राजनीति र राजनीति संस्कार यस्तो होस्
-करन साउँद, गौरीगंगा–५ कैलाली
धेरै लामो संघर्ष, त्याग, कष्ट र बलिदानबाट यो देशमा ठूलो परिवर्तन आयो। देश अप्ठ्यारोमा परेको बेला जनतालाई संकट परेको बेला आश्वासन मात्र बाड्न जानेको नेपाली राजनीति नेतृत्वप्रति जनतामा सधै निराशा र आक्रोश रहिरहेको छ।
विभिन्न माध्यमद्वारा विकासमा फड्को मारेका विश्वका विभिन्न देशहरुको राजनीति संस्कार र त्यहाँको चलन देखेर नेपालीको मनमा नेपाली राजनीतिदेखि घृणा जागेर आउँछ। हुनपनि यो एक स्वाभाविक नै हो।
समाज र राजनीतिलाई डोर्याउँछु भन्ने नेतृत्वसँग नेपाली मनहरु बिरत्तिएको सत्य हो। आफ्ना नेतृत्वप्रति बिरत्तिएका यी मनहरु साच्चिकै नेतृत्व के हो ? नेतृत्व कस्तो हुनुपर्छ ? कस्तो नेतृत्वमा हामी निर्देशित भइरहेका छुँ भन्ने प्रश्नले हामीलाई बारम्बार घोचिरहेको छ।
२१औं शताब्दी यो दुनियामा नेपाल बाहेक अन्य मुलुकमा भएको विकास देखेर हाम्रो मन थाम्न नसकिने भएको छ। हामीहरुलाई निराश र शंकाका वाणहरुले निरन्तर प्रहार गरिराखेका छन्। यो समाजलाई समृद्धि र सभ्य संस्कारको परिकल्पना गर्दागर्दै एक पिढी मात्र होइन कयाै पिढी धकेलिँदै गइसकेका छन्।
तर पनि हामीले सुन्दर सपना छाड्न छोडेका छैनौ। हाम्रो सपना गन्तव्यसम्म पुगाइदिने एक अब्बल नेतृत्वको खोजी गर्नपनि हामीले छाडेका छैनौ। संख्यात्मक हिसाबले हामीलाई नेताको कमि महसुश भएको पनि छैन्। तर हामी त्यस्तो नेतृत्वको खोजीमा छु, हामीलाई संख्यात्मक होइन गुणनत्मक चाहिएको छ।
अझै भन्नुपर्दा हाम्रो समाज देश त दिन प्रतिदिन नेताले भरिँदैछ। पधेरीदेखि सिंहदरबारसम्म नेतै नेता। तर पनि गतिलो नेतृत्वविहिन बन्दै छ। हाम्रो समाज अनि हाम्रो देश। त्यसैले खोज्न मन लाग्यो। कस्तो होला मैले खोजेको नेता ? कहिले काहीँ एक्लै हुदा कल्पना गर्छु, मैले खोजेको अझै भनौ मेरो देशले खोजेको नेता यस्तो होस। सिद्धान्त, बिचार, एजेन्डाहरु कहि कतैबाट आयातित नभएर मेरै देश र मेरै भूमीबाट मौलाएको मौलिक होस्।
अनि उसमा इमानदारिता होस एकताको भावनाले डोरिएको होस्। उसमा न लोभ होस्, न घमण्ड होस्, न रिस होस्, न राष होस्, उसमा न पक्षपात होस्, न आफ्नो बिरानो होस्, न ठुलो, न सानो होस्, न धनी न गरिब होस्, न जात होस् न भात होस्, न भाषा होस् न धर्म होस्।
उसका हरेक व्यवहार काम गर्ने शैलीले जनतादेखि अरु नेताहरुलाई शक्तिशाली प्रेरणा र हौसला देओस्। उसको राजनीति नाफाघाट नहोस्, जनताको स्वयंसेवक होस्। उसको बाचा कसम अनि संकल्प उसको धर्म र दायित्व होस्।
उसका हरेक तर्के बिचारहरु समाज र देश परिवर्तन गर्ने खाल्का हुन। उसका हरेक तर्क र बिचार एक हतियारका रुपमा प्रयोग भई समाज र देश परिवर्तन होस। उसका हरेक सोच व्यवहार र कदमले अरुलाई प्रेरणा देओस्।
राष्ट्र र राष्ट्रियता उसको राजनीति केन्द्रबिन्दु सधै बनिरहोस्। उसको हरेक व्यवहार र नैतिकतामा असली लोकतान्त्रिक चरित्र कहिले पनि निभ्न नसक्ने बत्ती जस्तै बनेको होस्। उसका हरेक काम कर्ममा, म होइन हामी भन्ने भावनाको विकास भएको होस्।
यी सबै कल्पना र सपनाहरु मैले खोजेको नेतामा बिपनामै देख्न भेट्न अनि अनुभूती गर्न पाउ। यो मेरो व्यक्तिगत इच्छा हो। सायद सबै नेपाली र नेपाललाई माया गर्नेको सोच यस्तै होला।
नेपाली माटोमा उभिएर एक नेपाली नागरिक र एक युवा भएको हैसियतले केही बोल्नैपर्ने सम्झिए। अहिले यो देशमा जनताको शासन छ भनेपनि, गणतन्त्र छ भनेपनि, हातले लेखेको संविधान छ भनेपनि आधा धर्ती ढाकेका युवाको नेतृत्वप्रति, राजनीतिप्रति र सामाजिक न्यायकाप्रति धेरै गुनासो र आक्रोश छन्।
त्यसैले मैले खोजेको नेता, नेतृत्व कहिले पाउने मैले ? अनि हामी जस्ता नेपाली जो नेपाललाई माया गर्छन्, हामी त्यस्तो नेतृत्व र नेताको खोजिमा छौ जसलाइ विश्वले गर्व गरोस्। कहिले पाउँछौ त हामी त्यो नेता अनि त्यस्तो नेतृत्व ?