सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज ‘आइसोलेसन निर्माण’मा ‘जस लिने’हरुको होडबाजी

महामारीमा स्वार्थको राजनीति

२०७८ वैशाख १९, ११:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण विकराल रुप लिएको छ। अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। विरामीले उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ। 

अर्कोतिर आइसोलेसन तथा अस्पताल बनाउने नाममा जस लिनेहरुको हानथाप चुलिएको छ। खागगरि भरपर्दो आइसोलेसन सेन्टर निर्माण तथा विरामीको उपचारमा ३ तहको सरकारबीच आपसी समन्वय भन्दा पनि यतिबेला जस उपजस लिनेमा केन्द्रित देखिएको हो। नेकपा एमालेभित्रको आन्तरिक कहलको प्रत्यक्ष असर सुदूरपश्चिममा कोरोना रोकथाम तथा व्यवस्थापनमा देखिएको छ।

प्रदेश सरकारको असफल प्रयास
बैशाख पहिलो सातादेखि सुदूरपश्चिममा संक्रमणको दर उकालो लागेको हो। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल र महाकाली अस्पतालको कोरोना वार्ड भरिएपछि वैकल्पिक व्यवस्थाको लागि स्थान खोजी कार्य सुरु भएको छ।

बैशाख अगाडिसम्म कोरोना संक्रमणदर घटेपछि व्यवस्थापनमा सुस्ताएको प्रदेश सरकार कोरोना संक्रमणदर बढेपछि स्थान खोजीमा लागेको हो। १ करोड ४९ लाखको लागतमा निर्माण हुने ५० शय्याको भवन निर्माणको लागि प्रदेश सरकारले गत पुस महिनादेखि नै प्रक्रिया थालेको थियो। तर चरम ढिलासुस्तीका कारण निर्माण कार्य बैशाख १ गतेदेखि मात्रै थालिएको हो। भएको अस्पतालको शय्या भरिएपछि र निर्माण थालिएको भवन नबन्ने छाँट देखिएकाले प्रदेश सरकार अत्तालिएर वैकल्पिक स्थान खोजीमा लागेको हो। तर यो रिपोर्ट तयार पार्दासम्म प्रदेश सरकारले भरपर्दो स्थान खोज्नमा पूर्णरुपमा बिफल रह्यो।

वैकल्पिक स्थानको रुपमा प्रदेश सरकारले कैलालीको गेटामा निर्माधिन गेटा मेडिकल कलेजको भवन र प्रादेशिक आयुर्वेदिक अस्पताल भवन छनोट गरेको थियो। तर सुरुवाती अवस्थामा मेडिकल कलेजको भवन प्रयोग गर्न गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले सहमति नदिएपछि निरीह देखिएको थियो।

हाल शिक्षा मन्त्रालय मातहतमा रहेको मेडिकल कलेज भवन प्रयोगको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ। मेडिकल कलेजको भवनमा आइसोलेसन र होल्डिंग सेन्टर निर्माणको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिइएको हो।

सीसीएमसीको निर्देशन अनुसार आइतबारदेखि आवश्यक पूर्वाधार व्यवस्थानमा लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दिनेशखबरलाई बताए। उनका अनुसार जसको व्यवस्थापनको लागि प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गरेको उल्लेख गरे।
तर मेडिकल कलेजको भवन प्रयोग सम्बन्धी सीसीएमसीको निर्देशनबारे प्रदेशको सामाजिक विकास मन्त्रालय अनविज्ञता प्रकट गरेको छ।

सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले दिनेशखबरसँग भने, “मेडिकल कलेज भवनको लागि सुरुदेखि हामी पहल गरिरहेका थियौ। व्यवस्थापनको लागि अधिकारी तोकेर जिम्मेवारी पनि दिएका थियौ। तर व्यवस्थापनको लागि हाल जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन आएको सुनेका छौ। हामीलाई खबर छैन।”

यो महामारीमा प्रदेश सरकारको भुमिका प्रभावहीन पार्ने राजनीतिक खेल भइरहेको ती अधिकारीको आशय थियो।

एमालेको झगडा आइसोलेसनमा
नेकपा एमालेको आन्तरिक कलह चुलिएको बेला कोरोना महामारीले विकराल रुप लिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टले गरिरहेका छन्। जसको सत्ता साझेदारी नेकपा एमालेको माधव नेपाल समूहले गरिरहेको छ। नेकपा एमाले ओली समूह संख्यात्मक हिसाबले कमजोर छ।

संघीय सरकार तथा सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मेडिकल कलेजमा निर्माण हुने आइसोलेसनमा प्रदेश सरकारको भुमिका निष्प्रभावी गर्ने रणनीतिमा लागेको स्रोतको दाबी छ।

उक्त कुरा केही दिन अगाडि सामाजिक सञ्जालमा ओली पक्षीय नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा “संघीय मन्त्री लेखराज भट्टको पहलमा निर्माणाधिन गेटा मेडिकल कलेजमा निर्माण हुन लागेको अस्थायी कोरोना अस्पताललाई प्रदेश सरकारले सहयोग गर्ला त ?” भनेर दिएको अभिव्यक्तिले पुस्टि गर्छ। 

केही दिनयता धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको पहलमा काम भइरहेको भनेर दाबी समेत गरिन थालिएको छ।

यतिबेला महामारीसँग जुध्न ३ तहका सरकारबीच आपसी समन्वय हुनुपर्नेमा कामको श्रेय लिने होडबाजी बढेपछि आमनागरिकलाई निराश बनाएको छ। योसँगै महामारीकाबीच विरामीको उपचारमा भोक निन्द्रा नभनी खटिने चिकित्सकलाई समेत निराश बनाएको हो।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले भने, “यो इमरजेन्सीको अवस्था हो। यो बेला सरकार बढी सक्रिय हुने हो। धनगढीमा सार्वजनिक भवन नभएको पनि होइनन्। तर इच्छा शक्ति देखिएन। गेटामा आइसोलेसन निर्माणमा पनि धेरै ढिला भयो। भिभिन्न बहानाबाजी गर्ने काम मात्रै भएको छ। सरकारहरुको आन्तरिक स्वार्थ धेरै छन् यहाँ।”


 

कमेन्ट लोड गर्नुस