सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचनका प्रतिबद्धता आश्वासनमै सिमित, धनगढीको कैलाली गाउँ जोड्ने सडक मर्मत समेत भएन

२०७८ असार १३, ०६:५५ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १३ बोराडाँडीमा रहेको गोदावरी फ्लोर मिलदेखि जनता माध्यमिक विद्यालय जोड्ने सडक मर्मत तथा निर्माणमा बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन्। 

बढी आवतजावत हुने तथा मोहनापुल–अत्तरिया ६ लेन सडकलाई जोड्ने सो सडकको अहिले दुरावस्था छ। निर्वाचनको समयमा तीनै तहका जनप्रतिनिधिले नालीसहितको सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए। तर प्रतिबद्धता आश्वासनमै सिमित रहेको उनीहरूले बताएका छन्। 

गोदावरी फ्लोर मिलदेखि जनता माध्यमिक विद्यालय जोड्ने झण्डै १ किलोमिटर सडकमा खाल्डै–खाल्डा छन्। वर्षातको पानीले सडकमा हिड्नै मुस्कील छ। 

सडक मर्मत तथा निर्माणका लागि पटक–पटक आग्रह गर्दासमेत धनगढी उप–महानगरपालिकाले बेवास्ता गरेको गुनासो स्थानीयको छ। 

विघठित प्रतिनिधि सभा सांसद पुस्कर ओझा र नारदमुनी राना र प्रदेश सभा सदस्य डिल्लीराज पन्तले सो सडक बनाउने भन्दै आश्वासन दिएका थिए।

वडा नम्बर १३ का स्थानीय जयभान सिंह बोहराले धनगढी उप–महानगरपालिका निर्वाचित जनप्रतिनिधिहरूले  समेत आश्वासन मात्र दिएको गुनासो गरे। 

’तीनै तहका सरकारले सडक बनाउन भन्दै पटक–पटक आश्वासन दिएका छन्।’ उनले भने, ’हामीले नालीसहितको सडक बनाउन पटक–पटक आग्रहसमेत गरेका छौँ, तर बेवास्ता गरिएको छ।’

उप–महानगरपालिकाले सडक मर्मत तथा निर्माण गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म सडक हिलाम्य छ। 

कैलाली गाउँको बढी आवतजावत हुने र मोहनापुल–अत्तरिया ६ लेन सडकलाई जोड्ने सडकहरूलाई प्राथमिकतामा राख्न उनीहरूले माग गरेका छन्। तर उप–महानगरपालिकाले आसेपासेको घर जोड्ने सडकमा मात्र बजेट हाल्ने गरेको गुनासो स्थानीयले गरेका छन्। 

स्थानीय धरम राज पडालले उप–महानगरपालिका यो महिना बनाउँछौँ, त्यो महिना बनाउँछौँ भन्दै पन्छिदै आएको बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत सो सडक निर्माणलाई समावेश गरिएको छैन। 

सुरूमा एडीबीको बजेटमा बन्ने भनिए पनि छनौट नहुँदा समस्या भएको उप–महानगरपालिकाको दाबी छ। 

वडा नम्बर १३ का अध्यक्ष बिजयराज जोशीले बाटोको अवस्था अस्तव्यस्त रहेको भन्दै भोली (आईतबार) नै खाल्टाखुल्डी पुर्ने दाबी गरे। 

उप–महानगरपालिकाले बढी खराब भएका सडकलाई प्राथामिकता नदिएको स्थानीयको आरोप छ। 
तर आसेपासे र कार्यकताका घर जाने सडक कालोपत्रेका लागि बजेट विनियोजन हुँदै आएको उनीहरुले बताएका छन्।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस