विज्ञानमा महिलाको पहुँच
-एलीजा भारती
विज्ञान भन्नाले हामीले हाम्रो वरपर रहेको प्राकृतिक प्रक्रियालाई कुनै ठोस प्रमाणमा आधारित रहेर अवलोकन र प्रयोगका आधारमा व्यवस्थित तरिकाले वर्णन गरेर भविष्यवाणी गर्नसक्ने संगठित ज्ञान हो।
आजको युग ज्ञान र प्रवधिको युग हो जुन विज्ञानले नै यहाँसम्म पुगेको छ। ढुंगे युगबाट यहाँसम्म पुग्न र पुगाउनुमा हामी सबैको हात छ। विशेष गरेर यो श्रेय वैज्ञानिकहरुलाई जान्छ। वैज्ञानिकहरुको लगाव र परिश्रम तथा प्रविधिको विकासले हामीले विभिन्न सुख सुविधा प्राप्त गर्न पाइरहेका छाैं।
हाम्रो समाज जति नै परिवर्तनशिल भएपनि महिलाको पहुँच अझैपनि कम नै देखिन्छ। यूनेस्कोका अनुसार विश्वभरी विज्ञान, सूचना प्रविधि, इन्जिनियरिङ्ग र गणितमा ३ सय ५५ महिला विद्यार्थी मात्र उच्च शिक्षा हासिल गर्छन्। विश्वभरीका महिलामध्ये सबभन्दा कम सूचना प्रविधिमा ३५, विज्ञान गणित र तथ्यांकमा ५५ र इन्जिनियरिङ्ग निर्माणमा ८५ महिलाको सहभागिता छ।
यो सहभागिता बढाउन र आम समाजमा विज्ञान र प्रविधिका बारेमा चेतना फैलाउन महिलाको स्तरोन्नति गर्न विभिन्न दिवसहरु मनाइन्छ।
विशेष गरेर विज्ञान र प्रविधिमा महिला सहभागिता थोरै हुनेहुँदा महिलालाई लैंगिक विभेद नगरी, महिलाको इच्छा तथा आकांक्षालाई कदर गरी समाजमा रहेका सामाजिक र साँस्कृतिक पक्षलाई विज्ञान र प्रविधिसँग जोडेर सामाजिक विकासलाई सघाउन महिलाको पनि महत्वपूर्ण भूमिका हुने हुँदा ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाइन्छ।
फेब्रुअरी ११ मा पर्ने ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’मा यस वर्षको नारा ‘कोभिड–१९ को विरुद्ध लड्न महिला वैज्ञानिकहरू’ भन्ने रहेको छ।
२०२० बाट नै विश्वभरी फैलिएर महामारीको रुप लिएको कोरोना भाइरस(काभिड–१९) लाई महिला वैज्ञानिकहरुले चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट ठुलो योगदान दिएका छन्।
ओज्लेम टुरेसीको द बायोटेक्नोलोजी कम्पनी बायोन्टेकले सर्वप्रथम आरएनएसँग सम्बन्धित कोभिड–१९ विरुद्धको खोप बनाएकी थिइन। त्यसैगरी १४ वर्षीया अनीका चेलब्रोलुले कोभिड–१९ का बारेमा महत्वपूर्ण प्रोटिन सार्स–कोभ–२ पत्ता लगाएकी थिइन। जसले नोभेल कोरोना भाइरस रोक्ने गर्छ। यो गरेवापत उनीले ‘थ्री एम योङ्ग साइन्टीस्ट च्यालेन्ज’ हाथ पारिन। यसैगरी २०२० का र्यामीडा, जेन्नी, जुएनपाइसल, किजमेनीका, किज्जी, कोरबेट, सारालजीबर्टहरु अग्रपंक्तिमा आउँछन्।
यिनीहरु त उदाहरण मात्र हुन। आफ्नो ठाउँमा होस् या विश्वभरीमा धेरैजसो महामारीमा स्वास्थ्यकर्मीदेखि मनोचिकित्सकका रुपमा काम गर्ने महिला नै छन् र उनीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका छन्। अझै २०२१ मा यस महामारीसँग सामना गरेर कोभिड–१९ को अन्त्य गर्न धेरै महिला लागि परेकाछन्।
महिला वैैज्ञानिकहरुको इतिहास पल्टाएर हेर्ने हो भने धेरैको बारेमा हामीले पढ्न नपाएपनि धेरैजस्तो महिला प्रेरणादायी नै छन् जस्तै म्यारी क्यूरी (भिन्नाभिन्नै विधामा दुईपटक नोबेल पुरुस्कार पाउने पहिलो महिला)। तरपनि यो हाम्रो पुरुषवादी समाजमा महिलालाई पछाडी नै पारिएको देखिन्छ।
रेडियो एक्टीभिटीमा महत्वपूर्ण भूमिका खेल्ने क्यूरी तर ‘फादर अफ रेडियो एक्टीभिटी’ हेनरी बेक्यूरेललाई भनियो। यस्तै फेन्नी हेस्सेले ‘एन्टीबायोटेक स्ट्रेप्टोमाइसीन टयूबरक्लोसीस’को खोजमा महत्वपूर्ण भूमिका खेलेकी थिइन तर उनको नाम लिइएन। बरु उनका पति रोबर्ट कोच(फादर अफ मोर्डन मेडिकल माइक्रोबायोलोजी)लाई नोबेल पुरुस्कारबाट सम्मानित गरियो। फेन्नी हेस्से चाँही आफ्ना पतिको छाया मै सिमित रहिन।
विज्ञानका पिता मानिने अल्बर्ट आइन्स्टाइनकी पत्नी मेलीभा मारिस जो आफ्नो समूहमा उत्कृष्ट भएकी थिइन। उनैले आइन्स्टाइनको पहिलो सिद्धान्त( विशेष सापेक्षताको सिद्धान्त) मा धेरै सहयोग गरिन तर उनी पछि गृहणीमै सिमित रहिन। यस्ता उदाहरण धेरै छन्।
हाम्रो समाजमा अझैपनि लैंगिक विभेद कै कारण बाल्यकालबाट नै छोरा मान्छेलाई प्लेन उडाउन दिइन्छ भने छोरीलाई गुडिया दिएर भाँडाकुटी खेल्न लगाइन्छ। हाम्रो सामाजिक, साँस्कृतिक परम्पराले नै छोरी मान्छेले यो गर्नुपर्छ या यो सक्दैन भनेर सामाजिक बन्धनमा बाधिराखेकै कारण महिलाहरु झन पछाडी परेका छन्। त्यसको कुनै वैज्ञानिक तथ्य छैन र हैन पनि। यसलाई हैन भनेर प्रमाणित गरिपनि सकिएको छ।
भ्योलेन्टाइन ट्रेस्कोभा(पहिलो महिला पाइलट), रियर एडमीनल ग्रेसी मुर्रे होपर(कम्प्युटर र भाषा डेभ्लोपर प्रोग्रामिङमा अगाडि सरेकी) जस्ता धेरै उदाहरण पनि हामी सामु छन्।
त्यसैले सधै अरुको छाँया बनेर बस्नुभन्दा आफ्नो पहिचान आफै बनाऔं। २१औं शताब्दीमा आफ्नो ज्ञान र सिपलाई लैंगिक विभेदको पिजँडामा नराखौं। कुरा गर्न सहज र सजिलो पक्कै छैन तर पनि अनुसन्धान र खोजमा महिलाहरुले धेरै प्रगति गरिसकेका छन्।
बायो टेक्नोलोजी, स्पेस टेक्नोलोजी, इन्फोरमेसन टेक्नोलोजी र प्राकृतिक विज्ञानमा महिलाहरु अग्रपंक्तिमा नै छन्।
तर धेरै क्षेत्रमा भनेअनुसार आफु र आफ्ना इच्छा अनुरुप अवसरहरु पाउन सकिँदैन। अनुकुल वातावरण पनि हुँदैन। तर त्यस्ता प्रतिभाहरु कोपिला मै नओइलिउन्। आजको समय अनुकुल अघि बढ्न र बढाउन हामी सबैको दायित्व हो।
त्यसका लागि सरकारी, गैरसरकारी संघसंस्थाहरुले सहयोग गर्दै आइरहेका छन्। र, धेरैजसो महिलाले आफुलाई उकास्ने अवसर पनि पाइरहेका छन्।
अझै यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवसले महिलालाई झनै अवसर प्रदान गर्ने र विश्वसामु आफुलाई, आफ्नो कामलाई अगाडि बढाउन तथा आफ्नो पहिचान राख्न मदत गर्नेछ।
(लेखक भारती सूक्ष्मजीव विज्ञान(माइक्रो बायोलोजी)की विद्यार्थी हुन)