गृहको निर्देशन अवज्ञा गर्दै कैलाली र कञ्चनपुरका प्रशासनद्वारा ‘नाका खोल्न अटेरी’
धनगढी: गृह मन्त्रालयको आदेश विपरीत सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका नाकाहरूमा लगाइएके रोक अझै कायमै राखिएको छ।
मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम गत माघमा सबै जिल्ला प्रशासन कार्यालयलाइ परिपत्र गर्दै भारतसँग जोडिएका सीमा नाका पूर्ण रुपमा खोलेर आवागमन सहज बनाउन भनेको थियो।
तर गृहको सो परिपत्र विपरीत कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर गौरीफन्टा नाका पूर्ण रुपमा खुला नगिरएको हो।
सोही परित्रपका आधारमा बैतडीको झुलाघाट नाका र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरेर नेपाली र भारतीयहरूलाइ सहज आवागमन गर्न दिइएको छ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सुदूरपश्चिमका सबै नाका खुला गर्न स्थानीय प्रशासनहरूलाई निर्देशनात्मक परिपत्र यसअघि नै गरिसकेको बताए।
"मन्त्रिपरिषद्को निर्णयबमोजिम सुदूरपश्चिमका सबै नाका खुला गर्न सम्बन्धित प्रशासनलाई परिपत्र पठाइसकेका छौँ" उनले भने, "यसका लागि छुट्टै परिपत्र पठाउनुपर्ने हुँदैन, त्यसैलाई आधार मानेर उहाँहरूले नाका खोल्नुपर्ने हो।"
तर यहाँका प्रशासनहरू भने गृहको पत्र नआएको कारण देखाउँदै नाकामा निर्वाध रूपमा आवागमनमा रोक लगाइएको भन्दै पन्छिने गरेका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले मन्त्रिपरिषदले नाका खोल्ने विषयमा निर्णय गरेपनि गृह मन्त्रालयबाट कुनै परिपत्र नआएको दाबी गरे।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने सरकारको निर्णयपछि खलङ्गाको पुलघाट नाका पूर्ण रुपमा खोलिएको बताए। तर अन्य नाकामा रोक कायमै रहेको उनले बताए।
"दार्चुलामा ४/५ वटा नाका छन् ती मध्ये खलङ्गाको पुलघाट नाका खुला गरिएको छ।" उनले भने, "अन्य नाका खोल्न गृहलाई अनुरोध गरेका छौँ।"
तर गृहको आदेशपछि बैतडीको झुलाघाट नाका भने खुलेको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि आवश्यक भएका नेपाली र तोकिएका शर्तको पूर्ण पालन गरि भारतीयलाई नेपाल आउन दिने गरि नाका सहज पारेको हो।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गृहको आदेशपछि झुलाघाट नाका पूर्ण रूपमा खुला गरिएको बताए।
गृह मन्त्रालयले नाका खुला गर्न आदेश दिएको महिना दिन पुग्न लाग्दा समेत नाकामा सहज आवागमन नभएपछि असुलीको चलखेल भएको हुन सक्ने स्थानीयहरूले चिन्ता गरेका छन्।
दैनिक उपभोग्य वस्तुहरूको किनमेल, औषधी उपचार रोजगारी, शिक्षालगायतका कामहरूको लागि सीमावर्ती भारत धाउनुपर्ने सुदूरबासीको बाध्यता नै छ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि गत चैतमा लकडाउन गरेसँगै देशभरीका सीमानाका पनि बन्द गरेको थियो। पछि विस्तारै खुकुलो बनाउँदै लगेको थियो।
कोरोना भाइरसको संत्रास केही कम भएपछि सरकारले गत माघ १६ गते कञ्चनपुरको गड्डाचौकी नाका र कैलालीको त्रिनगर गौरीफन्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको खलङ्गा र पुलघाट नाका समेत गरि देशभरीका ३० नाका खुला गर्ने निर्णय गरेको थियो।
सीमामा अत्यावश्यक सेवाका सवारी साधन, भारतबाट स्वदेश फर्किने र भारत जानेहरुलाई भने कुनै रोक नलगाइएपनि दैनिक उपभोग्य वस्तुहरुको किनमेलका लागि हुने आवातजावतमा भने रोक कायमै रहेको छ।
सीमामा खटिने सुरक्षाकर्मीहरुले नाका बन्द अवस्थामै रहेको कारण देखाउँदै नेपाल प्रवेश गर्नेहरुबाट रकम असुली गरिरहेका गुनासा पनि बढ्दै जान थालेका छन्।