सुदूर नेपाललाई विश्वसँग जोड्दै

धौलीगंगाको बाँध खोलिने : महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

२०८३ असोज १६, ०९:५७ खबर संवाददाता

दार्चुला: भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि दार्चुला प्रशासनले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतको तपोवन, धारचुला, पिथौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजना (NHPC Limited, Dhauliganga Power Station) ले बाँधमा जमेको सिल्ट (बालुवा तथा माटो) सफाइ गर्न ढोका खोल्न लागेको जानकारी गराएको हो।

भारतीय पक्षबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म करिब ४८ घण्टा बाँधका ढोका खुला रहनेछन्।

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। ढोका बन्द गरेपछि पनि केही समय नदीको पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा नदीमा जाने क्रममा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस