सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमले दशकौँअघि देखेको सपना पूरा हुने मोडमा, डा. केसीको टाउको दुखाइ किन ?

२०८३ कार्तिक १३, ०८:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमले मेडिकल कलेज स्थापना गर्ने सपना देखेको तीन दशक पुग्न लाग्यो।

यही सपना पूरा गर्न कहिले रुख कटानमा उल्झन भयो, कहिले बजेट विनियोजन त अर्बौंका भवन तयार भएपछि मोडालिटीमा विवाद। तर, आफ्नै प्रदेशमा डाक्टर उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा पाउने दिनको प्रतीक्षा भने लम्बिरह्यो। अब त्यही प्रतीक्षाको अन्त्य हुने संकेत देखियो।

कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण भयो। चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि ५० सहित चार कार्यक्रममा ९० सिट तोकेपछि गेटामा चिकित्सा शिक्षा सुरु हुने बाटो खुल्यो।

तर, सपना पूरा हुने चरणमा पुगेकै बेला प्रा. डा. गोविन्द केसी गेटामा एमबीबीएस सञ्चालन गर्ने निर्णय खारेज हुनुपर्ने मागसहित सत्याग्रहमा बसेका छन्। आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको आरोप छ। दशकौँको प्रतीक्षापछि खुलेको चिकित्सा शिक्षाको ढोका बन्द  गर्नुपर्ने मागले सुदूरपश्चिमवासी सशंकित भएका छन्।

२०५६ को शिलान्यासदेखि विश्वविद्यालयसम्म
गेटामा मेडिकल कलेज स्थापना गर्ने प्रयास आजको होइन। २०५६ सालमा भारतको काञ्चिकामकोटी पीठका जगद्गुरु जयन्द्र सरस्वती शङ्कराचार्यले कैलालीको गेटामा आयुर्विज्ञान मेडिकल कलेजको शिलान्यास गरेका थिए। उनकै लगानीमा केही संरचना निर्माणसमेत भए।

त्यही वर्ष सरकारले मेडिकल कलेज स्थापनाका लागि गेटाको ७७ बिघा जग्गा जगद्गुरुको ट्रस्टलाई उपलब्ध गराएको थियो। तर, त्यो योजना अघि बढ्न सकेन। त्यसको एक दशकपछि २०६६ सालमा सरकारले नै गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा ग¥यो। सम्भाव्यता अध्ययन भयो, राष्ट्रिय योजना आयोगले ११ करोड रुपैयाँ विनियोजन ग¥यो र पूर्वाधार निर्माणका लागि छुट्टै समिति गठन गरियो।

त्यसपछि वर्षौँसम्म भवन बने, योजना फेरिए र सञ्चालनको मोडलबारे बहस भइरह्यो। भौतिक संरचना निर्माण हुँदै गर्दा अस्पताल र चिकित्सा शिक्षा सञ्चालनको विषय भने अन्योलमै रह्यो। अन्ततः २०८० कात्तिकदेखि गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा आयो।

छ सयभन्दा बढी शय्याको क्षमताका संरचना तयार पारिए पनि एमबीबीएस पढाइ सुरु हुने मिति निश्चित हुन सकेको थिएन। अहिले चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेपछि त्यो प्रतीक्षा अन्त्य हुने अपेक्षा गरियो।

९० सिट निर्धारण, डा. केसीको टाउको दुखाइ किन ?
चिकित्सा शिक्षा आयोगले गत असोज ३० गते शैक्षिक सत्र २०८३÷८४ का लागि गेटामा चारवटा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने प्रक्रियाअन्तर्गत सिट निर्धारण ग¥यो। एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजीमा १० र बी अप्टोमेट्रीमा १० सिट तोकिएका छन्।

यसको अर्थ गेटामा अब चिकित्सा शिक्षा सञ्चालनको व्यावहारिक आधार तयार भएको छ। प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सम्भावना पनि बढेको छ।
तर, डा. केसीले यही निर्णयमा प्रश्न उठाएका छन्। आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नभएको अवस्थामा एमबीबीएस सञ्चालन गर्न नहुने उनको तर्क छ। उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सञ्चालन गर्ने निर्णय खारेज गर्न माग गरेका छन्।

गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डे डा. केसीको मागले सुदूरपश्चिमवासीको लामो संघर्षलाई कमजोर पार्ने बताउँछन्। ‘दशकौँदेखिको संघर्ष र मेहनतका कारण गेटाको विश्वविद्यालय सञ्चालन हुने अवस्थामा पुगेको छ,’ पाण्डे भन्छन्, ‘डा. केसीले पटकपटक सुदूरपश्चिमवासीको सपना पूरा हुन नदिने गतिविधि गरिरहनुभएको छ। तर, हामी उहाँको सपना पूरा हुन दिँदैनौँ।’

पाण्डेका अनुसार गेटामा विश्वविद्यालय सञ्चालन हुनु कुनै एक व्यक्ति वा सरकारको उपलब्धि होइन, प्रदेशवासीको लामो संघर्षको परिणाम हो। उनले डा. केसीको असहमतिलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्थापित संस्थालाई विश्वविद्यालय बनाइनुपर्ने उनको धारणासँग जोडेर हेरेका छन्।

डा. केसीले मेडिकल विश्वविद्यालय स्थापना गर्नैपरे गेटामा नभइ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्नुपर्ने बताउँदै आएका छन्।
गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेज गर्नुपर्ने मागले विश्वविद्यालय नेतृत्वलाई समेत असन्तुष्ट बनाएको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीले विश्वविद्यालयमाथि गम्भीर प्रहार भएको बताएका छन्।

‘हामीहरूको पवित्र संस्था शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमाथि गम्भीर प्रहार भएको अनुभव गरेका छौँ। यो हाम्रो प्रतिष्ठा र आत्मसम्मानमाथिको प्रहार हो,’ जोशीले लेखेका छन्। उनले अब के गर्नुपर्ने हो भन्दै सुदूरपश्चिमवासी र आम नेपालीसँग मार्गदर्शनसमेत मागेका छन्। सुदूरपश्चिमका नागरिक अगुवा प्रमोद पाठक भने गेटाको विवादलाई अवरोध र समर्थनको दुई ध्रुवमा सीमित गर्न नहुने बताउँछन्।

’जनशक्ति, पूर्वाधार, अस्पतालको क्षमता र शैक्षिक गुणस्तरबारे प्रश्न उठाउनुपर्छ,झ उनले भने, ’तर, कमजोरीको सम्भावना देखाएर विश्वविद्यालय सञ्चालन नै हुन नदिने दृष्टिकोण पनि उचित होइन। विश्वविद्यालय ठीक किसिमले चलोस् भनेर खबरदारी आवश्यक छ। तर, विश्वविद्यालय सुदूरपश्चिममा आवश्यक नै छैन, चल्नै दिनुहुन्न भनेर लाग्नु ठीक होइन।’

माघदेखि पढाइ, अस्पताल विस्तारको तयारी
विश्वविद्यालयले भने आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने तयारी गरेको छ।विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेन्डरअनुसार कक्षा सञ्चालन हुनेछ।

एमबीबीएससहितका कार्यक्रममा सिट निर्धारण हुनु विश्वविद्यालय र सुदूरपश्चिमको स्वास्थ्य शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। विश्वविद्यालयले चिकित्सा शिक्षासँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

रजिस्ट्रार चन्दका अनुसार यसैवर्षदेखि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र ५०० शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने तयारी छ। ‘हामीले ६२२ बेड जडान गरिसकेका छौँ,’ चन्दले भने, ‘यसै वर्षदेखि ३०० शय्याको अस्पताल पूर्ण रूपमा चल्छ। ५०० शय्याको सुरुवात हुन्छ।’ अस्पतालमा सिटीस्क्यान, एमआरआई र क्याथ ल्याबजस्ता सेवा विस्तार गर्ने तयारीसमेत भइरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस