सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल्यकालको सम्झनाः त्यो थप्पड जसले बिउँझायो, त्यो छडी जसले कमजोर बनायो

२०७७ फाल्गुन ८, ०५:५२ नारायण अवस्थी

१२ जोड १६ गरि २८ वर्ष मैले स्कुलमा बिताएको रहेछु। कक्षा १ देखि १२ सम्म आफु मात्रै पढ्दै बाँकी १६ वर्ष क्याम्पस पढ्दै र पढाउदै मैले जीवनको डेढ दशक उर्जावान समय बिताएको रहेछु। यो लेखमा मैले कक्षा एकदेखि पाँचसम्मको स्कुले अनुभवको बयान गर्ने चेष्टा गर्नेछु।

सानोमा म स्कुल जान निकै अल्छी गर्थे। स्कुल जानुभन्दा भैंसी चराउन म निकै खुशी हुन्थे। त्यसैले म ७ वर्षको हुँदा कक्षा एकमा भर्ना भएको रहेछु। अहिले हिसाब गर्दा थाहा पाउँदै छु।

स्कुल जाने समय मेरो स्थिति अनमाउन लागेकी बेहुलीको झै हुन्थ्यो। म खुब रुन्थे। स्कुल जान खासै फकाइन्नथ्यो, सिधै थप्पड चार्ज हुन्थ्यो बुबाको। सुरुका दिनमा बुबाले बोकेरै स्कुल पुगाएको अलिकति सम्झना छ। मेरो अक्षरारम्भ घरमै गरिएको थियो। धुलौटोमा केही अक्षर लेख्न लगाइएको थियो। 

बुवाले बोकेर मलाई गलिनाथ प्राथमिक विद्यालयमा लग्नु भएको थियो। पहिलोदिन खै कसरी बित्यो त्यो थाहा छैन तर दोस्रो दिनपछि भने मलाई स्कुल जानु भनेको ठुलो सजाय जस्तै हुन थाल्यो। 

काठको पाटी बोकेर बिहान ९ बजे स्कुल जान तयार हुनुपर्ने नियमले मेरो स्वतन्त्रता र स्वच्छन्दता अपहरण गरेर लगेको थियो। खाली खुट्टा बटन टुटेको कमिज र कट्टु लगाएर बिना संकोच जहाँ मन लाग्यो त्यहीँ दौडिने मलाई बिहान ९ बजे स्कुल जानु र ३ बजे घर आउनुपर्ने तालिकाले लोभ्याउन सकेन। 

मलाई स्कुल भन्दा प्यारो गाउँ नै लाग्यो। स्कुलको खेल मैदानभन्दा घरको आँगनमा माटोसँग खेल्नुको मजा बिछ्ट्ट लाग्यो। गाई भैंसी नै प्यारा साथी लाग्ने भएर होला स्कुलले मलाई आफुतिर एकवर्षसम्म तान्न सकेन। 

पहिलो वर्ष म एक कक्षा पास हुन सकेन। एक कक्षामा दुई वर्ष पढेर प्रमोटेड पास भएको मलाई त्यसपछी भने कसैले बडगाउँ स्कुलमा दोस्रो बनाउन सकेन।

एक कक्षाको प्रथम वर्ष बुबाको र आमाको कुटाइ खाएर स्कुल आउन बिवस मलाई कक्षा दुईमा पुग्दा समेत विद्यालयले सम्मोहित गर्न सकेको थिएन। म कक्षामा पढ्नु भन्दा पनि छुट्टीको घण्टीको पर्खाइमा हुन्थे। 

छुट्टीको घण्टी बज्नासाथ म कुलेलम ठोकेर घर आउने गर्दथे। गृहकार्य खासै हुदैनथ्यो। लेख्नुपर्ने सबै स्कुलमै लेख्ने गरिन्थ्यो। दुईमा पढ्दा भने स्कुल जान अभ्यस्त भइसकेको थिए। स्कुल गए पनि स्कुलमा भने पढाई त्यति मन लाग्दैनथ्यो।

हामी टिफिनलाई हाफटाइम भन्ने गर्दथ्यो। अहिलेपनी पहाडमा हापटाइम नै भन्ने गरिन्छ। हापटाइम पछिको पाँचौ पिरियडमा सधैं दुना(टेबल)पढ्ने गरिन्थ्यो। गेलागाउँ सरको थियो त्यो पिरियड। क्लास सञ्चालन चौरमा हुन्थ्यो किनभने हाम्रो पाँच सम्मको स्कुलमा जम्मा तीन कोठे स्कुल थियो एक र दुई कक्षाका विद्यार्थीहरुले चौरमै पढ्नुपर्ने स्थिति थियो। गेलागाउँ सर मेरो गाउँले बाजे पर्नुहुन्थ्यो। अक्सर सबै विद्यार्थीको उहाँ बाजे पर्नुहुन्थ्यो तर स्कुलमा भने हामी गेलागाउँका सर भन्ने गर्दथ्यौँ।

एक दिन तिनै गेलागाउँका बाजेकै पिरियडमा म क्लासमै सुतेको रहेछु। हाफटाइम झन्डै एक घन्टाको हुने त्यो बेला पसिनाले निथ्रुक्क भिज्नेगरी खेल्ने गरिन्थ्यो। त्यो दिन निकै थकाइ लागेर म क्लासमै सुत्न पुगेछु। क्लासमा मलाई सुतेको देखेर बाजेले गालामा थप्पड हिर्काउनु भएछ। त्यो थप्पडले ८ रेक्टरको भुकम्प ल्याउदा म सुतेको केटो बेताल उफ्रिन पुगेको थिए। हेर्दा त बाजे अगाडि अरु साथीहरू हासी रहेका थिए। मेरा आँखाबाट आँसु आए तर मुखबाट भने ‘क्वा’ सम्म शब्द चुहावट भएन।

त्यो थप्पडको अनुभुती अझै गर्छु मैले। त्यो थप्पडले मलाई कक्षामा नसुत्ने बनायो। बाजेको त्यो थप्पडले म नबिराइ स्कुल जाने भए। त्यो थप्पडले मलाई गृहकार्य गर्ने बनायो। त्यो थप्पडसंगै गुन्जिएको साथीहरुको हासोले मलाई गिज्याएन। होच्याएन बरु कक्षामै प्रथम हुने बनायो। दुई कक्षाको पाचौं पिरियडमा खाएको त्यो थप्पडले त्यसपछि मलाई स्कुलकै प्रथम हुने विद्यार्थी बनायो।

गेलागाउँ बाजे सादकी स्वभावका शिक्षक हुनुहुन्थ्यो। सात्विक भोजन गर्ने उहाँमा कुनै कुराको पनि अम्मल थिएन। उहाँ लगायत स्कुलमा चार जना शिक्षक थिए। पछि हरिदत्त सर सरुवा हुँदा ३ जनामात्र सर रहनु भयो। बाजेले हामीलाई नेपाली, अङ्ग्रेजी, नैतिक र संस्कृत विषय पढाउनुहुन्थ्यो। ती सबै विषय नै मेरो सबैभन्दा प्रिय भए।

बाजे र हाम्रो घर संगै थियो गाउँमा मैले त्यो थप्पडको बदला कहिल्यै लिने चेस्टा गरिन त न घरमा नै भने थप्पड खाएको बारेमा। तर मन मनै भने बाजेलाई देख्ना साथ उहीँ थप्पडको यादले म खुव डराइरहन्थे। बाजे नैतिक शिक्षा पढाउने उपयुक्त शिक्षक थिए किनभने नैतिकताको पाठ उनको जीवनबाट समेत सिक्न सकिन्थ्यो। उहाँमा अम्मल कुनै कुराको पनि थिएन। 

नैतिक शिक्षाका पाठहरु उहाँको जीवन र व्यवहारसंग समेत ठ्याक्कै मेल खाने भएर होला उहाँले पढाउदा भनेका कुरा र उनको व्यक्तिगत ब्यवहार बिच सत्य परीक्षण गर्दा तलमाथि हुँदैन थियो। बाजे एक उदाहरणिय शिक्षक थिए। तिनै उदाहरणीय शिक्षकको थप्पड मेरो लागि उदाहरणीय बन्यो। मैले त्यसपछि एक जना खुखार शिक्षकबाट बाहेक अन्यबाट कुटाइ खान परेन।

ती खुखार शिक्षक अर्कै स्कुलबाट काजमा सरुवा भएर आएका थिए। त्यतिबेला म कक्षा ४ मा थिए। उनले गणित पढाउथे। अरु तीन सरहरु बुढा थिए भने ती काजमा आएका सर तरुना थिए। अग्ला र हट्टाकट्टा पनि थिए। तिनको आगमनले स्कुलमा नयाँ वातावरण निर्माण गरेको थियो। सुरुमा हामी तिनको पढाउने कुरा गर्ने शैलीबाट रोमाञ्चित भएका थियौँ तर त्यो रोमाञ्चकता हामी माझ हप्तादिन टिक्न पाएन।

हप्ता दिन हामीलाई आफ्नो कलेज लाइफका कुरा सुनाएर मक्ख पारेका ती सरले अर्को हप्ता गणित पढाएर दिएको गृहकार्य गलत हुँदा म लगायत सबैको हातमा ठेला उठ्ने गरि गरिएको छडी प्रहारले उनीप्रतिको हाम्रो मोह गर्ल्यामगुर्लुम ढल्न पुग्यो। उनीप्रतिको मोह भंग हुनुले त समस्या हुदैनथ्यो होला तर गणित विषयप्रतिको रुचि समेत मर्ने गरि कयौं दिन गरिएको छ्डी प्रहारले दूरगामी असर गर्न पुग्यो।

उनी ६ महिनापछि काज सक्काएर अन्तै  जाँदा हाम्रो गणितप्रतिको उत्साह र लागाव भने सदाको लागि मारेर गएका थिए। म लगायत मेरो अन्य साथीहरु कसैले पनि त्यसपछि गणित विषयमा राम्रो गर्न सकेनन्। अङ्ग्रेजी र नेपालीमा भने सबैले राम्रो नम्बर ल्याउथे। 

विद्यार्थीलाई पनि ढंग पुगाएर पुरस्कार र दण्ड दिन जान्नुपर्ने कुरा स्नातक पढ्दा हामीले थाहा पाएका थियौ। तर हाम्रा मिडिल स्कुल पास गेलागाउँका सरले खै कसरी थाहा पाएछ्न। गेलागाउँ सरले अरु विद्यार्थीलाई पनि अन्तिम अवस्थामा मात्रै पिट्नु हुन्थ्यो नत्र सम्झाउने मात्रै गर्नुहुन्थ्यो। 

तर काजमा आएका सरले सम्झाउने कम रन्काउने ज्यादा गर्नुहुन्थ्यो। उहाँ पढाउनमा भने सिपालु हुनुहुन्थ्यो तर नादान हामीहरुले गरेको माइनस प्लसको गल्तीमा लठ्ठी टुट्ने गरि पिट्ने हुँदा कक्षामा उनको उपस्थिति हाम्रालागि यमराजको आगमन जस्तै हुन्थ्यो जसले गर्दा छ महिनामै हाम्रो गणित सिकाईको जग पुरै खल्बलियो। 

४ कक्षामा गणितप्रति भएको मोहभंगको कारण एसएलसीको पूरक परीक्षामा समेत ३३ नम्बर मात्रै आउँदा मेरो विज्ञान पढ्ने सपनाको अवशान भएको थियो। दुई कक्षामा खाएको थप्पडले अब्बल बनाएको मेरो पढाई चार कक्षामा पुग्दा गणित पढाउन काज सरुवा भएर आएका सरको छ्डी प्रहारले भने नजानिदो किसिमले कमजोर बनाएको रहेछ। 

ती सर ६ महिना पछि अन्त्यै गए तर हाम्रो गणित प्रतिको मोह भने भंग गरेर गएका रहेछन्। सुधार गर्न एकै प्रयास काफी हुदोरहेछ। यदि त्यहीँ प्रक्रिया दोहोरीए त्यो प्रत्युत्पादक हुने रहेछ। म लगायत मेरा सहपाठी कसैले पनि ६ महिने गणित आतंक भोगेपछी सो विषयमा कहिल्यै राम्रो गर्न सकेनन्।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस