सेती अस्पतालमा जे देखियो
सोमबार बिहान सेती प्रादेशिक अस्पताल पुग्दा त्यहाँको इमर्जेन्सी वार्डभित्र जाने गेटमै कोरोना संक्रमणबाट मृत्यु भएका एक जनाको शव राखिएको थियो।
सो गेटबाट थुप्रै मान्छे आवतजावत गरिरहेका थिए। उक्त शव बिहानदेखि त्यहाँ राखिएको थियो। शव राखिएको बेडमुनी एक व्यक्ति सुतिरहेका थिए। उनी त्यो मृतक शरीरका आफन्त होइनन्।
सडकमा घाइते अवस्थामा फेला पारी कसैले उनलाई त्यो ठाउँमा ल्याएर छोडिएको भनेर त्यहाँ रहेकाहरु बताउँदै थिए।
ती पुरुष बेहोश अवस्थामा थिए। सायद उनले मदिरा सेवन गरेका थिए कि ? उनको नाक र मुखमा रगत लागेको थियो। तर त्यही बाटो भएर भित्र-बाहिर गरिरहेकामध्ये कसैले पनि उनको वास्ता गरेका थिएनन्।
सोही बाटो भएर डाक्टर नर्स पनि हिँडिरहेका थिए। तर कसैलाई पनि त्यो विषयमा चासो थिएन।
अहिले प्राय अस्पतालमा यस्ता हृदयविदारक तस्बिरहरु देख्न सकिन्छ। शय्या कम हुँदा एउटै बेडमा २/२ जना संक्रमितलाई राखिएको छ। यस्तो अवस्था देख्दा त्यहाँ आउनेहरुको पनि मानसिकतामा असर पर्छ।
एकातिर संक्रमणले भयावह रुप लिइरहेको छ भने अर्कोतिर लापरवाही पनि छ। शवहरु जहाँको त्यहिँ राखिने गरिएको छ। सरकार निरिह र मुकदर्शक बनेको छ।
यस्तै अवस्था र यस्तै लापरवाही भइरह्यो भने संक्रमण र मृत्यु दर उच्च बिन्दुमा पुग्छ। सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिन जरुरी छ।