म्याद थप गरि शिक्षकमाथि अनुसन्धान, बाल हेल्पलाइनको टोलीमाथि विद्यालय प्रशासनद्वारा अभद्र व्यवहार
कञ्चनपुरमा बालिकामाथि यौन दुव्र्यवहारः
धनगढीः कञ्चनपुरमा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धानको लागि म्याद थप भएको छ।
जिल्लाको बेलौरी नगरपालिका -६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानामाथि अनुसन्धानको लागि जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानालाई विद्यालयमै यौन दुव्र्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको थियो।
प्रहरीकाअनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनी विरुद्ध यौन दुव्र्यवहार गरेको कसुरमा उजुरी परेको छ।
यसैबीच पीडित बालिकाले आफुमाथि यौन दुव्र्यवहार भएको भन्दै आवश्यक सहयोगको लागि बाल हेल्पलाइन धनगढीलाई सम्पर्क गरेकी थिइन्। सो घटनालाई बुझ्न विद्यालय पुगेको टोलीलाई विद्यालय प्रशासनले अभद्र व्यवहार गरेको बताइएको छ।
‘५ मिनेट अझै बसेको भए आक्रमण हुने स्थिति थियो’
बाल हेल्पलाइन धनगढीकी प्रमुख विष्णुमाया पौडेलले दिनेशखबर सँग भनिन्, “विद्यालयको सामाजिक शिक्षकले नै यौन दुव्र्यवहार गरेको भन्दै हामीलाई खबर आयो। त्यसपछि हामी बालिकाको घरमा पुर्गौ। पीडितका परिवार परिवार सँग पनि बस्यौ। पछि हामी विद्यालयमा गयौं। विद्यालयका हेड सरलगायत शिक्षकले भने ‘यहै पढेको, ३० वर्षदेखि यहै पढाएको शिक्षक धेरै राम्रो हो उहाँ त्यस्तो कहाँ गर्नु सक्नुहुन्छ। त्यो बालिका हिजो भर्खर आएको हो, हामी विश्वास गर्दैनौ।’ दुव्र्यवहार देखाएर गर्ने कार्य हो र ? मान्छेको गतिविधिको ग्यारेन्टी लिन सकिन्छ ? भनेर सवाल गर्दा पुरै शिक्षकहरु नै आक्रमकशैलीमा प्रस्तुत भए। शिक्षकले गर्नुपर्ने व्यवहार उहाँहरुमा देखिएन।”
सो विद्यालयले जिल्लाकै दोस्रो नमूना विद्यालय तथा बालमैत्री भएको दाबी गर्दै आएको बताइएको छ। तर अनुसन्धानमा सघाउनुपर्नेमा विद्यालय प्रशासनले पीडितलाई झन पीडा दिने गरि घटनालाई आपसमै मिलाउनुपर्ने दवाव सिर्जना गरिरहेको प्रमुख पौडेलले बताइन्।
बाल हेल्पलाइन र विद्यालय प्रशासनबीच भनाभनको अवस्था सिर्जना भएपछि आफुले घटनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल बहादुर खड्का बताउँछन्।
त्यस्तै, इलाका प्रहरी कार्यालयमै पनि विद्यालयका शिक्षकले आफु कानुनको विद्यार्थी भन्दै धाकधम्की समेत दिएको बताइन्।
त्यस्तै बाल हेल्पलाइनमा कार्यरत हरिलाल चौधरीले आफुहरु सो विद्यालयमा ५ मिनेट अझ बढी बसेको भए आक्रमण हुने सक्ने स्थिति सिर्जना गरेको जानकारी दिए।
प्रमुख पौडेलले अगाडि थपिन्, “घटनाबारे बुुझ्न गएका हामीलाई विद्यालय व्यवस्थापन समितिकी ढुंगाना थर भएकी एक सदस्यले भनिन्, ‘सक्छन् भने निर्मलाको हत्यारा पत्ता लगाएर देखा।’
यसैबीच विद्यालयका प्रधानाध्यापक रमेश भण्डारीसँग घटनाबारे बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो। भने बेलौरी नगरपालिकाकाको शिक्षा शाखा प्रमुख देवबहादुर चन्दले आफुलाई घटनाबारे जानकारी नभएको बताए।
सम्बन्धित समाचार
कञ्चनपुरमा बालिकामाथि विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ