सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उद्घाटनको तयारीमा सैनिक अस्पताल, कोरोना संक्रमितले पाउँछन् त उपचार ?

२०७८ वैशाख १५, ०१:५० लखन चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना कहरले विकराल रुप लिएको छ।

प्रदेश राजधानी समेत रहेको कैलाली जिल्लाको समुदाय स्तरमा संक्रमण फैलिसकेको स्थानीय प्रशासनको निष्कर्ष छ। यहाँका अस्पतालहरु संक्रमितले भरिएपछि उपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएपछि बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ।

आइसोलेसनको लागि हालसम्म स्थान खोज्न नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार निरीह देखिएको छ। सेती प्रादेशिक आयुर्वेद अस्पताल र गेटा मेडिकल कलेजको नवनिर्मित भवनहरुलाई आइसोलेसनको लागि प्रयोग गर्न सहमति नदिइएपछि स्थानीय प्रशासन र प्रदेश सरकार निरीह देखिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले वैकल्पिक स्थानको खोजी कार्य जारी रहेपनि हालसम्म नपाएको दिनेशखबरलाई बताए।

यसैबीच नेपाली सेनाले धनगढीको बोराडाँडीमा निर्माण सम्पन्न गरेको तर उद्घाटनको तयारीमा रहेको अस्पताल यो कठिन अवस्थामा संक्रमितको उपचारको लागि वैकल्पिक उपचारको थलो बन्न सक्ने आशा व्यक्त गरिएको छ।

सेनाको उच्च स्रोतका अनुसार सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको हो।

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध गराइने नेपाली सेनाको योजना छ। खासगरि नेपाली सेनाले सेना र तिनका परिवारलाई मात्रै उपलब्ध गराउने योजना अनुसार बनाउन लागेको बताइएको छ।

तर हालको महामारीमा आमसर्वसाधारणले उपचार नपाइरहेको अवस्थामा केही दिनमै सञ्चालनको तयारीमा रहेको सो अस्पतालको सेवा महाकारी केन्द्रित हुनुपर्ने सुदूरपश्चिमवासीको माग छ।

सम्बन्धित समाचार
कैलालीमा जारी निषेधाज्ञामा के–के बन्द हुन्छन्, के सञ्चालन गर्न पाइन्छ ?
संक्रमण बढेपछि कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदै
सुदूरपश्चिम सरकार आइसोलेसन बनाउन असफल, ‘अक्सिजन चाहिने बिरामीे मात्रै अस्पताल आउनू’

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस