सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुप्रतिक्षित पञ्चेश्वर परियोजनाः कार्यान्वयनमा भारतीय सहमतिले स्थानीयमा जगायो आशा

२०७७ पुष १८, ११:४८ नारायण अवस्थी

धनगढीः बैतडी जिल्लास्थित महाकाली नदीमा बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति भारत सरकार सकारात्मक देखिएपछि स्थानीय स्तरमा उत्साह थपेको छ। 

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष वीना भट्टले भारतीय र नेपाली पक्षबीच भएको पछिल्लो सहमतिले आशा जगाएको बताइन्। वर्षौदेखि आफुहरु पञ्चेश्वर कहिले बन्नेवारे पर्खाइमा रहेको बताउँदै उपाध्यक्ष भट्टले आयोजना बनेपछि सुदूरपश्चिम प्रदेशको विकासमा बरदान सावित हुने उत्साह व्यक्ति गरिन्।

आयोजनाबारे २४ वर्षपछि पहिलोपटक भारतीय पक्ष सकारात्मक भएको हो। भारतले महाकाली सन्धि कार्यान्वयन गर्न अहिले आएर तदारुकता देखाएको ऊर्जा मन्त्रालयले जनाएको छ। वि.स. २०५३ मा संसदबाट महाकाली सन्धि अनुमोदन भएको थियो। सो महाकाली सन्धि अनुसार नै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न सन् २०१६ मा डीपीआर तयार भएपनि दुबै देशको केही बुँदामा सहमति हुन नसक्दा त्यसलाई अन्तिम रुप दिन सकिएको थिएन।

‘डीपीआरमा लागत र पानीको बाँडफाँट सम्बन्धी व्यवस्था महाकाली सन्धिको मर्म विपरित भएको भन्दै नेपालले सहमति जनाएको थिएन।’ पञ्चेश्वर विकास प्राधिकरणका पूर्व मुख्य कार्यकारी अधिकृत महेन्द्र गुरुङले भने। 

पुस १३ र १४ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल र भारतका जलस्रोत सचिव स्तरीय बैठकमा विगत लामो समयदेखि नेपालले उठाएका अधिकांश माग सम्बोधन भएका छन्। 

टनकपुर बाँधबाट नेपालले पानी पाउने, दोधारा चाँदनीले १० घनमिटर पानी पाउने, सिँचाइ र बाढी नियन्त्रणको लाभको लागत नेपालले बेहोर्नु नपर्ने, महाकालीमा एक प्रतिशत पानी छाड्नुपर्ने जस्ता मागहरुमा भारत सकारात्मक भएको र पञ्चेश्वर परियोजना कार्यान्वयन गर्न भारतसँगको पछिल्लो सहमति  ऐतिहासिक भएको  भनाइ जलस्रोत, ऊर्जा तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरको छ। 

सचिव घिमिरेले भने, ‘पञ्चेश्वर परियोजना कार्यान्वयन गर्न नेपालले राखेका सर्तहरुलाई पूरा गर्न भारत अहिले लचिलो देखिएको छ।  पञ्चेश्वरको माथिल्लो बाँधबाट महाकालीमा १ प्रतिशत मात्र पानी छोड्नुपर्ने, छिट्टै दोधारा चाँदनीमा सिँचाइ गर्न ११ सय मिटर नहर भारतले नेै निर्माण गर्ने, ऊर्जा उत्पादनका लागि दुबै देशले समान लगानी गर्ने, टनकपुर व्यारेजबाट महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि १२ सय मिटर लम्बाइको टनकपुर लिंक क्यानल निर्माण गर्न भारतले सुरु गरेको छ।’

महाकाली नदीको औषत वहाव ५८० क्यूसेक छ। पञ्चेश्वर परियोजना अन्तर्गत पञ्चेश्वर बाँधबाट ६ हजार ४ सय ६० मेगावाट र रुपालीगाडमा बन्ने रि–रेगुलेटिङ बाँधबाट थप २४० मेगावाट उत्पादन हुनेछ भने पूर्णागिरी बाँधबाट थप १ हजार मेगावाट बिजुली उत्पादन हुनेछ। 

महाकाली सन्धिमा उल्लेख भए अनुसार टनकपुर बाँधबाट नेपालले वर्षायाममा २८.३५ क्यूसेक र सुख्खायाममा ८.५ क्यूसेक पानी पाउने व्यवस्था छ। तर टनकपुर लिंक क्यानल भारतले नबनाइदिएका कारण यो पानी नेपालले अहिलेसम्म उपयोग गर्न सकिरहेको छैन। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस