सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको उडान: ‘चिचिले सुन्तला’ फल्ने घनघस्या वरपर 'कृषि क्रान्ति'

दिनेशखबर वार्षिकोत्सव विशेष

। फोटो स्रोत ।
२०७७ फाल्गुन १९, ०४:५९ नारायण अवस्थी

२०२४ सालमा बैतडी र डडेल्धुराबीचको घनघस्याको उकालो चढ्दा पोखरा भन्ने ठाउँमा “दुई–दुई रुपियाँका तीस–तीस दाना जति चिचिले” सुन्तला खाएर भरियाहरूसँग फोहरी कटेरोमा रात बिताएका साहित्यकार तारानाथ शर्मा (ताना शर्मा) अहिले त्यहीबाटो हिँड्न पाउने हो भने उनलाई गजबको सुखानुभूति हुन सक्छ।  डोटी, बैतडी र डडेल्धुराका पहाडले काँचुली फेरेको देखेर उनी निकै मक्ख पर्न सक्छन्। 

ताना शर्मा र थुप्रै सुदूरपश्चिमेली आशावादी हुनु पर्ने कारण यस्तो छ-- ५३ वर्षअघि ताना शर्मा र उनका साथीहरूले घनघस्याको उकालो चढ्दा न हिँड्ने बाटाघाट सहज थिए, न बास र गाँसकै प्रबन्ध राम्रो थियो। तर आज सुदूर पहाड निकै सुगम हुन थालिसकेको छ। यहाँ मीठो खान र आरामसँग बास बस्नको लागि बटुवा वा पदयात्रीले चिन्ता गर्नु नपर्ने अवस्था सिर्जना भइसकेको छ।

त्यति मात्र कहाँ हो र। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला अनि डोटी, बझाङ, बाजुरामा उन्नत जातका ठूला-ठूला सुन्तला अनि अनेकानेक अन्न  अनाज तथा फलफूल तथा तरकारीको खेतीपाती हुन थालिसकेका छन्। तीसँगै तराईका कञ्चनपुर कैलालीका हरिया फाँटमा उब्जिने फसलले पूरै प्रदेश र छिमेकी नेपाली तथा भारतीय भूभागका बासिन्दालाई खुवाउने सामर्थ्य राख्दछन्।  

समृद्ध हुने बाटोमा

बैतडी जिल्लाको सुदूर बस्ती पुर्चौडी कोटिलाको अवस्थी गाउँमा जन्मिएको म अहिले सुदूर पहाड निकै समृद्ध हुने बाटोमा गएको अनुभव गरिरहेको छु। हुन त म साहित्यकार ताना शर्माले घनघस्याको उकालो चढेको लगभग २० वर्षपछि जन्मिएको सुदूरपश्चिमेली युवा। म जन्मिने बेलासम्म पनि बैतिडीतिर कृषिउत्पादन निकै कम नै हुने गर्दथ्यो। तर त्यो बिस्तारै बढ्ने सम्भावनाहरू क्षितिजमा देखिन थालिसकेका छन्। 

मेरो बाल्यकालमा प्राय: सबैले मीठो खान र राम्रो लगाउन पाएका थिए। प्राय: सबैलाई आफ्नो उत्पादनले खान र खर्च जुटाउन पुग्द्यो। अलि परका गाउँका कैयन भान्सामा भने बडो मुस्किलले आगो बल्छ भन्ने कुरा भने निकै सुनिन्थे। पहाडका दुर्गम बस्तीमा प्राय: दलित भनिने समुदायका मानिस भोकको चपेटामा पिल्सिएको सुनिन्थ्यो।

उनीहरूको खेती योग्य जमिन थोरै हुने गरेको कारण भोकमरीको समस्या हुने गरेको थियो। परिश्रम गरेर कमाएको पैसाले समेत खाद्यान्न खरिद गर्ने सहज अवस्था नहुँदा त्यो समुदाय निकै समस्यामा हुन्थ्यो भन्ने सहज अनुमान गर्न सकिन्छ।

ठूलो संख्यामा गैरदलितहरुको पनि खाद्यान्न अभावको समस्या हुने गर्दथ्यो तर उनीहरु सहज जोहो गर्न सक्ने भएको कारण उती साह्रो समस्या हुदैनथ्यो होला। दुई छाक टार्न नै संघर्षरत गर्नुपर्ने बिगतको परिदृश्य भने अहिले फेरिएको छ। सुदूर पहाडमा परिश्रम गरेर कमाएको पैसाबाट घर नजिकै खुलेको पसलबाट खाद्यान्न खरिद गरी मजाले खान सकिने अवस्था निर्माण भएको छ। 

नयाँ युगका नयाँ पीढी 

अहिलेको नयाँ पिढीले मेरो पुस्ताले देखेको र भोगेको अभाव र कमै देखेको हुनु पर्छ किनभने देशमा सशस्त्र द्वन्द्व सकिएपछि कृषि र प्रविधिमा महत्त्वपूर्ण फड्को मार्ने क्रम सुरु भइसकेको छ। हाम्रो गाउँमा २०४९ सम्म तीन जना मात्रै सरकारी जागीर गर्ने मान्छे थिए। त्यसपछि तीन जना थपिदा हाम्रो गाउँमा सरकारी जागीरेको संख्या छ जना पुगेको थियो।

जो मासिक हजारौँ रुपैयाँ तलब खाने गर्दथे। बाँकी मानिसको आम्दानीको स्रोत भनेको कृषि कर्म थियो। पशुपालनको रुपमा गाई भैँसी पाल्ने किसानले घ्यू उत्पादन गर्थे जुन भारतीय सीमावर्ती बजार झुलाघाट गएर बिक्री गर्दथे। त्यसबाट हुने आम्दानीले लुगाफाटो र मरमसलाको जोहो गरिन्थ्यो।

पर्याप्त जग्गा जमिन भएका परिवारले मात्रै पेटभर खान पाउथे। जोसँग जग्गा जमिन कम छ तिनीहरुले गाउँघरमा अन्न बेच्ने घर र मान्छे खोज्दै हिड्नु पर्दथ्यो। प्रसस्त जग्गा र अन्न उत्पादन हुने व्यक्तिले गाउँघरमा अन्न खरिद गर्न आउने मान्छेहरुलाई मानाको हिसावले बिक्री गर्ने गर्दथे।

यसरी अन्न खरिद गर्नुलाई बेसाहा गर्नु भनेर स्थानीय भाषामा भन्ने गरिन्थ्यो। बेसाहा गर्नु राम्रो मानिदैनथ्यो। त्यसैले बेसाहा गर्नेहरु सुटुक्क आएर अनाज खरिद गरेर घर लैजाने गर्दथे।

पुर्चौडीको हाटमा नेपाल खाद्य संस्थानको डिपो रहेको थियो। त्यहाँ चामल बिक्री हुने गर्दथ्यो। तर सबै समयमा खाद्य संस्थानले पनि चामल बिक्री गर्दैनथ्यो। बैशाखदेखि असोजसम्म मात्रै चामल बिक्री गरिन्थ्यो त्यो पनि भने जति या चाहे जति खरिद गर्न पाइदैनथ्यो।

एक व्यक्तिले एकपटक कहिले १० किलोग्राम त कहिले २० किलोग्राम मात्रै खरिद गर्न पाउथे। त्यो उसिनेको मोटो चामल समेत पाउन कहिलेकाँही त दिनभर लाइन लागेर मात्रै बल्ल पाइने अवस्था रहेको मैले आफ्नै आँखाले देखेको छु।

अहिले बैतडीको पुर्चौडीमा बजार विकास र बिस्तार भएको छ। त्यसैगरी सुदूरपश्चिमका सबै जिल्लाका विकट र दुर्गम गाउँमा समेत कच्ची भएपनि सडक पुगिसकेको छ। गाउँहरुमा सडक पुगेसँगै थुप्रै कुरामा आमूल परिवर्तन हुने क्रम सुरु भएको छ।

अहिले गाउँमा खाद्य डिपोहरु छैनन् भने बेसाहा (अन्न खरिद) गर्न गाउँका धनी घरहरु धाउनु पर्ने स्थिति पनि इतिहास भइसकेको छ। अहिले मनले मागेको र क्षमताले भ्याएको किसिमको चामल लगायतका खाद्य सामग्री खरिद गर्न चार दिनको यात्रा तय गरेर भारतीय बजारसम्म पुग्नुपर्ने कुरा पत्याउन मुस्किल हुने भइसकेको छ।

फलफूल, तरकारी अनि ट्राउट माछा 

२०२४ सालमा ताना शर्मा घुमेका बैतडी र डडेल्धुराका पाखा पखेरुमा चिचिले सुन्तला मात्रा होइन ठूला सुन्तला र जुनार फल्न थालिसकेका छन्, किवी फल फल्न थालेका छन्, एभोकाडो, नासपाती, हलुवावेत फल्न थालेका छन्। दार्चुला, बझाङ, बाजुरामा स्याउ फल्न थालेका छन् जसले बजार पाउन थोरै संघर्ष भने अवश्य गर्नु परिरहेको छ। हिमाली क्षेत्रमा यार्सागुम्बा, चिराइतो, पाँचऔँले र पदमचल फल्न थालेका छन्। डोटीको जोरायल बेँसीमा बासमतीको उत्पादन बढ्ने क्रममा छ। 

कञ्चन बग्ने खोलीहरूमा ट्राउट माछा खेल्न थालेका छन्। 

शहर बजार छेउका कृषि फार्महरूमा बोयर बाख्रा, अस्ट्रिच, कालिज र अन्य पशु पक्षी हुर्काइन थालेका छन्। 

यी सब उत्पादन देखेर ताना शर्माले अहिले सुदूरपश्चिम फेरिन थालेको अनुभव गर्न सक्नुहुनेछ।

२८ लाख जनसंख्या रहेको सुदूरपश्चिमलाई मनग्गे पुग्ने गरी खाद्यान्न तथा फलफूल उत्पादन हुने क्रम सुरु भइसकेको छ। आर्थिक वर्ष २०७५-०७६ मा ७ लाख  ५ हजार ७ सय ६७ मेट्रिक टन उपभोग्य खाद्यान्न उत्पादन भएको तथ्यांक सरकारको छ। सुदूरपश्चिममा १ लाख ६२ हजार खाद्यान्न वचत हुने दखिएको छ।

सुदूरपश्चिममा अहिले खाद्यान्नमा सबै वर्ग र समुदायमा पहुँच सजिलै पुगेको छ। त्यसैगरी कृषिजन्य उत्पादन समेत विगतको तुलनामा वृद्धि भएकको देखिएको छ। प्रदेशमा धान, गहुँ, मकै, कोदो, फापर जौ लगायतका खाद्यान्न बालीको उत्पादन हुने गरेको छ। अहिलेको पहाडका गाउँहरुको चित्र पुरै फेरिएको छ। गाउँगाउँमा धुलाम्मे भएपनि सडक पुगेको छ। 

तराईको मसिनो चामलदेखि स्वदेश र विदेशबाट आयात गरिएको खाद्यान्न र अन्य खाने कुराको सहज उपलब्धता छ। लुकेर होइन शीर ठाडो पारेर खाद्यान्नको अर्डर गरेर आगनसम्म नै व्यापारीले चामल, दाल, नुन, तेल झारी दिन्छन्। दलित परिवारहरुको जीवनशैली पूरै फेरिएको छ। खेत सानो भएपनि, उब्जनी थोरै भएपनि खानको चिन्ता छैन कसैलाई पनि।

बैतडीबाट घ्यू मात्रै बेच्ने त्यो पनि भारतीय बजारमा गएर, त्यो परिदृश्य सबैले बिर्सिएको इतिहास भइसकेको छ। अहिले हरेक गाउँमा किसानहरुले विहान साँझ दूध बेच्ने गरेका छन्। जसले नगद आम्दानी समेत बढाएको छ। तरकारी खेती, फलफूल खेती, बाख्रा, गाई,  भैँसी, कुखुरापालनजस्ता पेसाबाट स्थानीय गाउँमा मनग्गे आम्दानी हुने गरेको छ।

अहिले गाउँमा कमाइ गर्ने नयाँ नयाँ आयाम थपिएका छन्। नुनदेखि सुनसम्मको व्यापारमा स्थानीयहरुको प्रत्यक्ष संलग्नता रहेको छ। मौसम अनुसारको खाना र फलफूलको सहज उपलब्धताले सुदूरबासीहरुको जीवन पूरै फेरिएको छ। 

थप मलजलको खोजीमा कृषि क्षेत्र

सरकारले कृषिमा व्यापक सुधार र सहयोग गर्न सके सुदूरको जनजीवन अझै समृद्ध हुन सक्ने अवस्था रहेको छ। हिमाल, पहाड र तराईको भूगोल मिलेर बनेको सुदूरपश्चिमा सबै खाले कृषि उत्पादन गर्न सकिने बेजोड सम्भावना रहेको छ। स्वादिलो स्याउदेखि किवी र ड्र्यागन फलको प्रचुर उत्पादन हुने विज्ञहरुले बताउने गरेका छन्।

उखुदेखि आयुर्वेदिक ओखतीको समेत उत्पादन र बजारीकरण गरी सुदूरपश्मिका नागरिकहरुको आर्थिक जीवनमा उमंग ल्याउन सरकारले परिस्कृत कृषि नीति ल्याएर त्यसको कार्यान्वयन गर्न सके कामको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।

हाम्रो बाजे पुस्ताले हप्तौँको यात्रा तय गरेर टनकपुर पुगेर किनमेल गर्नुपर्ने बाध्यता थियो। बुवा पुस्ताले कम्तिमा चार दिनको पैदल दुरी हिँडेर झुलाघाट पुग्नुपर्ने अवस्था थियो। हाम्रो समयमा भने सुदूर पश्चिमको तराई देखि पहाड अनि उच्च हिमाल आपसमा तीव्र गतिमा जोडिँदो छ र प्रविधिको साथ पाएर तीव्र गतिमा फेरिँदो छ। कृषि क्षेत्रमा आएका सकारात्मक परिवर्तन अझै गुणात्मक रूपमा बढ्नु आवश्यक छ।

गाउँ गाउँ र कुना कुनामा धेरै आम्दानी हुने कृषि उत्पादनको बीजारोपण र सुरुवात आवश्यक छ।

तर अहिले नै बैतडी र डडेल्धुरामा फलेका फलफूल र अन्न अनाज देखेर पूर्वको मेचीमा जन्मिएका तारानाथ शर्मा र उनका साथी साच्चै नै खुसी हुने र सन्तोषको सास फेर्ने वातावरण बनिसकेको छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस