सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम फेरिँदा चिन्तामा किसान

२०८३ कार्तिक १३, ०४:०१ लक्ष्मण ढुङ्गाल

धनगढीः धानबाली भित्र्याउने चटारोमा रहेका सुदूरपश्चिमका किसानलाई मौसमले तनाव थपेको छ। आकाशमा बाक्लो बादल लागेपछि खेतमै रहेको पराल र थ्रेसर गरिसकेको धान वर्षाबाट कसरी जोगाउने भन्ने चिन्ता बढेको हो। धनगढीका शिब्लु रानाले धान भित्र्याइसकेका छन्। तर, थ्रेसर गरेको पराल अझै खेतमै छ। घाम लागेपछि पराल घरमा थन्क्याउने तयारीमा रहेका उनलाई मौसम फेरिएसँगै वर्षा हुने हो कि भन्ने चिन्ता लागेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि पराल व्यवस्थापन गर्न बाँकी रहेकाले समस्या थपिएको उनी बताउँछन्।

किसान अनिफुल रानाको समस्या पनि उस्तै छ। खेतमा रहेको पराल व्यवस्थापन गर्न पाएकी छैनन् भने थ्रेसर गरिसकेको धानसमेत सुरक्षित रूपमा घरमा राख्न सकेकी छैनन्। वर्षा भए धान र पराल दुवै भिजेर बिग्रिने चिन्ताले उनलाई सताएको छ।

बिहीबारसम्म सामान्य रहेको मौसम शुक्रबार बिहानैदेखि बदली भएको छ। आकाशमा बादल मडारिएपछि किसानहरू धान र पराल जोगाउने उपायको खोजीमा छन्। खेतमा काट्न बाँकी रहेको धानसमेत भित्र्याउनुपर्ने अवस्थामा मौसम अनिश्चित बनेपछि उनीहरू थप समस्यामा परेका छन्।

मौसम पूर्वानुमानको फिल्ड कार्यालय अत्तरियाका अनुसार शुक्रबारदेखि आइतबारसम्म मौसम बदली रहने सम्भावना छ। ठूलो वर्षा र बाढीको सम्भावना नरहे पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमको अवस्थालाई ध्यानमा राख्दै केही दिन काट्न बाँकी रहेको धान तत्काल नकाट्न शाखाले किसानलाई आग्रह गरेको छ।

धानबाली भित्र्याउने मुख्य समयमा मौसमले साथ नदिँदा किसानको चिन्ता बढेको छ। समयमै घाम नलागे खेतमा रहेको पराल सुकाउन र थ्रेसर गरिसकेको धान सुरक्षित रूपमा भण्डारण गर्न कठिन हुने देखिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस