सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबैलाई धोका दिएर जन्मिएकी ‘म’

२०७८ असार २, १२:५३ रक्षा भट्ट

‘लक्ष्मी मेरो पेट दुखिरहेको छ, मलाई व्यथाले च्याप्न थाल्यो, मलाई घर पुर्‍याइदेउ।’

असार १ गते बेलुकी तिरको समय हो। म मेरी आमाको गर्भमै थिएँ। त्यतिबेला आमाले यसरी नै लक्ष्मी काकीलाई यहि भन्नुभएको थियो(यो कुरा लक्ष्मी काकीले मलाई भन्नुभएको हो)। 

उहाँ(आमा) पेशाले महिला स्वास्थ्य स्वयं सेविका, त्यो दिन उहाँ आफू कार्यरत कार्यालय स्वास्थ्य संस्था कलकत्ता(कञ्चनपुरको एक ठाउँ) जानुभएको थियो। उहाँहरुको त्यो दिन मासिक रिपोर्ट थियो रे !

त्यसपछि आमालाई लक्ष्मी काकीले घर पुर्याउनु भएछ। महिना असारकै भए पनि त्यतिबेला यस्तो झरी परिरहेको चाहीँ थिएन रे ! घाम लागेका थियो रे ! लागेको मात्रै हैन चर्केकै थियो रे ! पेट दुखेर घर आउनुभएकी आमाको व्यथा घर आइसकेपछि बढ्दै गएछ। राति ८ बजेपछि व्यथाले झन् च्याप्दै गएछ। उतिबेला अस्पतालमा प्रसुति गराउने आजको जस्तो समय थिएन। कोही कसैले गराइहाले पनि महेन्द्रनगर वा धनगढीपुग्नु पथ्र्यो रे !

१ गते आइतबार बेलुकीदेखि च्यापेको व्यथाले २ गते सोमबार बिहान ११ बजे छाडेछ। अर्थात् मेरो जन्म भएछ। साह्रै सताएछुँ मैले आमालाई, हिजो बेलुकी नै आउने संकेत दिएर पनि सताईसताई आज बिहान ११ बजे आएछुँ रुँदैरुँदै।

अस्पतालमा प्रसुति नगराएपनि एउटा कुनै औषधि हुँदो रहेछ। जसले प्रसुति गराउन सहयोग गर्दोरहेछ। औषधिको नाम उल्लेख गरिएन भन्ने लागिरहेको होला, तर आमालाई पनि याद नभएको त्यो औषधिको नाम मैले झन कसरी थाहा पाउने ? 

ओहो ! म त औषधिकै कुरामा पो छुँ। माथि जन्मिसकेँ। म जन्मने बितिकै सबैको ध्यान मैतिर सोझियो। के पाइन् त पार्वतीले, छोरा वा छोरी। 

पार्वती मेरी आमाको शुभनाम। जसले मलाई भर्खरै जन्म दिनुभएको थियो। आमाले छोरी भनेर जवाफ दिने बितिक्कै मेरी हजुरआमाले हत्तेरी ! भन्नुभएछ। अहिले त साह्रै माया गर्नुहुन्छ मलाई उहाँले। सायद उतिबेला नातिको आशा पो थियो कि ? अब जसको जस्तो आशा भए पनि मेरो जन्म भइसकेको थियो। 

खासमा हजुरआमाले हत्तेरी किन भन्नुभएछ ? किनकी म भन्दा ढाई वर्ष अगाडी नै परिवारमा लक्ष्मीको वास भइसकेको रहेछ। अर्थात् मेरी दिदीको जन्म भइसकेको थियो। त्यसैले मेरी हजुरआमालाई अब नाति होस् भन्ने इच्छा थियो रे ! यो कुरा अनुमानित नसोच्नुस् है, मैले हिजो मात्र पनि फोन गरी सोध्दा यही भन्नुभयो उहाँले। मैले म लेख्नलाई सोध्दै छुँ है भन्दा हाँस्नुभयो। पत्याएर हाँस्नुभो वा उसै, मैले त लेखेँ। हजुरआमाको हत्तेरी अहिले स्वभाविकै मान्छुँ मैले। 

एक छोरा, एक छोरी, सानो परिवार, सुखी परिवार त उहाँले चाहनुभएको। मलाई ‘हत्तेरी’, ‘फेरि’, ‘छोरी’ र ‘ओहो !’ जस्ता शब्दले स्वागत गरिएको आजको दिन, निकै प्रिय छ मेरा लागि। आमाले पनि एउटी छोरी छँदैछे अब छोरा होस् भन्ने चाहनुभएको थियो रे ! 

उहाँलाई पनि छोरा हुन्छ कि भन्ने आशा। तर धोका दिएर भाइलाई उछिन्दै म पहिला आइदिए। भाइका लागि आमाले केही वर्ष अझैँ कुर्नुपर्यो। जे होस् आजको दिन भएको मेरो जन्मले सबैलाई चाहेजस्तो खुसी त दिन सकेन। 

तर आमा भन्नुहुन्छ ‘आशा छोराको भएपनि तँ जन्मेकोमा दुख भने लागेको थिएन। बस् छोरा पाउनैपर्ने, अनि त्यसका लागि मैले अझैँ कष्ट सहनुपर्ने हुन्छ भनेर चिन्ता लाग्यो।’ अनि बाबाले चाहीँ ‘दुई बच्चा छोराछोरी जे भए नि भइसके, अब बन्ध्याकरण गराउनुपर्छ, छोरा भनेर जन्माउन हुन्न’ भन्नुभएको थियो रे ! 

बाबा आमाले जे जस्तो सोच बनाएका भएपनि मलाई भाईहरुको आवश्यकता रहेछ। एउटा मात्र हैन दुइटा भाईलाई निम्तो दिएर आएछुँ। म जन्मेको केही वर्षपछि दुवैजना पालैपालो आइ पनि हाले। 
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस