फलानाकी छोरी र ढिस्कानाकी श्रीमती हुनुपूर्व ‘म’ बन्नुस्
-एलीजा भारती
वर्षमा एक दिन महिला दिवस मनाएर ३६४ दिन फलानाको छोरी र ढिस्कानाकी श्रीमती भन्दै चिनिएर नारिवादको कुरा गर्नु नारी दिवसको उपलब्धि होइन।
नारी दिवस सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धि गराउन र महिला हकहितका लागि लैंगिक समानता ल्याउन मनाइन्छ। सामाजमा रहेका कुरिती, कुप्रथा र अन्धविश्वास हटाई महिलाले आफ्नो रचनात्मक कार्य देखाउन तथा महिला सशक्तिकरण गर्न विश्वभर मनाइने हुँदा नारी दिवसको आफ्नै महत्व छ।
१९०८ मा न्यूयोर्कमा लैंगिक असमानाताकै कारण ‘छोटो समयमा राम्रो आम्दानी’ भन्ने माग राख्दै सामाजिक पार्टी खोलेर १९०९ मा पहिलो राष्ट्रिय नारी दिवस मनायो।
१९१० मा कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला मजदुर सम्मेलनको विचार राखेर जर्मनकी क्लेरा जेटकिटको नेतृत्वमा सामाजिक लोकतान्त्रिक पार्टी खोलेर अन्तर्राष्ट्रिय नारी दिवस पहिलोपटक जर्मन, डेनमार्क, स्विजरल्याण्ड र अष्ट्रियामा १९ मार्चमा मनाइयो। भने, १९१३ र १९१४ मा रशीयाले फेब्रुअरी १९मा मनायो। अन्ततः १९७५ मार्च ८ बाट संयुक्त राष्ट्रमा पहिलोपटक महिला दिवस मनाइयो।
आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस ‘नेतृत्वमा महिला ः कोभिड–१९ को संसारमा समान भविष्य’ भन्ने नाराका साथ विश्वभरी मनाइँदै छ। त्यसैगरी नेपालमा पनि राष्ट्रिय नारा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक उपलब्धीहरुको सम्प्रेषण गरेर कार्यक्रम गरिदैछ।
पुरुषप्रधान हाम्रो समाजमा महिलालाई शारिरिक रुपमा कमजोर हुन्छन् भन्दै सामाजिक, आर्थिक र राजनीतिक कुरामा पछाडी राखेको देखिन्छ। २१औं शताब्दीमा आएर पनि लैंगिक असमानताकै कारण कतिपय ठाउँहरुमा कामको मुल्यांकन नगरिकनै तुलना गरिन्छ।
‘उ केटी हो, महिला हो, उसको हातबाट हुदैन, उसको काम चुलोचौका समाल्ने हो’ भन्दै बच्चा जन्माउने मशिनको रुपमा नारीलाई लिइन्छ।
कुनैपनि काम गर्न अवसर र अनुकुल वातावरण भए पुग्छ तर शारिरिक बनोटकै आधारमा हामी कसरी नारीलाई मुल्यांकन गर्न सक्छौ ? त्यस्तो मुल्यांकन गर्न न कुनै वैज्ञानिक तथ्य छ न कुनै प्रमाण। त्यसैगरी प्रसुति हुँदा ३०० हड्डी टुटे बराबरको पिडा सहन सक्ने क्षमता, महिना पिच्छे महिनावारी हुँदाको पिडा सहने सहनशीलता भएकालाई हामी कसरी कुन रुपले मुल्यांकन गर्न सक्छौ ?
सबैभन्दा आज्ञाकारी उपाधि महिलाले पाउँछ। परिवारिक निर्णयमा कहिले नाइँ भन्न नपाउने भएकाले छोरी होस् कि बुहारी आफ्नो बिचार हैन परिवारिक मानमर्यादा भन्दै अरुकै भरमा बच्नुपर्ने ? लुगा छोटो भयो, मोटी भइस फिट हो, काली भइस, कम बोल, जोरले हास्नु हुन्न, भन्दाभन्दै जान्छ जिवन। बोल्यो, नारीवादी आइस रे ! पढ्यो, ए चस्मीस के नै गर्छिस् पढेर आखिर अर्काको घर गएर भाडा नै माझने होस् रे !
अलिबढी लिपस्टिक लायो ओए हिरोइन नक्कली रे ! घर आउन अलि ढिला भयो चरित्रहीन रे ! अनि कहाँ छ महिला स्वत्रन्त्रता ? कहाँ छ सम्मानपूर्वक जिउन पाउने अधिकार ?
छिटै बिहे गरे बैस चढेछ, ढिलो गरे आन्टी रे, पुरुषले अर्को बिहे गरे उ त केटा हो रे ! महिला सानैमा विधवा भएर पनि एउटा नाम जप्दै जिन्दगीभर बोक्सी, अल्छिना भन्दै तिरस्कृत भएर बाच्नुपर्ने ?
बिहेपछि महिलाले मात्र घर छोड्नुपर्ने, थर परिवर्तन गर्नुपर्ने ? दिनभरी दुवै जना अफिसमा बराबरी काम गर्ने भएपनि घर आएर महिलाले नै चुलोचौको गनुपर्ने ? वा रे वा लैंगिक समानता।
छोरा पढाउन ऋण निकाल्ने हाम्रो समाज छोरीको बिदाई गर्न ऋण निकाल्छ। जहाँ एउटा महिला शिक्षित भए पुरै परिवार नै शिक्षित हुन्छ भन्ने थाहा हुदैन की ? किन विभेद ?
छोरीलाई बाहिर नजा लुगा छोटो भयो भनेर गालि गर्नु अघि किन छोरालाई सोधिन्न यति रातिराति कहाँबाट आइस ? चोकचोकमा बसेर सिट्टी बजाइस ? भनेर।
हुन त भन्ने बेला ३३ प्रतिशत आरक्षण दिएको छौं, पढाई जागिर होस या बसको सिटमा महिला आरक्षण दिएका छौं फेरि के चाहियो ? भन्ने। लेडिज फस्ट भनेर भनेकै छौ तर पनि हामी पुरुषहरु भिलेनको भिलेन नै रहे किन भन्ने होलान ? अनि हामी महिलाले सिट भिख मागेको हैन बस् पुरुष साथमा हुँदा सुरक्षित अनुभव होस् भन्ने चाहाना हो।
महिलाको जितलाई आफ्नो हार नसम्झनुस। उसको जिन्दगीमा आफ्नो अधिकार मात्र छ नसम्झनुस। उ बराबरी चाहान्छे भिख हैन। लेडिज फस्ट भनेर आरक्षण हैन शोषण, दमन, दुव्र्यवहार, उत्पीडन र हेर्ने नजरिया बदलिदिए पुग्यो।
आफुभन्दा कम न ज्यादा ‘महिला पुरुष एक रथका दुइ पाँग्रा’ भन्ने बुझिदिनुस। जति अगाडी तिमी बढ्न चाहान्छौ उत्तिकै उसको पनि हिस्सा लाग्छ र आफ्नो भागको पाउदा उसलाई अवरोध सिर्जना नगरीदेउ।
एक महिला जीवनमा के गर्न चाहन्छे, कसरी जिउन चाहन्छे त्यो उसैलाई गर्न देउ उसको जीवनको निर्णय खुद उसैले गर्न पाओस। उसलाई कुनै पुरुषको अनुमति लिन नपरोस त्यहि चाहान्छे महिला।
ठुल्ठुला कार्यक्रम, सभासम्मेलनमा र सामाजिक संजालमा महिला अधिकार र नारीवादी भाषणले मात्र हुदैन। आफ्ना घरमा आमा, दिदीबहिनी, श्रीमतीलाई त्यो अवसर दिनुस। बाहिर सभामा भाषण, फेसबुकको भित्तामा शुभकामना तर भित्र जनैमा साँचो बाधेर महिला भनेको घरायसी कामको लागि भनेर ढोकामा ताला नलगाउनुस। अवसर दिनुस्। ढोका खुला गरिदिनुस्। महिलामाथि उठाउने हात काम गर्नतर्फ लगाउनुस्। अनि यस्ता महिला दिवसको जन्म हुँदैन।
हुन त कसलाई भनेर केही हुनेवाला छैन। केहि परिवर्तन गर्नुछ भने सर्वप्रथम आफैबाट सुरुवात गर्न जरुरी छ। महिलाले महिलालाई नै समर्थन गर्नुस। पहिले आमाले छोरीलाई अपनाउन सिक, सासुले बुहारीलाई र बुहारीले सासूलाई अनि मात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ।
अलिकति हुँदा धेरै नै गरिसके भन्ने घमण्डलाई छोडेर र एकाअर्काको समर्थक बन्नुस। यति काबिल बन्नुस कि तपाइको काम महिला भएकै कारण गर्न सकिएन भनेर नबुझियोस्।
जसरी म्याडम क्यूरी, एलिजाबेथ अन्जीला मर्केलले आफ्ना पहिचान आफै बनाएका छन्। कसैको पत्नी भएर, कसैको श्रीमती भएर हैन आफु भएर चिनिएका छन्।
हामी सबै अन्जीला मर्केललाई चिन्छौ, महिलापुरुष हैन शक्तिशाली व्यक्तिको सूचिमा उनलाई चिन्छौ। क्यूरीले आफ्नो मेहनतले २ पटक नोबेल पुरुस्कार जितिन।
तर महिलामा मात्र विभेद हैन पुरुषलाई त्यस्तै विभेद छ यहाँ। के एउटा रोजगार महिला बेरोजगारसँग पुरुषसँग बिहे गर्न मान्छे ? किन त्यस्तो परिपाटी ? महिलाले अरुकै भरमा हुनुपर्ने ? महिलाले त्यो बुझ्न जरुरी छ। नारीले अरुमै आश्रित हुनुपनि विभेद नै हो। महिला होस् कि पुरुष दुवै बराबर हुन भनेर बुझ्न जरुरी छ।
एकदिन महिला दिवस मनाएर न महिला सुरक्षित हुन्छन् त लैंगिक समानता नै। जबसम्म विवाहका लागि योनीको पवित्रता खोज्ने समाज र योनीमै मृत्यु बोकेर हिडन बाध्य बनाउने समाज रहन्छ तबसम्म लैंगिक समानताको कुरा गर्नु गफ हो।
कसैको छोरीसँग यौन क्रिडामा लिप्त हँुदै उबाट जन्मिएको सन्तान छोरी नहोस भन्ने, श्रीमती बजार जाँदा मलाई अन्डरवेयर ल्याइदेउ भन्ने श्रीमती महिनावारी हुँदा प्याड नल्याउने, अनि आफ्नो उत्तेजना सम्हाल्न नसक्ने नपुंसकहरुबाट जन्मिएका बालिका बलात्कृत हुँदा दोष छोटा लुगामा लगाइन्छ भने समाज पक्कै परिवर्तन हुँदैन र विकास पनि हुँदैन।
आफुलाई नारीवादी भन्दै पुरुषमा आश्रित रहिरहे लैंगिक समानताको परिकल्पना गर्न सकिदैन। त्यहि भएर समाज परिवर्तन गर्नुछ भने आफ्नो पहिचान आफै बनाउ अनि महिला पुरुष समान भन्न सक्छाैं।