोहनापुल अत्तरिया ६ लेन सडकमा सामुदायिक पशुचौपाया देख्न सकिन्छ। सडकको बीचमा बाक्लो संख्यामा चौपायाहरु हिँडिरहेका हुन्छन्।
छाडा चौपायाका कारण सडक दुर्घटना समेत हुने गरेका छन्। गाडीको ठक्करबाट धेरै पशु मरेका छन् भने धेरै अपांग पनि भएका छन्।
बढीजसो रातिको समयमा चौपायाका कारण दुर्घटना हुने गरेको सवारी चालकहरु बताउँछन्। ६ लेन सडकमा ठुला सवारी साधनले किचिएर चौपाया मर्ने गरेका छन्।
तर उप–महानगरपालिकले लाखौ खर्चेर निर्माण गरेको देवरीया गौशालाको अवस्था भने भताभुङ्ग अवस्थामा छ। गौशालामा रहेका चौपायाको अवस्था बेजोग छ। गौशालाको छानो भत्किएको छ।
पशुचौपायाका लागि आवश्यक पानी, घाँस तथा परालको अभाव रहेको हेरालुले बताएका छन्। भुसा भरेर खुवाउने डुँण(भाँडो)समेत नरहेको चौपाया हेरालु मध्येका एक जना खडक रानाले बताए।
‘चौपाया चराउने ठाउँ कम छ, बिहान भुसा खुवाउँछाै’ उनले भने, ‘वर्षातको समयमा चौपायाहरुलाई भुसा खुवाउन निक्कै समस्या भइरहेको छ। भुसा खुवाउन डुँण छैन्। भुँइमा राखे हिलोमा मिसिन्छ।’ डुँण ल्याइदिन जिम्मेवार व्यक्तिसँग पटक–पटक आग्रह गर्दा पनि वास्ता नै नहुने गरेको उनले दुखेसो गरे।
साथै निर्माण भएको खोरमा अब थप चौपाया नअटाउने उनले बताए। ‘अब बाहिरबाट गाई गोरु ल्याए राख्ने ठाउँ नै छैन्’ उनले भने, ‘अर्को छाना भत्किएको १ वर्ष बढी भइसक्यो भन्दा भन्दा पनि सुनिदिँदैनन।’
डुँणका लागि निवेदन लेखिदिन वडा कार्यालयलाई आग्रह गर्दा पनि वास्ता नगरेको अर्का हेरालु पृथ्वी रानाले बताए। नगरपालिकाले भुसाका लागि समयमै रकम नदिँदा थप समस्या भइरहेको उनले बताए। ‘डुँणका लागि नगरपालिकालाई निवेदन लेखिदिनु भनेर वडा कार्यालयमा भने तर केही भएन। भुसावालाले पनि सताइरहेका छन्। नगरपालिकाले समयमै पैसा नदिँदा भुसा ल्याउन पनि समस्या भइरहेको छ’ उनले सुनाए।
देवरीयामा एक मात्र टिनको छानो भएको टहरो छ। अर्काे घर एक वर्षदेखि भत्किएको छ। त्यहाँ चौपायाका लागि पानीको समेत अभाव छ। देवरीया गौशालामा ८ जना हेरालु छन्। उनीहरुको ओत लाग्ने ठाउँ समेत छैन्। वर्षातको झरीमा भिज्दै गौशालाका चौपायाको हेरचाहा गर्दै आएको उनीहरु बताउँछन्।
उप–महानगरपालिकाले गौशालासँगै हेरालुहरुलाई समेत वेवास्ता गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले समेत छाना भत्किएको बताए। ‘छाना भत्किएको छ त्यसको मर्मत गछौँ’ उनले भने।
यता धनगढी उप–महानगरपालिकाको सामुदायिक शाखा प्रमुख टंक विष्टले गौशालामा भएको समस्या भने जानकारीमा नआएको बताएका छन्। ‘त्यहाँबाट कुनै माग आएको छैन्, माग आए हामी सम्बोधन गर्छौँ। सडकमा देखिएका छाडा चौपायाहरुलाई भोलिदेखि नै गौशालामा लैजान्छाै’ उनले भने।
उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले उक्त विषयमा प्रतिक्रिया समेत नदिने बताएका छन्। धनगढी उप–महानगरपालिकाले ४ वर्ष पहिले देवरीयामा स्थापना गरेको गौशालामा २ सय ५० पशुचौपायाहरु छन्।
उप–महानगरपालिकाका सडकहरुमा सयौँको संख्यामा चौपायाहरु छन्। किसानको खेती समेत चौपायाले खाने गरेका छन्। तर निर्वाचित जनप्रतिनिधिले चुनावी नारा समेत बनाएको सामुदायिक पशुचौपा व्यवस्थापनको मुद्धा भने अहिलेसम्म आश्वासनमै सिमित भएको छ।