सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको खुलामञ्चलाई राजनीतिक दलले ‘डम्पिङ्ग साइट’ बनाइदिएपछि...

२०७७ फाल्गुन १६, ०५:४४ सरेन जैरू

धनगढीः गत डेढ महिनाको अवधिमा धनगढीको खुला मञ्चमा नेकपाको दुवै समूह र रणनीतिक संयुक्त मोर्चाको गरि ३ वटा ठूला जनसभा भए। ती जनसभामा धेरैभन्दा धेरै मानिस उतार्ने होडबाजी नै चल्यो र पार्टीहरू जनसागर उतार्न सफल पनि भए।

तर जनसभापछि खुलामञ्च पानीको बोतल, चाउचाउ र बिस्कुटको खोलले भरिएर ‘डम्पिङ्ग साइट’ बन्यो। त्यो फोहोरको व्यवस्थापन न त कुनै पार्टीले गर्‍यो नत अरूलाई गर्न लगायो। खुलामञ्चमा आयोजना गरिदैँ आएका भेलाका कारण धनगढीस्थित खुलामञ्च फोहोरले कुरूप बनेको छ। 

खुलामञ्चलाई राजनीतिक दलहरूले ‘डम्पिङ्ग साइट’ बनाइदिएको भन्दै खेलाडीहरूले गुनासो गरेका छन्। 

खुला मञ्चमा क्रिकेट, फुटबल र भलिबल लगायतका खेलको नियमित अभ्यास गर्ने खेलाडीहरूले पार्टीको कार्यक्रमपछि मञ्चमा अभ्यास गर्ने वातावरण नै नहुने बताएका हुन्। उनीहरूले मञ्चमा कार्यक्रमको आयोजना गर्ने राजनीतिक पार्टीहरूलाई अनिवार्य रूपमा सफाइ गर्न आग्रह समेत गरेका छन्।

प्रतिनिधिसभा विघटन भएदेखि पुनर्स्थापना हुँदासम्म विभिन्न राजनीतिक दलहरूले खुलामञ्चमा सभा समारोहको आयोजना गर्ने तर सफाइ नगरिदिने प्रवृत्ति देखाएका कारण खुलामञ्च डम्पिङ्ग साइडमा परिणत हुन थालेको खेलाडीहरूको गुनासो रहेको छ। 

नाम उल्लेख नगर्ने शर्तमा खुला मञ्चमा नियमित क्रिकेटको अभ्यास गर्दै आएका एक खेलाडीले कार्यक्रमको आयोजकलाई फोहोरको व्यवस्थापन गर्न भन्ने गरेपनि उनीहरूले आनाकानी गरेको बताए। 

धनगढीमा अहिले सरसफाईसम्बन्धी विभिन्न अभियान चलिरहेका छन्। तर राजनीतिक पार्टीहरू गैर जिम्मेवारीपूर्ण व्यवहार देखाउँदै आफैले गरेको फोहोरको पनि व्यवस्थापन गर्न पन्छिने गरेको खेलाडीहरूको आरोप छ। 

‘खुला मञ्च सार्वजनिक स्थल भएकाले यसको प्रयोग गर्न पाउनु सबैको अधिकार हो।’ मञ्चमा नियमित अभ्यास गर्ने अर्का खेलाडीले भने, ‘राजनीतिक पार्टीलाई पनि मञ्चमा कार्यक्रम गर्न कुनै रोकटोक छैन। तर मञ्चमा सभा सम्मेलन, सांसकृतिक कार्यक्रम वा कुनैपनि कार्यक्रमको आयोजनापछि त्यसलाई पूर्ववत रूपमा ल्याउनुपर्छ।’

धनगढी उपमहानगरपालिकाले भने फोहोर गरेर सफा नगर्नु राजनीतिक दलहरूको लापरवाही भएको बताउँदै आएको छ। धनगढी उपमहानगपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सभा तथा भेलापछि सम्बन्धित दललाई सफाइ गर्न भनिदैँ आएपनि अहिले त्यो संस्कार नै हराएको बताए।

तर स्वयंम उपमहानगरपालिकाले समेत खुलामञ्चको फोहोर व्यवस्थापनमा ध्यान नदिएको आरोप लाग्ने गरेको छ। 

खेलाडी मात्र नभएर स्थानीयहरूलाई थकान मेटाउने विश्रामस्थल पनि बनेको खुला मञ्चलाई स्वच्छ र सफा सुग्घर राख्न सबैले ध्यान पुगाउनुपर्ने स्थानीय खेलाडीहरुले सुझाव दिएका छन्। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस