सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको आपतकालीन प्रयोगको अनुमति

२०७८ जेठ १९, ०७:२७ खबर संवाददाता

काठमाण्डौ – चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ।

चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ। चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ।

आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ। सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्छ।

डब्ल्यूएचओको अनुमतिसँगै यो खोप कोभ्याक्स सुविधा अन्तर्गत प्रयोग गर्ने बाटो खुलेको र यसले खोपको पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओको विश्वास छ। 

यो खोपले लक्षणसहितको सङ्क्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ। दुई देखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ।
 

कमेन्ट लोड गर्नुस