सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र उत्तराखण्डको हाराहारीमा पुग्ला ?

सुदूरपश्चिम विकास बहस

२०७७ फाल्गुन १७, ०८:१० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र भारतको उत्तराखण्ड प्रदेशको हाराहारीमा आउन सक्ने सम्भावनाबारे बहस सुरु भएको छ। 

लेखक एवम् वरिष्ठ  पत्रकार कनकमणि दीक्षितले सुदूरपश्चिमले महाकाली पारि भारतको उत्तराखण्डलाई आर्थिक रूपले चुनौती दिन सक्ने बताएपछि नयाँ बहस छेडिएको हो। 

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको विकास भारतको नेपालसँग जोडिएको उत्तरी राज्य उत्तराखण्डको हाराहारीमा पुग्न सक्ने जिकिर यसै साता दिनेशखबरको वार्षिकोत्सवका अवसरमा धनगढी आएका लेखक कनकमणि दीक्षितले गरेका हुन्।

दीक्षितले भौगोलिक अवस्थिति मिलेको र भारतको लखनऊ, दिल्ली जस्ता ठूला सहरबाट नजिक रहेको सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न सम्भावनामा राज्यको समुचित लगानी रहे प्रदेशको अर्थतन्त्र चलायमान र दिगो हिसाबले विकसित हुनसक्ने बताएका हुन्।

उनले भने, ‘विगतका शासकको नजरमा सुदूर किनारामा रहेको देखिएपनि यो प्रदेशमा अपार सम्भावना रहेको छ। यहाँका नागरिकको समृद्धि उत्तराखण्ड हाराहारीमा आउन सक्छ। यो कुराका लागि आत्मचिन्तन र सम्भावनाहरुको खोजी हुनुपर्छ।’

कोरोनाभाइरस महामारीका बेला समग्र देशसँगै सुदूरपश्चिमको आर्थिक वृद्धिदर अत्यन्तै न्यून हुने अवस्थामा पुगेको बेला आर्थिक विकासको सम्भावनाबारे बहस भएको हो। आर्थिक विकासका लागि सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र चलायमान राख्न औद्योगिक क्षेत्रमा लगानी गरि सडक सञ्जालको निर्माण र बसाइसराइ नियन्त्रण जस्ता काम तत्कालै थालिहाल्नु पर्ने भनाइ प्राध्यापक डा. हेमराज पन्तको छ।

‘प्रदेशमा कृषि उत्पादन, जडिबुटी, पर्टन र उद्योगको अपार सम्भावना रहेको छ। आर्थिक वृद्धिको लागि प्रदेशमा सडक सञ्जालको दिगो विकास, औद्यौगिक क्षेत्रहरुको विकास, शिक्षा, स्वास्थ्यर सञ्चारलगायतका भौतिक पूर्वाधारमा लगानी र पहाडी जिल्लाबाट तराईमा भइरहेको अव्यवस्थित बसाइसराइलाई भने रोक्नु जरुरी छ’ प्राध्यापक डाक्टर हेमराज पन्तले भने।

हिमालदेखि पहाड र तराईमा छरिएकाप्राकृतिक स्रोत र साधनले भरिपूर्ण भए पनि सुदूरपश्चिमको अर्थतन्त्र अहिले निकै सानो आकारको रहेको छ। सुदूरपश्चिमको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत छ भने उत्तराखण्डको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुदूरपश्चिम र उत्तराखण्डबीच थोरै मात्रै भिन्नता रहेको छ। 

सुदूरपश्चिम प्रदेशले भारतको उत्तराखण्ड प्रदेशभन्दा सहज ढङ्गले आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना र यथार्थ रहेको विश्वास अर्थशशास्त्री शिवहरी शर्मा मुडभरी गर्छन्। 

‘नेपालले चाहेको र खोजेको जस्तो तीव्र र दीगो अर्थतन्त्रको विकास गर्न आर्थिक र पूर्वाधार विकासको क्षेत्रमा एकिकृत रुपले योजना बनाई तिनको सघन कार्यान्वयन हुनुपर्छ’ मुडभरीले भने।

सुदूरपश्चिम प्रदेशमा राज्यले प्रयाप्त र योजनावद्ध हिसावले लगानी गरे विदेश पलायनको दर समेत घट्ने र अहिलेसम्म ओझेलमा पारिएको सम्भावनाहरुबाटै प्रदेश र प्रदेशले प्रचुर फाइदा लिन सक्ने अवस्था रहेको बताइएको छ।

पञ्चेश्वर र पश्चिम सेती जस्ता जलविद्युत परियोजना, सेती र महाकाली लोक मार्ग, दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह, दैजी औद्योगिक क्षेत्रको विकास र पर्यटन क्षेत्रमा प्रचुर लगानी गर्न सकिए प्रदेशले तीव्र विकास गर्न सक्ने सम्भावना रहेको बताइन्छ। तर त्यसका लागि भने दूरदर्शी र दृढ इच्छाशक्ति भएको राजनीति र प्रशासनिक नेतृत्वको खाँचो हुने विज्ञहरूको जोड छ। 


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस