सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीसैन जाने पर्यटकको सुरक्षाका लागि लाम्पाटामा सुरक्षाकर्मी खटाइने

२०८३ जेठ ७, ०७:१८ खबर संवाददाता

धनगढी: रानीसैन जाने पर्यटक असुरक्षित भएपछि सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा बिहिवार बसेको बैठकले बाजुरा र हुम्लाको सीमा विवादका कारण बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटा–च्याचौर क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। बाजुरा जिल्ला हुँदै साइपाल बेसक्याम्प रानीसैन जान लागको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको टोलीमाथि आक्रमण गरेर हुम्लाका स्थानीयले फिर्ता पठाएपछि सुरक्षाकर्मी परिचालनको निर्णय भएको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता लक्ष्मण पुडासैनीले बिहिवारको बैठकमा पाँच वटा निर्णय भएका बताएका छन्। उनले पहिलो नम्बरमा घटनाका निश्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालयमा पत्रचार गर्ने निर्णय गरिएको बताए। दोस्रोमा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटा क्षेत्रमा बाक्लो सुरक्षा फौज तैनजाथ राखिने उनले बताए।

रानीसैन जाने पर्यटक तथा स्थानीय नागरिकको सुरक्षाका लागि टेन्टमा भए पनि सुरक्षाकर्मी खटाइने उनले बताएका हुन्। उनले भने, ‘प्रहरी चौकी निर्माणमा विवाद भयो। हुम्लाका स्थानीयले सीमा बिदाका कारण काममा अवरोध गरेका छन्। सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मी खटाउने निर्णय गरेका छौँ।’

लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच लामो समयदेखि सीमा विवाद रहेकाले सोही क्षेत्रमा बाजुराबाट सुरक्षा टोली खटाइने भएको हो। सीमा विवादका कारण रोकिएको प्रहरी चौकी निर्माणको कामसमेत सुरु गर्ने समेत निर्णय भएको छ।

गृह मन्त्रालयबाट उक्त क्षेत्रमा प्रदेश सरकारमार्फत प्रहरी चौकी निर्माणका लागि आवश्यक सहयोग तथा सहकार्यका लागि अनुरोधन गर्ने समेत निर्णय गरिएको हो। लाम्पाटामा सुदूरपश्चिम सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सीमा विवाद थप चर्किएकाले गृहमन्त्रालयबाट सहयोग माग गरिएको हो।

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङले प्रहरी चौकी निर्माणका लागि जग्गा दान दिएपछि उनी हुम्लाका स्थानीयको निशानामा परेका थिए। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनौउछौ’ अभियानका अभियातकर्ता गोपाल हमालको टोली घटना स्थलमा नपुग्दै गत ३ जेठमा गुरुङ र उनकी श्रीमतीमाथि घरमै कुटपिट गरिएको थियो।

घर कब्जा र लुटपाटसमेत भएको उक्त घटनामा संलग्नहरुलाई कारबाही गरिने भएको छ। बाजुरा र हुम्मलाका स्थानीयहरुको बिचमा सद्भाव कायम राख्नै दोषी माथि कारबाही गर्ने र सडक सुचारु गर्ने समेत बैठकमा निर्णय भएको पुडासैनीले न्युज नेपाललाई बताए। समन्वय, सहकार्यको माध्यामबाट समस्या समाधान गर्ने उनको तर्क रहेको छ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत गोपाल हमाल नेतृत्वको टोली धनगढीबाट रानीसैन बेसक्याम्पतर्फ गएको थियो। टोलीलाई हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थालीका स्थानीयले लाम्पाटा क्षेत्रमा रोकेका थिए। त्यसक्रममा ढुंगामुढासहित आक्रमण भएपछि जनप्रतिनिधि, कर्मचारी र सहभागीहरू ज्यान जोगाएर फर्किन बाध्य भएका हुन्। प्रहरी प्रशासनबाट अवस्था सामान्य रहेको जानकारी पाएपछि मात्रै धनगढीको टोली अघि बढेको थियो। तर घटनास्थल पुग्दा अवस्था फरक देखिएको नगर प्रमुख हमालले बताए।

घटना थप उग्र हुन नदिन धनगढी र हिमाली गाउँपालिकाको टोली फर्किएको थियो। त्यसपछि कुटपिटमा गम्भीर घाइते भएका वडा सदस्यसहितको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

कमेन्ट लोड गर्नुस