H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार ११:२१
Apr 18 2021, Sunday
11:21:00 AM

महिला हिंसा

विज्ञापन
२०७७ चैत्र ०४:५१
अ+

–मञ्जु जोशी 

महिला हिंसा भन्नाले महिलाको जन्मपूर्वदेखि मृत्यु नहुञ्जेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्व व्यवहार, शोषण, शारीरिक, मानसिक तथा यौनिक यातनाहरु र दुव्र्यवहारलाई बुझाउछ। 

हिंसा लिङ्गमा आधारित हुनुका साथै महिला भएकै कारण महिलाहरूले हिंसाको सिकार  बन्नुपरेको छ। यस्ता महिला हिंसा महिलाविरुद्ध महिला र पुरुष दुवैले गर्ने गर्दछन्। यसले समाज विकासको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। महिलाको भौतिक संरचनालाई आधार बनाएर समाजका केही व्यक्तिहरु महिलाको प्रगतिमाथि बाधक बनेका छन्।

नेपालीको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन्। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलाहरुलाई असमान बनाएकै छ भने देशमा विद्यमान भएका कानुन बमोजिम दोषीलाई कारवाही नभएर पनि हिंसाका घटना भइरहेका छन्।

प्राचीन कालदेखि नै बलत्कार, यौनहिंसा, बलात्कारपछि हत्या तथा घरेलु हिंसा जस्ता थुप्रै महिलाविरुद्धका हिंसाहरु हुने गरेको पाइन्छ। नेपाल पुरुषप्रधान समाज भएकाले महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने गरेको पाइन्छ। 

महिलाहरुले दाईजो नल्याएका कारण यातना सहनुपर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगारी, मानसिक यातना, गाली गलौज, जवरजस्तीकरणी, वैवाहिक बलात्कार, चेलीबेटी बेचबिखन र ओसारपसार, हाडनाताकरणी, बलत्कारपछि हत्या, वैदेशिक रोजगारीको नाममा ठगी, यौन शोषण, यौन दुराचार आदि जस्ता हिंसात्मक कार्यहरुले समाज अछुतो बन्न सकेको छैन। 

नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३८ मा महिला हक सम्बन्धी कानुनी रुपमा व्यवस्था गरिएपनि ती पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। विश्व समुदायमा नै महिलाले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरु सहनु पर्ने बाध्यात्मक परिस्थिति रहेको छ।

महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय १६ दिने अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बर्सेनि विभिन्न कार्यक्रमहरु चलिरहेका छन्। तर पनि महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन्। यसको मुख्य कारण पितृसत्तात्मक समाजिक संरचना, परम्परागत रुढीबादी सोचका साथै अन्य विभेदकारी सामाजिक संरचनाले गर्दा महिलाहरु सामाजिक ,आर्थिक र राजनीतिक तथा सांस्कृतिक रुपमा पछाडि परेका छन्।

नेपालीको सन्दर्भमा भन्नुपर्दा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, जातजाति, धर्म, भेषभूषा, भौगोलिक परिवेश, राजनैैतिक, शैक्षिक, निर्णय प्रक्रिया आदि हरेक क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका छन्।

प्रहरीको तथ्यांकले विगत ५ आर्थिक वर्षमा नेपालमा ८ हजार भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलत्कारको प्रयासका घटना भएको देखिन्छ। सो अवधिमा झन्डै ६० हजार  घरेलु हिंसाका घटनाहरु भएको तथ्यांकले देखाएको छ।

महिला हिंसा हुनुका प्रमुख कारणहरु:
१.  महिला कमजोर हुन्छन्। 
२.  महिलाहरु मनोरञ्जनका साधन हुन, जे गरेपनि हुन्छ भन्ने सोच।
३.  महिलालाई विहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याउनु हो। 
४.  महिलाहरु घरको काम गर्न मात्रै  योग्य हुन्छन्। 
५.  अरुले भनेको काम हरेक महिलाले गर्नै पर्छ।
६.  महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुन्छन्, आदि जस्ता यावत कारणहरुले गर्दा महिलामाथि हिंसा हुने गरेको पाइन्छ।

नेपालमा जसरी राणाकालिन समाजबाट प्रजातान्त्रिक हुदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समाज भयो त्यसरी नै महिला हिंसा  पूर्णरूपमा अन्त्य गरी महिला हक र अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ। 

सभ्य सुरक्षित र चेतनशील समाजको निर्माण गर्न स्तम्भको रुपमा महिलालाई लिनुपर्दछ। राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व गर्नु पर्दछ। महिला हिंसाविरुद्ध नारा अभियान र राज्यले महिला सम्बन्धी दिर्घकालीन नीति तथा योजना बनाई नतिजामुखी कार्यान्वयन गर्नु आवश्यक छ।

(लेखक जोशी पूर्चाैडी नगरपालिका–७ बैतडी निवासी हुन्।)

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad