सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरियामा अस्पताल निर्माणको प्रक्रियामा जालझेल, आफ्नालाई टेण्डर !

२०७८ जेठ २०, ०७:०१ लखन चौधरी

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिकाले गत फागुन २६ गते १५ बेडको अस्पताल निर्माणको लागि बोलपत्र आह्वान गरेको थियो।

तर गाउँपालिकाले विद्युतीय माध्यमबाट आह्वान गरेको बोलपत्र तथा त्यसको छनोट प्रक्रियामा नै आर्थिक अनियमितताको आशंका गरिएको छ।

गाउँपालिकाले अस्पताल निर्माणमा मल्टी कलरसहितको एम ३५ इन्टरलक कोब्बल कंक्रिट ब्लक प्रयोग हुनु पर्ने र ब्लक ६० मिलिमिटर हुनुपर्नेलगायत प्राविधिक शर्तसहित बोलपत्र आह्वान गरेको थियो। जुन सर्त नेपालमा कुनै पनि कार्यालयले हालसम्म उक्त कार्य अनुभव नमागेको तथा नेपालभरिमा २ वटा फर्महरुले मात्रै उक्त अनुभव सम्बन्धी काम गरेकोले गाउँपालिकाले स्वतन्त्र प्रतिश्पर्धा भन्दा पनि सेटिङ्गकै भर बोलपत्र आह्वान गरेको आशंका बढेको छ। 
के एस कन्ट्रक्सन प्रालि धनगढीका डम्बर पालले भने, “बोलपत्रको शर्त पूरै मिलेमतोमा तयार गरिएको हो। ब्लक माग्नु ठीकै हो तर सियो धागो समेत मागियो। यहाँ त एम ३५ इन्टरलक कोब्बल कंक्रिट ब्लक मागेको छ।”

गाउँपालिकाले बोलपत्र आह्वान गरेपछि ९ वटा फर्मले प्रस्ताव पेश गरेका थिए। जसमध्ये लुम्बिनी ठोडुङ शिवखिम्टी जेटी मात्रै उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ। एक फर्मको मात्रै प्राविधिक प्रस्ताव उत्तीर्ण गरिएपछि झनै गाउँपालिकाको बोलपत्रमाथि आशंका गरिन थालिएको हो।

राजेन्द्र निर्माण सेवाका छवि साउँदले आफुहरु यतिधेरै निर्माण क्षेत्रमा काम गरेको तर पहिलो चोटी यस्तो शर्त राखेको पाएको बताए। “ब्लक त सवै राख्छन् नै तर हामीले बसपार्कमा गाडी गुड्ने ठाउँमा राख्ने ब्लक एउटा गाउँपालिकाका आँगनमा ब्लक राख्न नपाउँने हुन्छ त ?”

छनोटमा नपरेका निर्माण व्यवसायीहरुले पुनर्मुल्यांकनको लागि गाउँपालिका कार्यालयलाई निवेदन समेत दिएका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयको १७ करोड ६० लाखको लागतमा बर्दगोरिया गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । २ वर्ष निर्माण अवधी रहेको अस्पतालको लागि चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले १ करोड रुपौयाँ निकासा दिएको छ। जसको निर्माणको लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको हो। 

निर्माण व्यवसायीहरुले मिलेमतोमा बोलपत्र आह्वान गरेको बताइरहँदा गाउँपालिकाले भने विधि र प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेको र कुनै आर्थिक अनियमितता नभएको दाबी गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की निर्माण व्यवसायीहरुको गुनासोलाई केवल गुनासोको लागि गुनासो मात्रै रहेको बताए।

उनले भने, “आर्थिक र प्राविधिक सर्त गरी २ वटा छनोटका आधार हुन् । हामीले तोकिएको मापदण्डमा रहेर बोलपत्रको लागि शर्त राखिएको हो। यो त सवैले गर्छन्। हामीले प्रि बिडिङ्ग मिटिङ्ग पनि राखेका थियौ। तर त्यो मिटिङ्गमा निर्माण व्यवसायीहरुले त पनि गुनासो राख्नु भएन।  प्रि बिडिङ्ग मिटिङ्गमा आएको गुनासोको आधारमा पनि बोलपत्रका केही सर्तहरु राख्ने वा हटाउन पनि सकिन्छ। तर मिलेमतोको कुरै आउँदैन”

संघीय सरकारले देशका सबै स्थानीय तहमा १० देखि १५ शय्याको अस्पताल निर्माणको योजना अगाडि बढाएको छ। 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस