सुदूरपश्चिममा २ सातामा ३ घटना: जो आफ्नै शिष्यमाथि यौन दुव्र्यवहार गरेको अभियोग खेप्दैछन्
धनगढीः सुदूरपश्चिम प्रदेशमा शिक्षकबाट आफ्नै छात्रामाथि यौनजन्य अपराध गरेका घटना सार्वजनिक भएपछि कानुनी कारबाहीका लागि प्रहरी सक्रिय हुन थालेको छ।
२ साताको अवधिमा सुदूरका विभिन्न स्थानका ३ छात्रामाथि आफ्नै गुरुबाटै यौन अपराध गरेको उजुरी परेपछि छात्राहरु असुरक्षित हुनसक्ने चिन्ता बढेको हो। २ साताको अवधिमा कञ्चनपुर, डडेलधुरा र अछाममा छुट्टाछुट्टै घटनामा ३ छात्रालाई करणी तथा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकहरू पक्राउ परेका छन्। आरोपित शिक्षकहरू विरुद्ध जबरजस्ती करणी, सार्वजनिक कसुरलगायतका शीर्षकमा मुद्दाहरु दर्ता गरिएका छन्। यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका १ शिक्षकबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्रबहादुर कुँवर विरुद्ध फागुन १६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भयो। ती शिक्षकले गत शनिबार कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता गरिएको हो।
वनभोजबाट फर्किएपछि घर पु¥याउँने भन्दै ती शिक्षकले छात्रामाथि करणी गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।
डडेलधुराको घटनामा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक देवीलाल भट्टलाई फागुन १६ गते प्रहरीले पक्राउ गरेको छ। सो मुद्दामा पनि अनुसन्धान जारी रहेको डडेलधुरा प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले फागुन १७ गते मात्र जिल्ला अदालतबाट म्याद थप भएको बताए।
“हामी अनुसन्धानको क्रममा छौ। पुनः ७ दिनका लागि म्याद थप भएको छ,” उनले भने।
अर्को घटना कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयसँग सम्बन्धित छ। त्यहाँका शिक्षक मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। त्यही विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ती शिक्षकले विद्यालयमै यौन दुव्र्यवहार गरेको आरोपका आधारमा पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
त्यस्तै जिल्लाको भीमदत्त नगरपालिका ९ स्थित वैद्यनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टले कक्षा ९ मा अध्ययरत छात्रालाई कुटपिट गरि घाइते बनाएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले कञ्चनपुरका यौन दुव्र्यवार र छात्रामाथि विद्यालयमा भएको कुटपिट दुबै घटनामा अनुसन्धान जारी रहेको बताए।
त्यसअघि केही महिना पहिले डोटीमा छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षक भने धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनी ४ हजार धरौटीमा छुटेका हुन्। तर प्रदेश प्रहरीसँग दुव्र्यवहारमा परेका छात्रा र दुव्र्यवहार गर्ने शिक्षकको तथ्याङ्क छैन। संकलनको काम थालिएको बताएको छ।
पछिल्लो घटनाले नैतिक शिक्षाको पाठ पढाउने आफ्नै गुरुबाट विद्यार्थीहरु असुरक्षित भएपछि विद्यालयमा पढाइने नैतिक शिक्षाप्रति प्रश्न चिन्ह उठेको हो। बालिकाहरु असुरक्षित बनेकाे अभिभावकहरु दुखेसाे सुनाउँछन्।