कोरोनाको पलपलको सूचना प्रवाह गर्ने दिलिप भन्छन्ः सही सूचना दिन पाउँदा खुशी छु
धनगढीः गत असार १ गते सेती प्रादेशिक अस्पतालमा कोरोनाको कडा लक्षणसहित भर्ना भएका संक्रमितको पहिलो मृत्यु भयो। गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको त्यो पहिलो मृत्युले अस्पताल र अस्पतालका डाक्टर, नर्स र कर्मचारीमा छुट्टै खालको भय सिर्जना गरि दिएको थियो।
तर दिलिपकुमार श्रेष्ठलाई भने भयकाबीच पनि कोरोना संक्रमितको मृत्युको सूचना सार्वजनिक गर्नैपर्ने बाध्यात्मक स्थिति थियो। कारण उनी सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी हुन्।
त्यसअघि अस्पतालमा भर्ना भएका मृगौला पीडित बिरामीको मृत्यु भएपनि मृत्युपछि मात्र कोरोना पुष्टि भएकाले उपचारमा संलग्न चिकित्सक, नर्स र अस्पतालका अन्य कर्मचारीले पीडा अनुभूति गर्न पाएका थिएनन्।
सूचना अधिकारी श्रेष्ठलाई २ कारणले ४६ वर्षीय पुरुषको मृत्युको सूचना दिन असहज भएको थियो, पहिलो मृतक उनका चिनेजानेका व्यक्ति थिए। दोस्रो उनको पीडा श्रेष्ठले नजिकबाट बुझ्ने मौका पाएका थिए।
तर पनि श्रेष्ठले त्यो सूचना सेती प्रादेशिक अस्पतालको फेसबुक पेजमार्फत सबैलाई दिए। ‘उहाँको मृत्यु नहुँदासम्म म लगातार सम्पर्कमा रहे,’ श्रेष्ठ भन्छन्,‘बचाउने धेरै प्रयास गरिएता पनि अन्ततः मृत्यु भयो। सुन्दा अत्यन्त दुःख लागेको थियो। तर मैले बिहान उहाँको मृत्युको सूचना प्रवाह गरे।’
सेती प्रादेशिक अस्पतालमा लामो समयदेखि सूचना अधिकारीका रुपमा कार्यरत श्रेष्ठले नै कोभिड महामारीपछि पनि सूचना प्रवाह गर्ने काम गर्दै आएका छन्।
प्रयोगशालामा भएको परीक्षणको रिर्पोट, अस्पतालमा भर्ना हुने संक्रमितको स्वास्थ्य अवस्था, मृतकको विवरणलगायतका सूचना प्रवाह गर्न थालेको श्रेष्ठलाई लगभग १ वर्ष नै बितिसकेको छ।
कोरोनाको सुरुवाती चरण र अहिलेको अवस्थामा आकाश पतालको अन्तर छ। त्यो बेलाको भयसँगै मानिसले गरेको उच्च सावधानीको तुलना अहिले गर्न नै सकिदैन्। कोरोनाको पहिलो पोजेटिभ केसको सूचना प्रवाह गर्न श्रेष्ठलाई पनि सहज भने थिएन।
बाहिर फैलिन सक्ने अफवाहलाई ध्यानमा राखेर सेती अस्पतालले कोरोनाका त्रासका बेला सूचना अधिकारीमार्फत नै कोभिड सँग सम्बन्धित सूचना प्रवाह गर्ने निर्णय लियो।
‘सुरुवाती दिनहरुमा मानिसहरु निकै त्रसित थिए,’ श्रेष्ठले भने, ‘त्यस्तो परिस्थतिमा आमनागरिकलाई सही सूचना दिएर सान्त्वना दिन सके कि भन्ने अनुभूति गरेको छु।’
आफूबाट गलत सूचना प्रवाह नहोस् भन्ने कुरामा समेत सावधानीपूर्वक काम गर्दा नै महामारीका बेला आलोचित वा विवादित हुन नपरेको अनुभव पनि उनी सुनाउँछन्।
‘सूचना संकलन गर्नेबेला नै हामी सुनिश्चित भएपछि मात्र सार्वजनिक गथ्यौँ।’ श्रेष्ठ सुनाउँछन्,‘कहिले काहीँ संक्रमितको ठेगाना खुलाउने क्रममा पालिकामा तलमाथि पर्न गएपनि अन्य त्रुटी नभएकोमा खुशी छु।’
घरपरिवारको साथले महामारीमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाए
महामारीका बेला सूचना अधिकारी जस्तो महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नमा घरपरिवारको समेत राम्रो साथ मिलेको श्रेष्ठ बताउँछन्।
दशैँ तिहार जस्ता चाडपर्वमा समेत प्रयोगशालाले कोरोनाको परीक्षण जारी राखेपछि उनले आमनागरिकलाई सूचना दिनै पथ्र्यो।
‘म लगायतका मेरा सहकर्मीहरुले विदाको दिन र चाडपर्वमा समेत कार्यालयमा आएर काम गरेका छौँ,’ विगतलाई स्मरण गर्दै श्रेष्ठ सुनाउँछन्, ‘महामारीका बेलामा घरपरिवारले पनि मेरो कर्तव्य निर्वाह गनुपर्छ भनेर साथ दिए। त्यसैले मैले नियमित रुपमा कोभिड सँग सम्बन्धित सूचना नियमित रुपमा प्रवाह गर्न सके।’
महामारीका बेला सूचना अधिकारीको खास महत्व बुझे
विगतदेखि नै सेती अस्पतालको सूचना अधिकारीको जिम्मेवारीमा रहेर काम गर्दै आएका श्रेष्ठको अनुभव महामारीका बेला भिन्नै रह्यो। कुनै पनि संस्थाका जनचासो सँग सम्बन्धित विषयहरु सार्वजनिक गर्ने वा जानकारी दिने जिम्मेवारीको खास महत्व धेरैले बुझेका हुदैनन्।
श्रेष्ठ भने सूचना अधिकारीको महत्व पनि परिस्थति अनुसार छुट्टाछुट्टै हुने आफूले पाएको बताउँछन्।
‘सूचना अधिकारीको जिम्मेवारी धेरै हुन्छ। हामीले सूचनाले आमजनमानसमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले प्रवाह गर्नुपर्छ। कोभिडको परिपेक्षमा अझ महत्व बढेको जस्तो लाग्छ,’ कोभिड महामारी र अन्य समयको आफ्नो जिम्मेवारी सँग तुलना गर्दैै श्रेष्ठले भने, ‘मानिसहरु आत्तिएका हुँदा रहेछन्। परीक्षण गराउने व्यक्ति अझै आत्तिएका हुँदा रहेछन्। त्यो बेला सही सूचना दिनु ठूलो र महत्वपूर्ण कुरा हुँदा रहेछ।’
आफू कहाँ व्यक्तिगत र सार्वजनिक महत्वका कुरामा सूचना माग्न आउने व्यक्तिलाई जानेसम्मका कुरा भन्न पाउँदा छुट्टै खालको आनन्द हुने गरेको उनी बताउँछन्।
सूचनाको आधारमा नै कुनै पनि संस्थाप्रति आममानिसले धारणा बनाउने भएकाले सूचना अधिकारीको भूमिका महत्वपूर्ण हुने उनी दोहा¥याउँछन्।
संस्थाको व्यवस्थापन कस्तो छ? कसरी सेवा प्रवाह भइरहेको छ ? सेवा पाइरहेको छ कि छैन् ? त्यस्ता खालका सूचना दिने सन्र्दभमा पनि सूचना अधिकारीको भूमिका उल्लेख्य हुँदो रहेछ।