सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नयाँ शैक्षिक सत्र सञ्चालनमा अन्यौलता, विद्यालय तहको नतिजा सार्वजनिक गर्नै बाँकी

२०७८ जेठ १५, ११:५२ सरेन जैरू

धनगढीः असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरू गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएपनि धनगढी उपमहानगरपालिकामा विद्यालय तहको नतिजा सार्वजनिक गर्नै बाँकी रहेको छ। 

शिक्षा मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। तर गत शैक्षिक सत्रको कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा हुन नसक्दा नतिजा प्रकाशनमा अन्यौलता देखिएको हो। 

धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले कक्षा ८ को नतिजा सार्वजनिक गर्न मापदण्ड बनाएपनि अन्य कक्षाहरूका लागि कुनै सर्कुलर नपठाउँदा नतिजा सार्वजनिक गर्नमा समस्या भइरहेको विद्यालयहरूले बताएका छन्। 
गत शैक्षिक सत्रको कक्षा १ देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गर्न बाँकीनै रहेकाले शैक्षिक सत्र सुरू गर्नमा ढिलाई हुने देखिएको छ। 

प्याब्सन धनगढीका अध्यक्ष पदम साउँद धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले कक्षा ८ को नतिजा सार्वजनिक गर्न मापदण्ड बनाएपनि अन्य कक्षाहरूका लागि कुनै सर्कुलर नपठाउँदा नतिजा सार्वजनिक गर्नमा समस्या भइरहेको बताए। 

उपमहानरपालिकाले पहिलो र दोस्रो त्रैमासिक परीक्षाको अनुपातमा आन्तरिक मूल्याङकन गरि कक्षा ८ को नतिजा जेठ २० गतेभित्र प्रकाशन गर्न निर्देशन दिएको छ। र सोही अनुसार नतिजा प्रकाशनको तयारीमा विद्यालयहरू जुटेका छन्। 

तर अन्य कक्षाहरूको लागि भने निर्देशन जारी नभएकाले विद्यालयहरू कुन आधारमा नतिजा सार्वजनिक गर्ने भन्नेबारे अन्यौलमा रहेको अध्यक्ष साउँदले बताए। 

धनगढी उपमहानगरपालिकाले भने जेठ मसान्तभित्र नतिजा सार्वजनिक भएर असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरू हुने बताएको छ।  

धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव नरेन्द्र खातीले अन्य कक्षाहरूको नतिजा प्रकाशन गर्नका लागि समेत विद्यालयहरूलाई छिट्टै मापदण्ड दिने बताए ।

धनगढी उपमहानगरपालिका भित्र सामुदायिक र संस्थागत गरि २१० भन्दा बढी विद्यालयहरू छन्। कोरोना महामारी फैलिएसँगै यी विद्यालयहरूमा भौतिक रूपमा पठनपाठन हुन सकेको छैन। योसँगै इन्टरनेटका माध्यमबाट अनलाइलन कक्षा सञ्चालन गर्नुपर्ने देखिएको छ। 

तर एनप्याब्सनका कैलाली अध्यक्ष राजेन्द्र चापागाँइले इन्टरनेटको पहुँच सबै स्थानमा नभएको र खर्चिलोसमेत भएकोले अनलाइन कक्षा प्रभावकारी हुन नसक्ने बताए। 

कोरोना महामारी विकराल रूपमा फैलिएसँगै शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेको छ। शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो। यसपालि पनि वैशाखदेखि शिक्षण संस्था ठप्प छन्। 
मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। 


 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस