सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित बढ्दै गएका बेला सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको अभाव हुने संकेत

२०७८ वैशाख ११, ०९:३७ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएका बेला कोभिडका बिरामीको उपचारमा नभइ नहुने अक्सिजनको अभाव हुने संकेत देखिएको छ। 

प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन उत्पादन प्लान्ट भएपनि अक्सिजन आवश्यक पर्ने श्वासप्रश्वासका बिरामीको चाप बढे अहिलेको उत्पादन क्षमताले धान्न कठिन हुने देखिएको छ।

प्रदेशमा सेती र डडेल्धुरा अस्पतालमा मात्रै  अक्सिजन उत्पादन गर्ने युनिट जडान गरिएको छ। कोभिड–१९ को उपचारमा अक्सिजन थेरापी अनिवार्य हुनेमा चिकित्सकहरुले एक वर्षदेखि जोड दिँदै आएका छन्। तर प्रदेशका सरकारी अस्पतालहरुको अक्सिजन उत्पादन क्षमता निकै कमजोर रहेको पाइएको छ। 

नेपालसँग सीमा जोडिएका भारतको उत्तरप्रदेश र उत्तराखण्ड आसपासका क्षेत्रमा बढेको कोभिड–१९ महामारीबीच अक्सिजन अभाव भएको खबरले सुदूरपश्चिमवासी समेत चिन्तित भएका छन्। 

सुदूरपश्चिममा प्रदेशमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लागेसँगै उपचारको प्रभावकारी साधन अक्सिजनको उपलब्धताबारे चासो व्यक्त गरिएको छ। प्रदेशको एक मात्र रेफरल अस्पताल सेतीमा समेत कोरोनाको विरामी ह्वात्तै बढे अहिलेको अक्सिजनको आपूर्तिले धान्न कठिन हुने बताइएको छ। 

‘सेती प्रादेशिक अस्पतालमा अक्सिजन जेनेरेट गरिन्छ। अहिले दैनिक ४७ लिटरका १२ सिलिण्डर उत्पादन भइरहेको छ। अक्सिजनको सप्लाइ पाइपबाट १ सय ५० बेडमा समेत गरिएको छ’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘अहिले अस्पताल अक्सिजनमा आत्म निर्भर भएपनि कोभिडको विरामी बढेमा भने समस्या हुन सक्छ।’

धनगढीको सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा सिमित मात्रामा अक्सिजन उत्पादन हुने गरिएको भएपनि प्रदेशका अन्य अस्पतालहरुमा भने अक्सिजनको आपूर्ति बाहिरबाट गर्नुपर्ने बाध्यता रहेको अधिकारीहरुले जनाएका छन्।

सुदूरपश्चिमको धनगढीमा निजीस्तरमा मालिका अक्सिजन उद्योग सञ्चालनमा रहेको छ। त्यो उद्योगले दैनिक १ सय ५० देखि २ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने गरेकोे उद्योगका व्यवस्थापक नरेश शाही बताए। 

‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा हाम्रो कम्पनीको डिलरहरु छन्। पहाडी जिल्लाको अस्पतालमा पनि लग्ने गरेका छन्’ उनले भने, ‘केहि दिनदेखि अक्सिजनको माग बढेको छ। तर हाम्रो अधिकतम उत्पादन क्षमता भने दैनिक २ सय सिलिण्डर हो।’ प्रदेशका अस्पतालहरुको माग धनगढीको उद्योगले मात्रै नधान्ने भएकोले नेपालगञ्जबाट समेत आयात गरिदै आएको उनी बताउँछन्। 

प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट खरिद गरेर जडान गरेको भनेपनि सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छैन। जडान भएका अस्पतालमा पनि त्यो युनिटबाट दुईजनाका लागि मात्रै अक्सिजन उत्पादन हुने गरेको बताइएको छ। 

सेतीपछि डडेल्धुरा अस्पतालमा अक्सिजन उत्पादन युनिट रहेको तर त्यसको क्षमता पनि निकै थोरै रहेको बताइएको छ। ‘डडेल्धुरा अस्पतालले पहाडी जिल्लाका अन्य अस्पतालको माग समेत पुरा गरिरहेको छ। तर कोभिडको विरामीको संख्या अस्पतालमा बढेको अवस्थामा भने अन्य अस्पताललाई अक्सिजन दिन सकिन्न होला’ अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले दिनेशखबरलाई बताए।

सुदूरपश्चिम प्रदेशमा सेती प्रदेशिक अस्पतालमा मासिक ३ सय ६० सिलिण्डर, मालिका अक्सिजन उद्योगले औसत ४ हजार ५ सय र नेपालगञ्जबाट २ हजार सिलिण्डर अक्सिजन आयात गरेर खपत हुने गरेको बताइएको छ। 

सामान्य अवस्थामा सुदूरपश्चिममा हरेक महिना ९८ हजार ८ सय ६० लिटर अक्सिजन खपत हुने अनुमान गरिएको बेला सयौँ कोरोनाका विरामीलाई अक्सिजनको सहायतामा राख्नुपर्ने अवस्था आए अक्सिजनको हाहाकार हुने सम्भावना देखिन्छ।


 


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस