कञ्चनपुरमा साढे पाँच लाख बढीको अवैध सामान बरामद, भन्सार पठाइयो
धनगढीः कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली भित्र्याइएका साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले इलाका प्रहरी कार्यालय बेलौरीबाट मोबाइल थानका डिस्प्ले, पानी तान्ने मोटरलगायतका सामान बरामद गरेको छ। उक्त सामानको मूल्य ५ लाख ३३ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट पावर कन्ट्रोल बोर्ड, कन्ट्रोल प्यानल बक्स, फ्रिजको थर्मोस्टेट र प्लास्टिक पोलिथिनलगायतका सामान बरामद गरिएको छ। ती सामानको मूल्य १९ हजार ४२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी, वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट १३ हजार ३५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
प्रहरीका अनुसार तीन स्थानबाट बरामद गरिएका सामानको कुल मूल्य पाँच लाख ६५ हजार रुपैयाँ रहेको छ।