सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीको ब्रान्डिङ शुरु

। फोटो स्रोत ।
२०७७ फाल्गुन २५, ०६:०९

सिद्धार्थनगरः बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ। 

लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र लोगोलाई अन्तर्राष्ट्रियरूपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकार भएकाले बताएका छन्। 

लुम्बिनीसँग सरोकारी सङ्घसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारहरूबीच रुपन्देहीको टाइगर प्यालेसमा आज भएको कार्यक्रममा लुम्बिनीका लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो। प्रस्ताव गरिएअनुसार बुद्ध रङ, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्ध धर्मसँग सम्बन्धित विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ। उक्त प्रस्तावित लोगोमाथि अन्तरक्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदै लोगोको अक्षर रञ्जना लिपिमा राखेमा अझै प्रभावकारी हुने बताएका छन्। 

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताए। उनले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृतरूपमा लुम्बिनीको प्रवद्र्धनमा लाग्नुपर्नेसमेत बताए। डा.गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्ने गरी छलफल भएकोसमेत बताए। उनले लुम्बिनीमा आएर बच्चा जन्माउँदा जन्मिने बालबालिकामा बुद्धको जस्तै केही भाव, प्रकृति देखिने विश्वासका साथ प्रचारप्रसार गरेमा विश्वभरिका आमाहरू आफ्ना सन्तान जन्माउन लुम्बिनी आउने बताए। 

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। केसीले लुम्बिनीको ब्रान्डिङपश्चात् पर्यटन प्रवद्र्धनमा अझै सफलता प्राप्त हुने बताए। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन विशेष योजना ल्याउनुपर्ने बताए। उनले लुम्बिनीको प्रवद्र्धनका लागि पर्यटन बोर्डले सबैको सहकार्य र सुझावलाई अङ्गीकार गर्दै ब्रान्डिङ गर्न थालेको बताए।

उनले चारवटा अवधारणमा पर्यटन बोर्डले लुम्बिनी क्षेत्रमा काम गर्ने पनि बताए। उनले भने, “स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुञ्जहरूमा कार्यक्रम गराउने तथा हिल स्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्नुपर्छ।”  नेपाल एसोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्व लुम्बिनीको ब्रान्डिङपश्चात् अझै बढेर जाने बताए।


पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले लुम्बिनीको अहिलेसम्म ब्रान्डिङ नभएको बताउँदै भने, “जसरी थाइल्यान्डको एमाइजिङ थाइल्यान्ड, भारतको अतुल्य भारत, मलेशियाको मलेशिया इज ट्रुरली एशिया र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोको विषयमा गरिएको छलफलले कोरोना कहरपछिको पर्यटन पुनरोत्थानमा ठूलो योगदान दिनेछ।” 

कार्यक्रममा पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा.सञ्जीव हुमागार्इं, भिक्षु मैत्रेय, भारतस्थित एसोसिएशन अफ बुद्धिस्ट टुर अपरेटर (आब्टो) का महासचिवसमेत रहेका भारतीय पर्यटन व्यवसायी डा.कौलेश कुमार, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले लुम्बिनीको ब्रान्डिङमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस