प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर जिल्लाका सबै सीमा नाका तीन दिन बन्द
कञ्चनपुरः प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भारतसँग जोडिएका कञ्चनपुरका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गरिने भएका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका सबै नाका बन्द रहनेछन्।
यस्तै, फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाइएको छ। नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइनेछ। मतदान कार्य सम्पन्न नभएसम्म उक्त व्यवस्था कायम रहने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले पनि सूचना जारी गर्दै निर्वाचन अवधिभर तीन दिन सीमा नाका बन्द गरिने जनाएको थियो।