सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , आइतवार ०२:२४
Jan 17 2021, Sunday
02:24:12 PM

कञ्चनपुरको ग्रामीण भेगमा केराखेतीमा जमेका धामी र ठगुन्ना, वर्षमा गर्छन् २५ लाख बढी आम्दानी

रक्षा भट्ट
२०७७ पुष २५ ११:४४
अ+

कञ्चनपुरः कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ बैबाहाका जनक सिंह धामी (५०) र दानसिंह ठगुन्ना (४१) कम्मर कसेर व्यावसायिक केराखेतीमा लागेका छन्।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँमा ५ विघा जमिन भाडामा लिएर उनीहरु केराखेतीमा लागेका हुन्। उनीहरु दुवैजनाले मिलेर पोहोर असारदेखि केराखेती थालेका हुन्। उनीहरुले जी नाइन प्रजातिका केरा रोपेका छन्। एउटै बोटमा १५ देखि २५ दर्जनसम्म केरा फल्ने उनीहरु बताउँछन्। 

राजनीतिक क्षेत्रमा पनि उत्तिकै आफ्नो स्थान बनाएका धामीले व्यावसायिक जिम्मेवारीबारे भन्छन्–“उनले केरा लगाइएको खेतबारी हेर्ने काम गरिरहेका छन्, मैले बाहिर बजार खोज्नेलगायतका काम गर्ने गरेको छुँ। मैले खेतबारीतिर हेर्दै नहेर्ने त हैन तर ती भाई ‘घ’ गाउँमै बस्छन्, त्यसैले उनले बढीजसो खेतबारी हेर्ने गरिरहेका हुन्छन्।”

ठगुन्नाको स्थायी बसोवास दार्चुला जिल्ला भएपनि केही वर्षदेखि उनी परिवारसहित पुनर्वासमा कोठा भाडामा लिएर बस्दै आएका छन्। सुरुमा ४ विघा जमिन भाडामा लिएर केराखेती सुरु गरेका उनीहरुले अहिले १ विघा जमिन थप गरेका छन्।

एक विघा जमिनको मात्रै वार्षिक ४० हजार भाडा तिर्ने गरेको बताउँदै धामी बताउँछन्–“केराखेती त गरिराखेका छौँ तर बजार पाउन धेरै अप्ठ्यारो छ। अहिलेको परिवेशमा त कोरोना भाइरसले गर्दा भारतबाट यहाँका बजारमा केरा आउन पाएको छैन र हाम्रो स्थानीय केराले बजार पाइरहेको छ। तर भोलिका दिनमा लगानी उठाउनै धौ–धौ हुने देखिन्छ।”

भारतीय उत्पादनले पीडा
उनी थप्छन्–“यो बेल्डाँडी, बेलौरी, पुनर्वासलगागतका यी बजार क्षेत्र भनेका भारतको सीमा नजिक रहेका क्षेत्र हुन्। यहाँ साग तरकारीदेखि लिएर फलफूलसम्म बढीजसो भारतबाट आउने गर्दछ। जसले गर्दा स्थानीय उत्पादनले बजार पाउन गाह्रो हुन्छ। यदि भारतबाट आयात नगर्न दिने हो भने मात्रै यहाँ हामीले राम्रो बजार पाउन सक्छौ। नत्र लगानी उठाउनै मुस्किल हुन्छ ।” 

केराखेती गर्न झण्डै १५ लाख रुपैयाँ लगानी गरेको र आम्दानी २२ लाख रुपैयाँ भएको उनी बताउँछन् । बारिबाट ३५ रुपैयाँ दर्जनका दरले केरा बजारमा गइरहेको भएपनि बजारबाट ग्राहकले झण्डै दोब्बरभन्दा बढी मूल्य ७५/८० रुपैयाँ दर्जनका दरले किनिरहेको उनको भनाइ छ।

‘बनाना–पोटेटो चिप्स’को योजना
उमेरले ५० कट्नै लागेका धामीमा जोश जाँगर भने कुनै युवाहरुको भन्दा कम देखिँदैन। अहिले आफूहरु ‘बनाना–पोटेटो चिप्स’ कार्यक्रम अगाडि बढाउन लागिरहेको बताउँदै उनले डिजे चिप्स इन्डस्ट्रिज नामबाट पुनर्वासमा दर्ता गरेका छन्। त्यसका लागि आवश्यक सरसामानहरु ल्याउन थाकिसकेको र अबको करिब डेढ महिनाभित्र चिप्स इन्डस्ट्रिज सञ्चालनमा आउने ठगुन्नाले जनाए।

केरा व्यवसायसँगै थालिने चिप्स व्यवसायले अर्थोपार्जनमा टेवा पुर्याउने विश्वास ठगुन्नाको छ । दुवै जना उत्साह र हौसलाका साथ हातेमालो गर्दै कृषि व्यवसायमा लागेको र यसले आर्थिक उन्नति पक्कै गराउनेछ भन्ने उनीहरुको विश्वासले कामप्रति थप उत्साहित पारेको दुवै जनाको भनाइ छ। 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

Skip Ad