सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली र टीकापुर अस्पताल स्तरोन्नती गर्ने सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णय कागजमै सीमित

२०७८ जेठ २४, ०६:२५

धनगढीः सुदूरपश्चिममा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु कागजमै सीमित देखिएका छन्।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा गरेका महत्वपूर्ण निर्णयहरु समयमा कार्यान्वयन नहुँदा ती निर्णयहरु त्यतिकै दराजमा थन्किन पुगेका हुन्। 

पहिलो चरणको कोरोना भाइरस फैलिएसँगै महाकाली र टीकापुर अस्पतालको स्तरोन्नती गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भएपनि अस्पताल प्रशासनले भने त्यो विषय सुन्नमा आएपनि आधिकारिक रुपमा कुनै पत्र प्राप्त नभएको बताएका छन्। 

त्यति मात्र होइन सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान खरिद गरिएको भएपनि उपकरण राख्ने भवन नहुँदा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ। ‘मन्त्रिपरिषद् बैठकले अस्पताल स्तरोन्नतीका लागि निर्णय गरेको भन्ने विषयमा सुनेका छौँ, तर आधिकारिक रुपमा अहिलेसम्म पत्र प्राप्त सकेको छैन’ सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले भने। 

प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रत्येक जिल्ला अस्पतालहरुलाई ५० बेड, सेती प्रादेशिक अस्पतालाई तीन सय बेड, महाकाली र टीकापुर अस्पताललाई दुई÷दुई सय बेडको रुपमा अस्पतालको स्तरोन्नती गर्ने निर्णय भएपनि कुनै काम हुन सकेको छैन। 

सेती अस्पतालमा दरबन्दीअनुसार एकसय ४१ बेड मात्र रहेपनि अस्थायी कोभिड अस्पतालसहित गरी तीन सय ५ बेड क्षमताको हो। ‘सेतीमा एक थान सिटीस्क्यान मेसिन खरिद गरिएको भएपनि मेसिन राख्ने भवन नहुँदा जडान गर्न सकिएको छैन’ डा पाण्डेयले भने। 

प्रदेशका विषयगत मन्त्रालयहरुले गर्दै आएको प्रस्तावका आधारमा एकपछि अर्को मन्त्रिपरिषद् निर्णय गरेर कार्यान्वयन गर्न निर्णयहरु सम्वन्धित मन्त्रालयहरुमा पठाउने गरिएको भएपनि अधिकांश निर्णहरु समयमा कार्यान्वयन नहुँदा निर्णहरुको चाङ मात्र लाग्ने गरेको छ। 

तर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उप–सचिव रामविचारी ठाकुरले मन्त्रिपरिषद्ले गरेका सब निर्णय कार्यान्वयन गरेको दाबी गरेका छन्। ‘बरु हामीले मन्त्रिपरिषद् निर्णयका लागि पठाएका धेरै महत्वपूर्ण प्रस्तावहरुमाथि निर्णय नहुँदा काम गर्न समस्या भइरहेको छ’ उपसचिव ठाकुरले भने।

प्रदेशको सबैभन्दा ठुलो अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीमा सिटीस्क्यान मेसिन नभएका कारण महंगो शुल्क तिरेर उपचार गर्नु परेको बिरामीका आफन्तहरुको गुनासो छ। ३३ दिनदेखि सेतीमा आफन्तको उपचार गराई रहेका हिक्मत शाहले सिटिस्क्यान नभएकै कारण बाहिर गएर मंहगो शुल्क तिरी उपचार गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे।

तर अस्पतालका प्रमुख पाण्डेले उपकरण खरिद गरेको भएपनि उपकरण राख्ने भवन निर्माणाधिन अवस्थामा रहेको र निर्माण सम्पन्नको टुंगो नलागेका कारण अरु कुनै भवनमा भएपनि मेसिन जडान गर्ने तयारी भइरहेको बताए।

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार लगायत विषयलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु ल्याउने गरेको भएपनि प्रदेशवासीले ती कार्यक्रमहरुबाट अपेक्षाकृत रुपमा लाभ लिन सकेका छैनन्। 

साथै विषयगत मन्त्रालयहरुले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय समेत समयमा कार्यान्वयन नगर्दा ती निर्णहरु कागजमा मात्र सिमित बन्न पुगेका हुन्। 
 

कमेन्ट लोड गर्नुस