सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर–अत्तरिया जोड्ने राजमार्ग ‘एम्बुस’ जस्तै, छैनन् सडकबत्ती र ‘क्याटआई’

२०७८ असार ११, १२:३३ विन्दु चन्द

धनगढी: दशकौँ पहिले बनेका पूर्वपश्चिम राजमार्गको स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम बढेको छ। अत्तरियादेखि गड्डाचौकी जोड्ने पूर्वपश्चिम राजमार्ग यात्रुहरुका लागि थापिएको ‘एम्बुस’ जस्तै बनेको छ। 

जनसंख्या बढेसँगै उक्त राजमार्गमा सवारी साधनको चाप देख्न सकिन्छ। साँघुरो सडकमा सवारी साधनको चाप हुँदा दुर्घटनाको जोखिम बढेको छ। भने, सडकबत्ती नहुँदा रातिको समयमा झन बढी दुर्घटना हुने गरेको यात्रुहरु बताउँछन्। 

सडकबत्ती नहुँदा रातिको समयमा यात्रा गर्नेहरुलाई जंगली जनावरको समेत डर छ। यस्तै विपरित दिशाबाट आउने गाडीहरुको ‘हेडलाइट’ आँखामा पर्दा झनै समस्या हुने गरेको छ। गाडीको ‘हेडलाईट’ आँखामा पर्दा समस्या हुने गरेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ मा भेटिएका यात्रु प्रदीप भट्टले बताए। 

‘क्याटआई(सडकको सीमा जनाउन राखिने टल्किने बत्ती) छैनन्। रातको समयमा मोटरसाइकल चलाउदा आँखामा एक्कासी लाईट लाग्छ, त्यसबेला टर्निङ कस्तो छ भन्ने थाहा हुँदैन्’ उनी भन्छन्, ‘कहाँनिर कसरी टर्निङ गर्ने भन्ने थाहा नै हुँदैन र दुर्घटना हुन्छ।’

तर यी समस्याको समाधान भने तत्कालका हुने देखिँदैन। सडकलाई ४ लेन बनाउने योजना त छ तर २÷३ वर्षभित्र उक्त योजना लागू हुनसक्ने अवस्था छैन्। तर रातको समयमा बढी दुर्घटना हुने ठाउँहरुमा भने केही व्यवस्थापन भइरहेको सडक विभाग महेन्द्रनगरले जनाएको छ। 

रातको समयमा बढी दुर्घटना हुने ठाउँहरुमा ‘भिजिबिलिटी’, ‘रोडमार्किङ’, ‘सेन्टरलाईन’ लगायतका कामहरु गरिरहेको बताइएको छ। झलारी, गुलरीया, वाँणी लगायतका बढी भिडभाड हुने ठाउँमा ४ लेन बनाइने बताइएको छ। भने रातिको समयमा हुने दुर्घटना कम गर्न क्याटआई लगाइने सडक विभाग महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। 

‘तत्काललाई १/२ वर्षभित्रै ४ लेनमा जाने सडक विभागको योजना छैन्, तर केही वर्षमा भित्र चाहिँ हामीले यो सडकलाई ४ लेनको बनाउने योजनामा छाैँ’ उनले भने, ‘अत्तरियादेखि गड्डाचौकीसम्म रिसिलिङको काम सँगसँगै बढी भिडभाड हुने ठाउँहरुमा  पनि हामी विशेष ध्यान दिइरहेका छौं।’

२०७६/७७ र २०७७/७८ को तथ्याकं हेर्दा ७७/७८ मा दुई गुणा बढीले उक्त सडकमा दुर्घटना भएका छन्। २०७६/७७ मा मात्रै सो सडकमा ४२ वटा सवारी दुर्घटनामा परेका छन्। जसमा २२ जनाले ज्यान गुमाएका छन् भने ४५ जना घाइते भएका छन्।  यस्तै २०७७/७८ मा ६२ सवारी दुर्घटनामा परेका छन् भने २५ जनाको मृत्यु भएको छ। यस्तै १०२ जना घाइते भएका छन्।  

ट्राफिक प्रहरीले पनि सडक बत्ती र र क्याटआई नहुन नै दुर्घटनाको प्रमुख कारण भएको बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले उक्त राजमार्गमा बढीजसो मोटरसाइकलहरु दुर्घटना हुने गरेको बातए। 

‘राजमार्गमा मोटसाइकलहरुको चाप बढ्यो। रातिको समयमा विपरित दिशाबाट आइरहेका चार पांग्रे गाडीहरु र ठुला सवारी साधनहरुको लाइट आँखामा लाग्दा बढी दुर्घटना हुन्छन्’ उनले भने। उनले सो राजमार्गमा सडक बत्ती र क्याटआई अनिवार्य हुनुपर्ने बताएका छन्। 

दुर्घटना न्यूनिकरणका लागि तत्काल सरकारले बत्ती र साँकेतिक चिन्हहरु राखिदिए सहज हुने यात्रुहरुले पनि बताएका छन्। 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस