सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबैभन्दा ठुलो मूर्ति बनाएर विश्व जितेका शाक्यको त्यो अधुरो सपना...

२०७८ जेठ २३, ०४:०४ खबर संवाददाता

धनगढी: सन् २०१४ तिर नेपाली मूर्तिकार राजकुमार शाक्यको अगुवाइमा रहेका नेपालका कलाकारहरुको एउटा टोली भुटानमा थियो। उक्त टोलीले बौद्धहरुका प्रशिद्ध गुरु पद्मसम्भवको विशाल मूर्ति निर्माण गरिरहेको थियो। 

ताकिलिया हिलमा पद्मसम्भवको विशाल मूर्ति निर्माणको काम सन् २०१० को जुन महिनाबाट थालिएको थियो। मूर्तिमा तामाको मात्र काम सक्न ३ वर्ष ९ महिना लागेको थियो।

त्योे टोलीले २०१४ को अन्त्यतिर १३५ फिट उचाई भएको मूर्ति निर्माण सम्पन्न गरेको थियो।  अन्ततः शाक्यले बनाएको पद्मसंभवको त्यो मूर्ति विश्वकै ठूलो बन्यो। 

पुरै जीवन मूर्तिकला र त्यसको विकासमा समर्पित भएका उनले अहिलेसम्म तिब्बतका झन्डै २५ गुम्बामा आफ्नो कला देखाइसकेका छन्। कतै छाना, कतै गजुर, कतै मूर्तिमा उनको कला पोखिएको छ।

भारतको हुग्ली र गुहाटीका कैयन् गुम्बामा उनले स्तुपा, मूर्तिदेखि गुरु बस्ने सिंहासनसम्म बनाएका छन्। कोरियाको बुसानस्थित गुम्बामा उनले बनाएको ११ फिटको बुद्धको मूर्ति देख्न सकिन्छ भने जापानको ओसाकामा उनले मन्दिरको सिलिङमा कलात्मक मण्डला निर्माण गरेका छन्।

सुमेरु कलाग्रामका अध्यक्ष समेत रहेका उनी पछिल्लो समय विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागीरहेका थिए। विश्वमै ठूलो भैरवको मुकुण्डो बनाएर कीर्तिमान कायम गर्न लागिएको उनले बताएका थिए। तर उनको त्यो सपना पूरा हुन सकेको छैन। 

२१औं शताब्दीको अरनिकोको रूपमा मानिएका उनको शनिबार निधन भएको छ। ५५ को उमेरमा शाक्यको ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको हो।  उनी गत वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए।

उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उनलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उनको शनिवार निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस