सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको माया मेट्रो अस्पतालमा अक्सिजन र शय्या अभाव, बिरामी जोगाउनै मुस्किल

२०७८ वैशाख २८, ११:३९ विन्दु चन्द

धनगढी: धनगढीस्थित माया मेट्रो अस्पताल श्वासप्रश्वास सम्बन्धीका बिरामीहरुले भरीएको छ। कोरोना सम्बन्धी लक्षण भएका बिरामी मात्रै अस्पतालमा भर्ना भएको पाइएको हो। 

सरकारले निजी अस्पतालहरुलाई २० प्रतिशत जति कोरोनाका बिरामीहरुको उपचार गर्नुपर्ने भनेपछि निजी अस्पतालहरुले पनि कोभिडका बिरामीको उपचार थालेका छन्।  

माया मेट्रो अस्पतालले कोरोना संक्रमित बिरामी, सोसँग सम्बन्धित लक्षण भएका बिरामी र अन्य बिरामीहरुको छुट्टा छुट्टै वार्डमा उपचार गरिरहेको छ। बिरामीहरुको संख्या एकदमै बढेपछि अहिले भुइँमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था आएको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए। 

उनले भने, ‘कोभिड बाहेकका अन्य बिरामी कोही पनि छैनन्। अस्पताल कोभिडका बिरामी र सोसँग सम्बन्धित लक्षण भएका बिरामीले मात्रै भरिएको छ।’ एउटै वार्डमा कोभिड र ननकोभिडका बिरामीलाई राखेर उपचार गर्न जटील रहेका उनले बताए। 

सुदूरपश्चिममा अक्सिजन प्रयाप्त रुपमा आपूर्ति नहुँदा बिरामीको ज्यान जोगाउनै मुस्किल भइरहेको उनले बताएका छन्। अध्यक्ष साउँदले भने, ‘हामीसँग जनशक्तिको अभाव भने छैन तर पर्याप्त अक्सिजन नहुँदा उपचारमा समस्या धेरै समस्या भइरहेको छ।’ 

नेपालगञ्जबाट अक्सिजन मगाउने गरिएकोमा पछिल्लो समय त्यहाँबाट पनि अक्सिजन आउन बन्द भएपछि झनै गारो भएको बताइएको छ। अहिले माया मेट्रोमा दैनिक ४० देखि ५० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ।

तर अस्पतालले ३/४ दिनको अवधिमा १५/१६ थान अक्सिजन सिलिण्डर मात्रै पाइरहेको छ। ‘अहिले निजी अस्पतालहरुमा अक्सिजनको मात्रा शुन्य छ, मुख्य समस्या अक्सिजनको छ’ माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउँद भन्छन्, ‘आइसीयूमा पनि राखेर के गर्नु जब अक्सिजन नै छैन भने। मृत्यु दर बढ्नु पनि अक्सिजन अभावकै कारण हो।’ 

अस्पतालमा बेड र अक्सिजन अभाव हुँदा कोरोना बाहेकका अन्य बिरामीहरु अस्पताल आउन डराइरहेका छन्। एउटै संरचनामा कोभिड र ननकोभिडका बिरामीको उपचार गर्नुपर्दा यसले कोरोना झन फैलिरहेको छ।

उनले भने, ‘यसका लागि प्रदेश र स्थानीय सरकारसँग पनि भनिएको हो, कोभिड र नन कोभिडका बिरामीलाई छुट्याएर अलग्गै व्यवस्थापन गरे संक्रमण कम हुने र अन्य बिरामीहरुले पनि सहज रुपमा उपचार पाउने भनेर तर के गरिरहेका छन् थाहा छैन्।’ 

सरकारले कोरोना र अन्य बिरामीहरुका लागि छुट्टा छुट्टै व्यवस्थापन गरिदिए अन्य बिरामीहरुले पनि सहजरुपमा उपचार पाउने र भयावह स्थिती हुनबाट जोगिने बताइएको छ।

‘सरकारले कोरोना र अन्य बिरामीहरुका लागि छुट्टा छुट्टै व्यवस्थापन गरिदिए  निजी अस्पतालहरुबाट हुने सहयोग गर्न सम्पूर्ण जिम्मेवारी वहन गर्न तयार छौँ’ अध्यक्ष साउँद भन्छन्, ‘आफुहरुसँग भएको जनशक्ति र स्रोतसाधनको अभाव हुन दिदैनौँ।’ 

अहिले माया मेट्रो अस्पतालमा १० जना कोरोना संक्रमित, कोरोनासँग सम्बन्धित लक्षण भएका १० जना र अन्य गरी ४० जना बिरामीहरु उपचाररत छन्। 

यस्तै ६ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १० जना संक्रमित निको भएर घर फर्किएका छन्। यस्तै अक्सिजन अभावकै कारण माया मेट्रो अस्पतालमा हालसम्म ४ जना संक्रमितले ज्यान गुमाएका छन्। 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस