सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनको निष्कर्षः समुदाय स्तरमै संक्रमण फैलियो, ९ सय बढी संक्रिय संक्रमित देखिएपछि ‘निषेधाज्ञा’ !

२०७८ वैशाख १४, ०७:०४ खबर संवाददाता

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले समुदाय स्तरमा नै कोरोनाको संक्रमण फैलिसकेको बताएको छ।

बैशाख १६ गतेदेखि २२ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको बताएको हो। 

संक्रमण फैलिएसँगै सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढेको प्रशासनले बताएको छ। जुनकारणले कोरोना संक्रमणको सम्पर्क बिच्छेद गर्नलाई निषेधाज्ञा जारी गरिएको बताइएको छ।

मंगलबार यहाँका राजनीतिक दलसहित सरोकारवाला निकायबीचको छलफल र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसपछि जिल्ला प्रशासन कार्यालयले विहीबारदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको हो। 

व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दिनेशखबरलाई भने, “जिल्लामा संक्रमणको अवस्था कस्तो छ ? भनेर बुझ्नलाई हामीले आइतबार मालपोत कार्यालयमा एन्टीजेन परीक्षण गरेका थियौ। ३ जना कर्मचारी र १५ जना सेवाग्राहीको नमूना परीक्षण गर्दा ६ जना पोजिटिभ रिपोर्ट देखियो। सोमबार नापी कार्यालयमा पनि कर्मचारीसहित सेवाग्राहीको नमूना परीक्षण गर्दा त्यस्तै अवस्था देखियो। संक्रमित देखिएकाहरु भारतबाट आएका थिएनन्, उनीहरु गाउँघर, सहर बजारकै थिए।  यसबाट के देखियो भने, कोरोनाको संक्रमण भित्रभित्रै समुदायमा फैलिसक्यो।”

त्यस्तै, प्रजिअ रिजाले आफुहरु पहिलैदेखि समुदाय स्तरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन सचेतीकरण गर्दै आएको र त्यसको पालना नगरिएपछि लकडाउन गरिएको बताएको हो। 

यतिमात्रै होइन, नेपाल सरकारले कुनै पनि जिल्लामा ५ सय बढी संक्रिय संक्रमित रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सक्ने निर्देशनसँगै अधिकार दिएको छ। हालसम्म कैलाली जिल्लामा करीब ९ सय जना सक्रिय संक्रमित देखिएकोले निषेधाज्ञा जारी गरेको प्रजिअ रिजालको भनाइ छ।

जिल्ला प्रशासनले मंगलबार र बुधबार आवश्यक तयारीको लागि समय दिदै बिहीबारदेखि निषेधाज्ञा जारी गरेको बताएको हो।

त्यस्तै, कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरिएकाे छ। 

सम्बन्धित समाचार
कैलालीमा जारी निषेधाज्ञामा के–के बन्द हुन्छन्, के सञ्चालन गर्न पाइन्छ ?
संक्रमण बढेपछि कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदै

 

कमेन्ट लोड गर्नुस