सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहभित्र मन्त्री बन्न दौडधुप, मुख्यमन्त्री नै अप्ठयारोमा
धनगढीः मुख्यमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरालाई पदमुक्त गरेको १० दिन नबित्दै बिहीबार ओली समूहकै अर्का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले समेत पदबाट राजीनामा दिएपछि अब दुईजना नयाँ मन्त्री को बन्छन् भन्ने सर्वत्र चासो बढेको छ।
नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गरेर फर्किएका बेला प्रदेशसभामा स्पष्ट बहुमतमा रहेको प्रचण्ड–नेपाल समूहले नयाँ मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन्।
प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावल निकट मानिने सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर भने अहिले मन्त्रीमण्डल विस्तारका विषयमा कुनै छलफल नभएको दाबी गर्छन्।
‘मन्त्री कसलाई बनाउने? के गर्ने भन्ने कुनै गृहकार्य नै भएको छैन,’ कुँवरले दिनेशखबरसँग भने, ‘तर माननीय ज्यूहरुले मन्त्री बन्नका लागि आकांक्षा राख्नु स्वभाविक हो त्यसलाई अन्यथा लिनु हुँदैन्।’
तर प्रचण्ड–नेपाल समूहभित्र मन्त्री बन्ने दौडधुपमा दर्जन बढि प्रदेशसभा सदस्यहरु लागेकाले कसलाई नियुक्ती गर्ने भन्ने निर्णय लिन मु्ख्यमन्त्रीलाई कठिन भइरहेको दाबी गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपाका सचेतक तारालामा तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रीमा सचेतक अक्कल रावलको सम्भावना बलियो हुँदै गएको स्रोतको भनाई छ।
मन्त्री विहीन बनेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री त्रिलोचन भट्ट आफैले सम्हालिरहेका बेला नेकपाकै अर्को समूहले पनि प्रदेशसभा सदस्यहरु आफूतीर तान्ने कसरत पनि जारी राखेको छ।
५३ सदस्यीय प्रदेशसभामा ३९ मध्ये ७ जना ओली समूहमा खुलीसकेको र थप ६ जना पुग्ने बितिकै प्रतिपक्षी काँग्रेस र जसपासँग सहकार्य गरेर सरकारलाई अल्पमतमा पार्ने रणनीतिअनुसार नेताहरुले सक्रियता बढाएको बताइन्छ।
मुख्यमन्त्री आफैले सरकार कमजोर बनाउने काम गरेकाले स्वभाविक रुपमै विकल्प खोजिने पदमुक्त गरिएका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बताउँछन्।
‘प्रदेश सरकार प्रमुखले आफैले आफैलाई कमजोर बनाउने काम गर्नुभएको छ। त्यसैले त्यो कमजोर हुँदै जाने सबैले जाने बुझेकै कुरा हो,’ बोहराले भने, ‘सरकार सबल चाहिने हो। बलियो र राम्रो काम गर्न चाहिने हो। त्यो अनुसार नभएपछि त्यसको विकल्प तय गर्नुपर्ला।’
तर ३२ जना प्रदेशसभा प्रचण्ड–नेपाल समूहमै रहेकाले तत्काल ओली समूहले सोचेजस्तो आफूतीर तान्न सक्ने अवस्था नरहेको दाबी गरिदै आएको छ।
यद्यपी प्रचण्ड–नेपाल समूहले आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न नसकेमा ओली पक्षले चाहेको जस्तै समिकरण बन्ने सम्भावना रहेको पनि दाबी गरिन्छ।
तर सत्तासाझेदारमा निर्णायक देखिएको नेपाली काँग्रेसले भने अहिले सरकार ढाल्ने जोगाउने खेलमा सरिक नहुने बताउने गरेको छ।
नेकपा सुदूरपश्चिमका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले अहिले आफूहरु प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध एकजुट भएको बताए।
उनले सरकार ढाल्ने ढलाउने खेलमा आफूहरुको सहयोग नरहने दाबी गरे। तर जनताको आवश्यकता अनुसार सरकारमा जाने/नजाने निर्णय लिइने उनी बताउँछन्।
तर यसअघि मुख्यमन्त्री भट्टले समेत रावलसँग भेटघाट गर्दै आफू पार्टीभित्रैबाट समस्यामा परेका भन्दै सत्ता सहकार्यका लागि प्रस्ताव गरेको कुरा सार्वजनिक भएको थियो।