सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ

२०७७ माघ ८, ०५:२५ रासस

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् । 

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यनेपाल नगर कमिटिद्वारा बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीको अन्तरिम विधानमा सहमतिका साथ अघि बढ्ने भने पनि बहुमतका नाममा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर मुलुकमा सरकारविहीन बनाउँदै अराजकतातर्फ धकेल्ने खेल खेलेपछि प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प नभएको स्पष्ट पारे । 

मुख्यमन्त्री गुरुङले भने, “अर्को प्रधानमन्त्री बनाउन सक्ने वातावरण थिएन । मुलुक सङ्कटमा जान्थ्यो । यस्तो अवस्थमा प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन ।” उनले सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिई अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनको विकल्प नभएको स्पष्ट पारे । 

मुख्यमन्त्री गुरुङले भने, “सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको कारण अहिलेको अवस्था आएको हो ।” नेकपाका स्थायी कमिटीका सदस्य तथा प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले सरकारले घोषणा गरेको मध्यावधि चुनावको लागि सबै एकजुट भएर अघि बढ्ने बेला प्रचण्ड–नेपाल समूहले निर्वाचनमा जान डराइरहेको दाबी गरे । 

उनले भने, “हिम्मत भए चुनावमा आएर निर्वाचन जितेर प्रधानमन्त्री चलाउनुस् ।”  “सहमति र पार्टी एकताका लागि आगामी फागुनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने गृहकार्य भइरहेको थियो”, मुख्यमन्त्री गुरुङले भने, “सरकार बनेको फागनुमा तीन वर्ष पुग्थ्यो । पार्टीमा ६०÷४० झैँ सरकारमा पनि त्यही आधारमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा थियो तर त्यो पनि उहाँहरुले मान्नु भएन ।”

मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमहोन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको बताए । “कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो ।”

भेलामा नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी, जमीन्द्रमान घले, दीपा गुरुङ, गोवद्र्धन गौली, मोहनहरि पौडेल, राजकुमार श्रेष्ठलगायतले पहिलो अध्यक्ष र महासचिव भएको पार्टी नै संस्थापन पक्ष हो र सूर्य चिह्न पनि संस्थापनकै हुने दाबी गर्दै पार्टी एकता र समृद्ध नेपाल बनाउने अभियानमा लाग्न सबैमा आग्रह गरे । 

कार्यक्रममा नेकपामा २०० जना पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले टीकामाला लगाएर पार्टी प्रवेश गराएका थिए । त्यस्तै, मुख्यमन्त्री गुरुङले सोही वडामा रहेको धोतेबेँसी गाउँमा खानेपानी ट्याङ्की तथा एक घर एक धाराको आज साँझ उद्घाटन गरे । 

प्रदेश सरकारको १५ लाख, जनश्रमदान नौ लाख ५१ हजार ६८८ लगायत विभिन्न सङ्घसंस्थाको आर्थिक सहयोगमा दश घनमिटरको खानेपानी ट्याङ्की तथा एक घर एक धारा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष रीता गुरुङले बताइन् । उनका अनुसार कूल ३२ लाख ८६ हजार ४३५ लागतमा खानेपानी ट्याङ्की तथा एक घर एक धारा निर्माण गरिएको हो । 

एकचालीस घर रहेको यस गाउँमा घरघरै धारा पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

कमेन्ट लोड गर्नुस