अप्रिल लभ
-दर्पन शर्मा
बिहानको बिनासित्तिको पैदलयात्री थिएँ म। घरबाट केही परको दुरीसम्म दिनहुँ आँखा लगाउन पाएको थिएँ। बिहान हिँड्दा पैतालाको गन्तव्य घर हुन्थ्यो। अंग्रेजी पात्रोमा मे महिनाका दिनहरु पल्टेर आराम गर्दैथे।
अरु रात सुनसान थिए मेरा लागि। आज भने शरिरका हरेक अंग उकुसमुकुस गर्दैथे। आफ्नै मुटुको आवाजले सुत्न सकिरहेको थिइन। घडी बिग्रेको हुनपर्छ। त्यो काँटाको आवाज आइरहेको थिएन। यो बेग्लै जादु थियो, मध्यरातमा म आफ्नो मन्द मुस्कानलाई निमन्त्रणा दिँदै त पक्कै थिइन तर बारम्बार मुस्कान ओठमा हावी हुँदैथ्यो।
बाह्य शक्ति हुनपर्छ मेरो बदनलाई कुत्कुत्याउने। यादका त्यान्द्रा तुन्द्री जोडिएर पन्छिन नसक्ने गरिको बनलहरा हुँदैथें। मैले सिँचाइ गरे उनीहरु बड्दै गए। यो कस्तो छट्पटी थियो जसमा म छट्पटाउँदा पनि प्रफुल्लित थिएँ। यो कस्तो शक्तिशाली चाहाना थियो जसको अगाडि मेरा बच्चै देखिका चाहना देखिन छोडेका थिए ?
त्यो बिहानीको चियाको चुस्की भन्दा उनको उपस्तिथी मेरा लागि मीठो भएको थियो। उनको घर छेउबाट हिँड्दा पैतालाको गति सिमित हुन्थ्यो तर मुटुले असिमित गति छोप्न थालेको थियो।
त्यति उज्याली त हैनन् उनी तर जसै मेरा आँखा उनीतिर जान्थे तब खै के परावर्तन हुन्थ्यो उताबाट, मेरा आँखाले निहुरिएर बाटो नाप्न थाल्थे। उनका घरका हरेक व्यक्ति मलाई फिजिक्सका निउमेरिकल जस्तै लाग्थे अनि म ती हिसाब सामना गर्नु नपरोस् भन्ने विद्यार्थी।
आज पनि उनले मलाइ नै हेरिन। म त्यस्तो सिकार पनि हैन जो आँफुतिर आइरहेको तिर देख्न नसकुँ। उनी त्यस्तो सिकारी पनि हैनन् जो सिकारलाई नलाग्ने गरि तिर छोडुन्।
बिहान ६ः३० बजेको समय मेरा लागि मौन हुन्थ्यो किनकी म उनको घर छेउको बाटो हिँड्थे। सायद उनको मोबाइलमा पनि त्यै समयमा जनाउ घन्टी बज्दो हो उनीतिर चलाउन निन्द्रामै भएका कमजोर आँखा लिएर निस्किन्थिन। म कमजोर सावित हुन्थें, त्यहिमाथि मुस्कानको दोस्रो तिरले झनै राहत दिन्थ्यो।
कहिलेकाहिँ उनले राखेको फिरादी मुस्कानको प्रतिउत्तर मेरो मुस्कान हुन्थ्यो। घर चिन्दथे, थर चिन्दथें तर उनको नाम थाह थिएन। थाह पाउनुपनि थिएन। मलाइ दसैंको दिन भन्दा दसैं पर्खिएका महिना प्रिय लाग्थे।
म उनलाई हेरेरै चित्त बुझाउन चाहन्थें। बोल्न मन नभएको पनि हैन। जसोतसो गरेर नाम थाह पाइयो। फेसबुकलाई धन्यवाद दिएँ। साथीलाई नास्ता खुवाउने सम्झौता गरें। उसको मोबाइलबाट सोझै बैनी लेखेर म्यासेज गरेछु सायद खाली मनको कुनामा प्रेमकालागि ऐजेरु पलाएको हुँदो हो।
उसले कसैको म्यासेजको उत्तर नै दिन। उ बाहिरबाट गाउँमा आएकी चरी थिइ चमेरासँग के दोस्ती गर्थी र ? म पुनः त्यो बाटो चहार्न थालें। हामी चमेराको समूह हिँड्न थाल्यो। उ एक्ली थिइ हाम्रो हुलमा आकर्षित भइ। बोल्ने मौका यहि थियो। कुनै बेलुकी मैले उसलाई म्यासेज गरें, झट्ट उत्तर आयो। मन नै सिरिङ्ग हुँदो रहेछ। पहिलोपल्ट केटीको लामो म्यासेजको स्वाद म्यासेन्जरले लिन पाएर होला उ कामिरहन्थ्यो।
जसै उनको म्यासेज आउँथ्यो मेरो मुस्कानको साक्षि मोबाइल स्क्रिन हुने गर्दथ्यो। कहिलेकाही आमा पनि। हामी राम्रो साथी बनिसकेका थियौं। म साथित्वको नातामा सन्तुष्ट थिइन तर उ मलाई मात्र साथी मान्छु भन्थी।
यो मध्यम घाउमा मलम लगाउने केही मेरा साथी थिए। नानाथरिका प्रेम कथा सुनाउँथे। ‘हरेक नाता साथीबाटै सुरुहुन्छ’ भनेर उनीहरु मलाई मख्ख बनाइदिन्थे। म पनि हतार नगरी बिस्तारै बोल्दैगए।
मेरा आँखालाइ रातभर ननिदाउने बानी पर्न थालेको थियो। मलाइ साथ दिन मेरा साथीहरु पनि अनलाइन नै बसेका हुन्थे। मोबाइलको व्याट्री भोकाइरहन्थ्यो। नाकको टुप्पाले छुँदाखेरी जब उनको फोटो जुम हुन्थ्यो तब भ्रमबाट छुट्ने गर्थें।
हामी बिच फराकिला कुराहुन थालेका थिए। अब भने उ पनि म प्रति आकर्षित छे झैं लाग्थ्यो।
‘माया कस्तो हुन्छ ? मन पराएको कसरी थाह हुन्छ ? साथी र प्रेमिका मा के ठूलो ?’
उ यस्ता पश्नमा अल्झिन थालेकी थिइ। मैले पनि संकेत बुजिसकेको थें। लगभग २० दिनको मित्रतापछि हामी भेट्ने निर्णय गर्यौं।
आज भेट्ने दिन मलाइ दसैं झैं लाग्दैथ्यो। म नुहाएर दराजमा भएको सबैभन्दा राम्रो कपडा खोज्न थालें। पर्फ्युमको कक्टेल शरिीरका हरेक ठाउँमा छर्कें। र, उसलाई भेट्न गएँ। हामीलाई लोकल रेस्टुरेन्टमा भेट्नु थियो।
म आधा घण्टा अगाडि नै त्यहाँ पुगें। केहीबेरमा उसलाई देखें। स्वर्गकी अप्सरा मलाई भेट्न भु–लोक आएको प्रतीत भयो। हाम्रो पहिलो भेट थियो, हात मिलायौं।
नैतिकता कायम नै रह्यो। आज उसलाई र म दुबैलाई मनको कुरा भन्नु थियो । तिमी पहिले सुनाउ भनेर उसले मलाई कर गर्न थाली। मैले पनि घोकेका सायरीसँगै प्रेम प्रस्ताव राखिदिएँ।
उ खित्का छाडेर हाँसी। हामी निकट भइसकेका थियौं। उ नलजाउनु स्वभाविक थियो।
‘आज अप्रिल १ हो, बेवकुफ बनाउने दिन मलाई थाहा छ। सक्दैनौ तिमीले मलाइ झुक्याउन, ल ल.. दरो हाँसो लाग्यो। हाइ लेभलको फुल बनाउन खोज्या थियौं कठै।’
उ मात्र हाँसिरही। मनभित्र पहिरो गयो तर बहिर भावुक हुनु मुर्खता थियो। म रोदन मिसिएको हाँसो हाँसिरहें।
‘उम्म बरु सुन मैले सुनाउने कुरा’ उ थप्दै गई।
‘तिमी जस्तो मिल्ने साथी कोहि छैन मेरो, तिमीलाई आफ्नो ठान्छु त्यसैले भन्दैछु। म र तिम्रो साथी सन्तोष अस्तिबाट रिलेसनमा छौं। कसैलाइ सुनाउँदैनौं तिमी मलाई थाह छ।’
उसको यो कुरा अप्रिल फुल बनाउनका लागि थिएन। सन्तोष मेरो त्यो साथी थियो। जसले उसलाई आफ्नो बनाउन मेरो सपनामा रातभर अनलाइन बसेर मलाइ तरिका सिकाउने गथ्र्यो।
‘विज्ञानलाई अप्रिल फुल बनाउँन यो दिन झुक्याएर थपेको, यो सबै सपना हो भनिदिनुस भगवान्’ मनमनै म भगवानसँग प्राथना गर्दै थिएँ।
‘जुन फुल मैले चाहेको थिएँ, कसैले रोजेछ.......’ काउन्टरमा राखेको स्पिकरमा नारायण गोपालको यो गीत बजिरहेको थियो।