धनगढीको सैनिक अस्पतालमा संक्रमितको उपचार हुने, सञ्चालन गर्न प्रदेश सरकारले दियो ३० लाख
धनगढीः कैलालीको धनगढीमा नेपाली सेनाको अस्पतालाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने गरि तयारी बढाइएको छ।
यसअघि नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको अस्पतालमा अब भने कोरोनाका बिरामीको औषधोपचार गर्ने गरि तयारी अगाडि बढाइएको हो।
यतिबेला सुदूरपश्चिम प्रदेशका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन््। प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालले प्राङ्गणमा राखेर पनि कोरोना संक्रमितको उपचार गर्दै छ। प्रदेशमा कोरोना संक्रमण भयावह भएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको हो।
यहाँका अस्पतालहरु संक्रमितले भरिन थालेपछि प्रदेश सरकारले बैशाख पहिलो सातादेखि स्थान खोजीमा लागेको थियो। यसैबीच दिनेशखबरले निर्माधिन सैनिक अस्पताल सम्भाव्य उपचारको थलो बन्न सक्ने भन्दै समाचार सम्प्रेषण गरेको थियो।
नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अरु अस्पताल हुँदै गरेको बिरामीको चाप घटाउनलाई तीव्र गतिम तयारी अगाडि बढाएको जानकारी दिए। सुदूरपश्चिमका ४०÷५० हजार कोरोना संक्रमितलाई सेवा दिने लक्ष्य राखिएको उनको भनाइ छ।
सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम सरकार आग्रह गरेको थियो। सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सेवा सञ्चालन गर्न प्रदेश कोरोना कोषबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी गराए।
भौतिक संरचना निर्माण अझै पूर्ण नभएको, जनशक्ति र स्वास्थ्य सामाग्रीको अभावका कारण सञ्चालनमा ढिलाइ भएको सेनाले बताएको छ।
यसअघि निर्माधिन सो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध गराइने योजना नेपाली सेनाको थियो। खासगरि नेपाली सेनाले सेना र तिनका परिवारलाई मात्रै उपलब्ध गराउने योजना अनुसार बनाउन लागेको बताइएको थियो। अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भइरहेको हो।
सम्बन्धित समाचार
धनगढीमा उद्घाटनको तयारीमा सैनिक अस्पताल, कोरोना संक्रमितले पाउँछन् त उपचार ?