सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका अक्सिजन ग्यास उद्योग र पलान्टमा समस्या, सुधारको छैन योजना

२०७८ जेठ २, ११:३० कमल सावद

धनगढीः अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउदै आएका बेला धनगढीका उद्योग तथा प्लान्टको क्षमता विकास तथा स्तरोन्तीको कुनै योजना नबनाइएको पाइएको छ। 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी धनगढीका अस्पतालहरुमा अक्सिजनको अभाव रहेको छ। अक्सिजन सिलिण्डरको आपुर्तिमा केन्द्रित भएका सरोकारवाला अक्सिजन ग्यास उद्य्रोग तथा प्लान्टको क्षमता वृद्धिमा भने योजनाबिहीन देखिएका हुन्।


धनगढीमा उत्पादन थालिएको मालिका अक्सिजन उद्योग र सेती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा सीमित जनशक्ति छन्। तर जनशक्ति व्यवस्थापनतर्फ कसैको ध्यान पुग्न नसेको हो। साथै रातदिन सञ्चालन हुँदै आएका ती उद्योग र प्लान्टमा बेलाबेलामा प्राविधिक समस्यामा आउँदै गएको सञ्चालकहरुले बताउँदै आएका हुन्। त्यसतर्फ पनि ध्यान पुग्न नसकेको हो।

सेतीको अक्सिजन प्लान्ट ४ जनाको भरमा
दैनिक ५०÷६० सिलिण्डर मात्र अक्सिजन ग्यास उत्पादन गर्दै आएको प्लान्टको क्षमता विकास तथा अक्सिजन उत्पादनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा भने चासो देखाइएको छैन। सेती प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट ४ जनाको भरमा सञ्चालन हुँदै आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले क्षमता वृद्धि तथा स्तरोन्नतीका विषयमा छलफल नभएको बताए। 

सेती प्रादेशिक अस्पताललाई अक्सिजन भर्ने खाली सिलिण्डर मात्र सहयोग हुँदै आएको छ। तर अस्पतालमै उत्पादन हुँदै आएको अक्सिजन प्लान्टको क्षमता विकास गर्दै अक्सिजन ग्यास उत्पादन वृद्धिमा प्रभावकारी काम नभएको देखिएको हो। तर सेती प्रादेशिक अस्पतालमा ९० हजार किलोग्राम क्षमताको अक्सिजन सिलिण्डर जडानको प्रक्रिया भने थालिएको छ। बोलपत्र आह्वानपछिको प्रक्रिया थालिएको सूचना अधिकारी श्रेष्ठले बताए। 

धनगढीमा सञ्चालनमा रहेको मालिका अक्सिजन उद्योगले झण्डै एक सय ४० सिलिण्डर अक्सिजन २४ घण्टामा उत्पादन गर्दै आएको छ। सो उद्योगबाट अत्पादन हुँदै आएको एक सय ४० मा झण्डै ६० सिलिण्डर अक्सिजन सेती प्रादेशिक अस्पतालमै आपूर्ति हुँदै आएको छ। तर पनि सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका कोरोना संक्रमितहरुले अक्सिजन पाएका छैनन्।

मालिका अक्सिजन उद्योग स्थानीय प्रशासनको निगरानीमा भएपनि उत्पादनको क्षमता विकास र उद्योगका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम भने नभएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले उपकरणको क्षमता वृद्धिका लागि छलफल नभएको बताए। 

धनगढीमा उत्पादन हुँदै आएको अक्सिजन अनियमित विद्युत र उपकरणमा आउने प्राविधिक समस्याका कारण समेत उत्पादनमा कमी हुँदै आएको छ। सो कारण बाहेक जनशक्ति व्यवस्थापन समेत प्रमुख कारण मध्येको एक हो।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस